News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रधानमन्त्रीलाई संविधान र कानुनले बाँधेको स्मरण गराउनुभएको छ।
- सभापति थापाले प्रधानमन्त्री लोकप्रिय भएर मनलाग्दी निर्णय गर्न नपाउने र सरकारको सीमितता रहेको बताउनुभयो।
- थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको म्यान्डेट कांग्रेसले सम्मान गरेको र कांग्रेसले चुनाव जन्माएको उल्लेख गर्नुभयो।
८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रधानमन्त्रीलाई संविधानले बाँधेको स्मरण गराएका छन् ।
सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले सरकार र प्रधानमन्त्रीलाई संविधान स्मरण गराएका हुन् ।
‘सरकार र प्रधानमन्त्री संविधानभन्दा माथि हुनुहुन्न । कानुनभन्दा माथि हुनुहुन्न । सरकारको प्रधानमन्त्रीका पनि सीमा छन्,’ थापाले भने, ‘सरकारको प्रधानमन्त्रीलाई पनि कानूनले बाँधेको छ । सरकारलाई पनि संविधानले बाँधेको छ ।’
उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ तर्फ लक्षित गर्दै लोकप्रिय भएकै आधारमा मनलाग्दी गर्न नपाइने पनि बताए । ‘म शक्तिशाली छु, म लोकप्रिय छु भनेर जे पनि गर्न पाइन्छ ?,’ सभापति थापाले प्रश्न गरे ।
सरकारले सुकुमवासीको घर–बस्ती भत्काइरहेको प्रति पनि उनले असन्तुष्टि जनाए । ‘मलाई लहड चल्यो भनेर एका बिहानै डोजर लगेर सुकुम्बासीको बस्ती भत्काउनु पाउँछु ? पाउँदैन,’ उनले भने, ‘सरकारलाई झोक चल्यो भनेर दिनदहाडै वयवसायीलाई उठाइ दिने ?’
सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनबाट पाएको म्ष्यान्डेटको कांग्रेसले सम्मान गरेको पनि बताए ।
‘रास्वपाले ५ वर्षका निम्ति संघीय सरकार चलाउन पाउने म्यान्डेट पाएको छ,’ उनले भने, ‘यसलाई हामी पूर्णरुपमा सम्मान गर्छौं ।’
सभापति थापाले कांग्रेस चुनावबाट आएको नभएर कांग्रेसले चुनावलाई जन्माएको पनि टिप्पणी गरे ।
‘चुनावले जन्माएको पार्टी होइन कांग्रेस वा बेलायतमा जस्तो संसद्ले जन्माएको पनि होइन । यो पार्टीले चुनाव जन्माएको हो,’ उनले भने, ‘धेरै चुनावले जन्माएका पार्टीहरू छन् । हामीले चुनाव जन्माएका हौं । हामी यो बाटोबाट आएका हौं ।’
प्रतिक्रिया 4