उत्तरी चीनको सान्सी प्रान्तमा रहेको एउटा कोइला खानीमा ग्यास विष्फोट हुँदा कम्तीमा ९० जना श्रमिकको मृत्यु भएको छ। तोङझाउ ग्रुपद्वारा सञ्चालित ‘लिउसेन्यु कोइला खानी’ मा शुक्रबार बेलुका यो दुर्घटना भएको हो ।
विष्फोट स्थानीय समय अनुसार शुक्रबार बेलुका १९:२९ बजे भएको थियो, जतिबेला खानीभित्र २४७ जना श्रमिकहरू कार्यरत थिए। दुर्घटना लगत्तै सयौँको सङ्ख्यामा उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन्। दुर्घटनामा घाइते भएका १०० भन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको छ भने खानीभित्र फसेकाहरूको खोजी र उद्धार कार्य अझै जारी रहेको छ।
घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनपिङले घाइतेहरूको उपचार र जीवित रहेकाहरूको खोजीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। उनले सरकारलाई दुर्घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न र दोषीहरूलाई कडा कानुनी दायरामा ल्याउन समेत आग्रह गरेका छन्।
सञ्चारमाध्यमका अनुसार खानी सञ्चालन गर्ने अधिकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। विष्फोटको आधिकारिक कारण अझै खुल्न नसके पनि खानीभित्र अत्यधिक विषाक्त र गन्धहीन ग्यास ‘कार्बन मोनोअक्साइड’ को मात्रा तोकिएको सीमाभन्दा धेरै पाइएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यमा सहयोग पुर्याउन छ वटा फरक उद्धार टोलीका ३४५ जना कर्मचारीहरू घटनास्थलमा परिचालन गरेको छ। दुर्घटना भएको सान्सी प्रान्त चीनकै सबैभन्दा बढी कोइला उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ।
चीनको कोइला खानी उद्योगमा सन् २००० को दशकको सुरुवाती वर्षहरूमा यस्ता घातक दुर्घटनाहरू निकै सामान्य मानिन्थे। हालैका वर्षहरूमा सुरक्षा मापदण्डहरूमा निकै कडाइ गरिए तापनि दुर्घटनाहरू पूर्ण रूपमा रोकिन सकेका छैनन्।
यसअघि सन् २०२३ मा भित्री मङ्गोलिया क्षेत्रको एउटा कोइला खानी भत्किँदा ५३ जनाको ज्यान गएको थियो भने सन् २००९ मा उत्तर-पूर्वी हेइलोङजियाङ प्रान्तको खानीमा भएको विष्फोटमा १०० भन्दा बढीको मृत्यु भएको थियो।
प्रतिक्रिया 4