News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटा नगरपालिकामा बसोबास गर्ने आठपहरिया समुदायले आफ्नै भाषा, संस्कृति र वेषभूषा सहित आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग गर्दै आएका छन्।
- आठपहरियाले मंसिरेमा वाडाङ्मेट चाड, वैशाखमा विसु र भदौमा न्वागी पर्व धूमधामसँग मनाउने परम्परा छ र यसलाई धनकुटा नगरपालिकाले सम्मान गर्दै आएको छ।
- आठपहरिया भाषाको लोपोन्मुख अवस्था र परम्परागत घरहरू आधुनिक संरचनाले लोप हुँदै गएका कारण समुदायले संरक्षणका लागि नगरपालिकासँग सहयोग मागेको छ।
९ जेठ, धनकुटा । नेपालको पूर्वी भेग अरुण र तमोर नदीबीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत जाति हो आठपहरिया । धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरीया यस क्षेत्रका भूमि भूत्र भन्न रुचाउँछन ।
आफ्नै इतिहास, मौलिक संस्कृति र परम्परा बोकेर बसेका सिमान्तृत अवस्थामा रहेको यस जातिको बसोबास मुख्यत: धनकुटा नगरपालिकामा मात्रै पाइन्छ । धनकुटा बाहिर रहेका आठपहरिया कुनै चाडपर्व मान्न वा पितृ कार्य गर्न धनकुटा अर्थात जन्मथलो नआइ नहुने मान्यता रहेको छ ।
आधुनिक समयसँगै बदलिँदो समाज, आधुनिकताको प्रभाव र राज्यको औपचारिक मान्यताबाट टाढा रहँदा पनि आठपहरिया समुदाय आफ्नै पहिचान जोगाउने संघर्षमा लागेको लामो समय भइसकेको छ ।
मौलिक संस्कार संस्कृति, भाषा, वेषभुषा रहेको आठपहरिया समूदायले लामो समयदेखि आदिवासी जनजातिमा सुचिकृत हुनुपर्ने माग गर्दै आएका छन् । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायको जनसंख्या ५ हजार ८ सय ७८ मात्रै रहेको छ । आठपहरिया समुदायले फरक संस्कार संस्कृति भएकै कारण आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग गर्दै आएको दशकौँ वर्ष भइसके पनि अहिलेसम्म पूरा भएको छैन् ।
सीमान्तकृत आठपहरिया समुदायले २०५८ सालदेखि संगठित रुपमा आदिवासी जनजातिमा सूचीकृत हुन पहल थालेको हो । किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले राज्यले आठपहरियाको छुट्टै पहिचानलाई अझै औपचारिक रुपमा स्वीकार नगर्दा सामाजिक, शैक्षिक तथा आर्थिक रुपमा पछि पर्नुपरेको बताए । ‘हाम्रो पहिचान अनुसारका सबै प्रमाणहरुका आधारमा हामी आठपहरिया नै हौं’, उनले भने, ‘त्यसैले नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
उनका अनुसार आठपहरिया समुदायको आफ्नै भाषा, भेषभूषा, संस्कार, संस्कृति, परम्परा र सामाजिक संरचना छ । तर राज्यले छुट्टै समुदायका रुपमा नचिनेकाले आठपहरियाको अस्तित्व नै ओझेलमा परेको उनको भनाइ छ । आठपहरिया समुदायभित्र छारा, हुम्बारक, किम्दाहाङ, लेङ्सुवा, पाङ्सुङलगायत गरी १९ जातीय समूह छन् ।
उनीहरुले अहिलेसम्म आफ्नै सांस्कृतिक परम्परा, पूजा प्रणाली र चाडपर्वलाई निरन्तरता दिँदै आएका छन् । २०५८ को जनगणनामा यिनीहरुको जाति आठपहरिया राई उल्लेख गरिएको थियो भने २०६८ र २०७८ को जनगणनामा यिनीहरुको जातिको नाम आठपहरिया मात्रै उल्लेख गरिएको छ । आठपहरियाहरु आफ्नै प्रकारका चाडपर्वहरू मनाउँछन् र आफ्नै देवी देवताको आरधना गर्छन् ।
नेपालका बहुल आदिवासी जनजातिहरुको सर्वांगीण विकास तथा उत्थान गर्ने उद्देश्य लिएर नेपाल सरकारले वि.सं. २०४६ को परिवर्तनपछि आदिवासी जनजाति विकास समिति बनाई काम गर्दै आएकोमा उक्त उद्देश्य परिपूर्ति गर्न र अझै प्रभावकारी बनाउनका लागि प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरिएको छ ।
प्रतिष्ठानका उद्देश्यहरुमध्ये आदिवासी जनजातिहरुको भाषिक तथा साँस्कृतिक विविधताको संरक्षण तथा प्रवर्द्धन पनि भएकोमा त्यसो नभएको आठपहरियाहरुको भनाइ छ । आफ्नै भाषा, संस्कार, संस्कृति र वेषभूषा रहेकोले आठपहरियाले आठपहरिया जातिका रुपमा सूचीकृत गरिनुपर्ने माग गर्दै आएको किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष आठपहरियाले बताए ।
उनका अनुसार समुदायको मौलिकता जोगाउन राज्यस्तरबाट जनजातिमा सुचिकृत गरि संरक्षण आवश्यक छ । राज्यले सूचीकृत गर्न केही प्रक्रिया र समस्या रहेको भएपनि सूचीकृत गरिनुपर्छ भन्ने नगरपालिकाको पनि माग रहेको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए । उनले स्थानीय सरकार आठपहरियाको पहिचान, भाषा र संस्कृतिको संरक्षण गर्न धनकुटा नगरपालिकाले संग्रहालय बनाएको र चाडै सञ्चालनमा आउने बताए ।
मुख्य चाड वाडाङ्मेट

आठपहरियाले विशेष गरी मंसिरे अर्थात वाडाङ्मेट चाड धुमधामसँग मनाउने गरेका छन् । वर्षभरिमा परेको शोकलाई सामूहिक रुपमा उकास्ने र जेठो सन्तान जन्मिएको खुसीयाली मनाउने पर्व हो–वाडाङ्मेट । आठपहरियाको ठूलो घर, अर्थात् ५२ चुले घरमा ‘माङ्लाङ्’ उठाएपछि वाडाङ्मेट पर्व सुरु हुन्छ । माङ्लाङ् उठाएको तीन दिनपछि वर्षभरि मृत्यु भएका परिवारका सदस्यहरू तीन दिनको पैदल यात्रामा निस्केर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा पुग्ने चलन छ । त्यहाँ पुगेर आफन्तको दुख बोक्नेले कपाल र दाह्री मुण्डन गरि नुहाएर कपाल सहित दसि बगाउने र बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन रहेको छ ।
तीन दिनको यात्राको क्रममा खुला ठाउँ र खोलाको बगरमा बस्नुपर्ने र सो क्रममा अन्य समयमा गाउन नहुने मुन्धुम वा भक्ति गाउने चलन रहेको छ । बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको बिहान घर फर्केपछि भोलिपल्ट घरघरमा पितृ पूजा सम्पन्न हर्कबढाइ गर्ने चलन छ । जेठो सन्तान जन्मिएको र नयाँ घर निर्माण गरिएको परिवारमा हर्षोल्लासपूर्वक भोज आयोजना गरी नाचगान गर्ने परम्परा रहिआएको किराँत आठपहरिया समाज धनकुटा नगर अध्यक्ष सचेता आठपहरियाले बताइन् ।
कात्तिक पूर्णिमाअघि करिब एक हप्तादेखि सुरु हुने वाडाङ्मेट पर्व औंसीसम्म मनाइन्छ । यस पर्वमा विभिन्न परिकारको स्वाद लिँदै ढोल, मारुनी, डल्लो नाच प्रदर्शन गर्ने र पैसाको माला दान गर्ने चलन छ । पैसाको माला दान गर्दा मनोकामना पूरा हुने विश्वास आठपहरिया समुदायमा रहेको छ । विभिन्न पाछामा रहेका आठपहरियाले मार्गा, श्रीपञ्चमी लगायत थलोमा विशेष पूजा गर्ने गरेका छन् । वाडाङ्मेटमा नयाँ लुगा लगाइने तथा मिठो खानेकुरा खाएर घर घरै गएर नाचगान गर्दै मनाइने गरिन्छ । आठपहरिया समुदायको सांस्कृतिक पहिचानका रुपमा स्थापित वाडाङ्मेट रहेको छ । यो चाडलाई सम्मान गर्दै धनकुटा नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ ।
वैशाखमा विसु र भदौमा न्वागी
आठपहरिया समभुदायले बैशाखमा विशु, भदौमा न्वागी पर्व धूमधामका साथ मनाउने गर्छन् । आठपहरियाले बैशाखमा परिवार र समुदायमा सुख शान्ती, समृद्धि र मेलमिलापको कामना गर्दै आठपहरियाहरुले आठ दिनसम्म यो चाड मनाउने गर्छन् । बिसु चाडको पहिलो दिन भूमिपूजा, दोस्रो दिन देवस्थल अर्थात मार्गाथानमा लिपपोत र सरसफाइ, तेस्रो दिन मार्गाथानमा कुखुरा र सुगुरको बली दिने, चौथो दिन राँगा र सुगुरको भेजो लगाउने चलन रहेको छ । यस्तै पाँचौं दिन पितृपूजा, छौंटौं दिनमा ओल्लोपल्लो गाउका बुढापाका र यूवायूवती भेलाभएर संयूक्त रुपमा वनभोज आयोजना तथा सातौं दिनमा ताराआप्मा अर्थात धनुषबाणले तारो हान्ने र आठौं दिनमा बर्ष दिन भरी अन्नपात र बालीनाली राम्रो होस भनि मार्गाथानमा आएर बिदाइ पूजा गर्ने चलन रहेको किराँत आठपहरिया समाजका केन्द्रिय अध्यक्ष अष्टबहादुर आठपहरियाले बताए ।
यस्तै आठपहरियाले भदौ वा असोजमा न्वागी चाडको रुपमा भदौरे चाड मनाउने गर्छन् । न्वागी चाडमा नयाँ बाली पितृ तथा कुललाई चढाउने चलन रहेको छ । यो चाड भदौ शुक्ल पूर्णिमा पछिको बुधबार, बिहीबार र शुक्रबार गरि तीन दिनसम्म मनाउने चलन रहेको छ । बैशाखमा कुल तथा पितृलाई वर्षा गराइदेउ बाली लगाउँछौ भन्ने गरेको र भदौ या असोजमा तिमीले वर्षा गराइदिएकाले बाली लगाएर फलाउन सफल भयौँ अब तिमी पनि खाउ हामी पनि खान्छौ भन्ने चलन रहेको अध्यक्ष आठपहरियाको भनाइ छ । तीन वटै चाड वैशाखे, भदौरे र मंसिरे चाडमा आठपहरियाको २२ थलोमा रहेको २२ वटा मार्गाथानी र ५२ चुले अर्गात ठूलो घरमा पुजा गर्ने गरिएको छ ।
सकंटमा आठपहरिया भाषा र संस्कृति र वेषभुषा
आठपहरिया जातिको भाषा, धर्मसंस्कार र सँस्कृति जगेर्ना प्रमुख चुनौतीको रुपमा रहेको छ । हालसम्म यस जातिको आफ्नो लिपि पत्ता लाग्न सकेको छैन र भाषा, सँस्कृतिसमेत लोपोन्मुख अवस्थामा रहेको पाइन्छ । यस जातिको आफ्नै भाषा, धर्म, संस्कार र सँस्कृति रहे तापनि संरक्षण र सम्वर्द्धन हुन नसकेर लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ । आठपहिरया भाषा कथ्य भाषामा मात्र रहेको पाइन्छ, लेखनका लागि आफ्नो लिपि नरहेको यस जातिका अगुवा बताउँछन् ।
हाल आएर थोरै भए पनि देवनागरी लिपिको प्रयोग गरी ‘आठपहिरया भाषा’को व्याकरण लेखन गरी अध्ययन अध्यापन गरिँदै आएको छ । नेपाल सरकारबाट कक्षा ५ सम्म मातृभाषामा शिक्षा प्रदान गर्ने अवसर प्रदान गरिए तापनि धेरै लोपोन्मुख अवस्थामा रहेका भाषाहरूको शब्दकोश नहुँदा अध्ययन अध्यापनमा सरकारको योजनाअनुसार उपलब्धि प्राप्त भइरहेको छैन । आफ्नो भाषालाई यिनीहरु आठपहरिया भाषा भन्छन् । यो भोट बर्मेलीको किराँती भाषा हो । बेलाहारे भाषासँग यो भाषाको वंंशाणुगत निकटता रहेको बताइन्छ । त्यसबाहेक छथरे लिम्बू र याख्या भाषासँग पनि यसको निकटता रहेको यसका जानकार बताउँछन् ।
आठपहरिया भाषालाई असुरक्षित भाषाको सूचीमा समेत राखिएको छ । धर्म, सँस्कृति, परम्परा र वेशभूषाका साथै जातीय अस्तित्व जोगाउने प्रमुख तत्व भाषा पनि भएकाले यसको संरक्षण जरुरी रहेको उनीहरुको भनाइ छ । आठपहिरया जातिभित्र मार्गा जिमी र अन्य थलो मान्ने गरेका छन् भने जाति, थर, पाछा र थलो रहे पनि भाषा एउटै रहेको छ ।
समुदायका अगुवाहरुका अनुसार नयाँ पुस्तामा मातृभाषा प्रयोग घट्दै जाँदा भाषा लोप हुने जोखिम बढेको छ । आठपहरिया समुदायका अगुवा धनबहादुर आठपहरियाले आठपहरिया भाषा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । यसको मुख्य कारण अन्य भाषाको प्रभाव हो ।
नेपाली भाषाले पनि आठपहरिया भाषालाई धेरै गाजेको छ । अहिले अभिभावकमा अंग्रेजी भाषाको मोह पनि बढेको छ । उनका अनुसार मातृभाषाको उच्चारण तथा प्रयोगमा आउने कठिनाइले पनि नयाँ पुस्तालाई भाषा सिक्नबाट टाढा बनाइरहेको छ । घरभित्र समेत नेपाली भाषा प्रयोग बढ्दै जाँदा आठपहरिया भाषाको पुस्तान्तरण कमजोर बन्दै गएको छ ।
आठपहरियाको पुरुषले लगाउने र महिलाले लगाउने वेशभूषाहरूले पनि मौलिक विशेषता बोकेका रहेका छन् । खास गरेर महिलाहरुले लगाउने पहिरन र गहना विशेष प्रकारका छन् तर बढ्दो आधुनिकीकरणले यी मौलिक वेशभूषाहरु हराउन थालेका छन् । वेशभूषाहरु संकटमा परेको गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया वेशभूषा सिलाइ प्रशिक्षण गरेर केही जनशक्ति उत्पादन गरेको धनकुटा नगर प्रमुख तामाङले बताए ।
परम्परागत घरहरू लोप हुँदै

धनकुटा नगपालिकाभित्र बसोबास गर्दै आएका आठपहरिया समुदायको परम्परागत रुपमा रहेका घरहरु पछिल्लो समय लोप हुँदै गएका छन् । आधुनिक संरचना भित्रिएसँगै परम्परागत घरहरु लोप हुन थालेका हुन् । आधुनिक संरचनाको विकाससँगै शहरी क्षेत्रमा परम्परागत शैलीका घरहरु तथा भवनहरु देख्नै पाइन छोडेको छ भने ग्रामीण भेगमा भेटाउन मुस्किल हुन थालेको छ ।
नगरपालिकाभित्र रहेका फुस (खर)को छाना हुने सबै घरहरुमा जस्तापाता लगाउन नगरपालिकाले जस्तापाता दिएपछि घरहरु लोप भएका हुन् । आठपहरिया जातिले आफ्नो कुलपूजा गर्ने घरमा खरको छानाले छाएको हुनुपर्ने परम्परा रहेको छ । जस्तापाताले छाएको ठाउँमा पूजा गर्न नहुने ७५ वर्षकी आइतमाया आठपहरियाले बताइन् ।

प्रतिक्रिया 4