+
+
Shares

बेथानचोक : छोटो दूरीको पर्यटकीय गन्तव्य

समुद्री सतहबाट ३ हजार १८ मिटर उचाइको बेथानचोक नारायणको शीर, ३ हजार १२ मिटर उचाइमा रहेको गजराम थुम्को र २ हजार ३११ मिटर उचाइको चौबास डाँडा यो क्षेत्रका प्रमुख आकर्षण हुन् ।

डा. बलराम तिमल्सिना डा. बलराम तिमल्सिना
२०८३ जेठ ९ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको बेथानचोक नारायणथान क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
  • बेथानचोक नारायणथान पुग्न तीन बाटा छन् र पैदल यात्रा गरी करिब तीन घन्टामा शिखरमा पुग्न सकिन्छ।
  • बेथानचोकमा विषादीरहित तरकारी उत्पादन र खुवा, पनिर, घिउजस्ता दुग्धजन्य पदार्थ उत्पादन गरिन्छ।

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक नारायणथान क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । काठमाडौंबाट दुई-तीन घन्टामा पुग्न सकिने र धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सौन्दर्यमा रमाउन पाइने भएकाले बेथानचोक भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको हो ।

समुद्री सतहबाट ३ हजार १८ मिटर उचाइको बेथानचोक नारायणको शीर, ३ हजार १२ मिटर उचाइमा रहेको गजराम थुम्को र २ हजार ३११ मिटर उचाइको चौबास डाँडा यो क्षेत्रका प्रमुख आकर्षण हुन् ।

यसका अलावा बतासेडाँडा, कामीडाँडा, घोडाबाँधे र तीनतले झरना पर्यटकका लागि विशेष छन् । पूर्वदेखि पश्चिम तेर्सिएको महाभारत पर्वत शृङ्खलाको अवलोकन साँच्चै मन लोभ्याउने किसिमको छ । यहाँका विभिन्न थुम्काको उचाइ चुम्दा, जङ्गल घुम्दा र पैदल हिँड्दाको आनन्द नै बेग्लै हुन्छ ।

महाभारत लेकको सबभन्दा उच्च स्थानमा रहेको बेथानचोक नारायणको मन्दिर धार्मिक पर्यटकका लागि महत्वपूर्ण स्थल हो । महाङ्काल मन्दिर, झिंगेको भैरव मन्दिर, च्याम्राङ्बेसीको चक्रेश्वर महादेव मन्दिर र कलाङसिंहमा रहेको बाघभैरवको मन्दिर हिन्दु भक्तजनका आस्थाका केन्द्र हुन् ।

यस्तै, मुक्तेश्वर महादेव मन्दिर, कृष्ण प्रणामी मन्दिर, महाङ्कालथान र बिन्ध्यवासिनी मन्दिर पनि त्यत्तिकै महत्वपूर्ण धार्मिक स्थल हुन् ।

त्यस्तै, डाँडागाउँमा रहेको गणेश मन्दिर, सलाँतु बगरमा रहेको इन्द्रदेवीको मन्दिर, च्यासिङ्खर्कको कालीदेवी र कपुर महांकाल र भुग्देउको मन्दिर पनि ऐतिहासिक महत्वका धार्मिक स्थलहरू हुन् ।

बौद्धमार्गीका लागि पनि बेथानचोक पवित्र स्थल हो । बेथानचोक गाउँपालिका भित्र ६ वटा गुम्बा छन् । मूलडाँडामा च्योमतान्ते, चलाल गणेशस्थानमा टासी, स्याङ्ग्दो पाल्की छ्योइलिङ, रियो बुद्ध पाल्देन छ्योइलिङ, च्यासिङ्खर्कमा टालीसाङ ज्याङछुक र आइताटासी गुम्बाहरू रहेका छन् ।

एक-दुई दिन बेथानचोक बसेर यस क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँग रमाउन सकिन्छ । काठमाडौंबाट करिब साढे दुई घण्टामा पुग्न सकिने छोटो दूरीको गन्तव्य भएकोले दिनभरिमा बेथानचोक नारायणको दर्शन गरेर काठमाडौं फर्कन पनि सकिन्छ ।

बेथानचोकमा रात बस्नका लागि खाने-बस्ने सुविधा सहितका होटेल र रिसोर्टहरू सञ्चालनमा छन् । यसका अतिरिक्त पाहुनाका लागि सुविधा सम्पन्न होमस्टे पनि सञ्चालन गरिएका छन् ।

बेथानथोकमा विषादीरहित तरकारी उत्पादन गरिन्छ । खुवा, पनिर र घिउ यहाँका प्रमुख दुग्धजन्य पदार्थ हुन् । यहाँ दाउराको आगोमा पकाइएको स्वादिलो खुवा पाइन्छ ।

समग्रमा बेथानचोक धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्तै धनी गाउँपालिका हो । तत्कालीन पाँच गाविस च्याम्राङबेसी, ढुंखर्क, चलाल गणेशस्थान, च्यासिङ्खर्क र भुग्देउ महाङ्काल समावेश भएर बेथानचोक बनेको हो ।

संघीय राजधानी काठमाडौंदेखि ४५ किलोमिटर दक्षिणमा अवस्थित बेथानचोकवासीको अतिथि सत्कार गर्ने संस्कृति पनि लोभलाग्दो छ । लामो समय घर, परिवार र कार्यालयको काम छोडेर आन्तरिक पर्यटकको रूपमा टाढा जान नभ्याउनेहरूका लागि यो स्थल साँच्चै मनमोहक र रमणीय छ ।

स्थानीय तामाङ समुदायले शिवजीको बासस्थानका रूपमा बेथानचोकको शिखरमा पूजाअर्चना गर्दै आएका छन् । वैष्णव सम्प्रदायका विद्वान आचार्य राघवेन्द्रको सक्रियतामा लक्ष्मीनारायणको मन्दिर निर्माण गरिएपछि बेथानचोकको महिमा तथा महत्व झन् बढ्यो । यसबाट के पुष्टि हुन्छ भने, शैव र वैष्णव दुवै सम्प्रदायको उत्तिकै आस्थाको केन्द्र हो बेथानचोक नारायणथान ।

कसरी पुग्ने नारायणथान शिखर ?

नारायणथान पुग्न तीन वटा बाटा छन् । पहिलो ढुंखर्क गेल्डुङबाट पूर्वतर्फ कामीडाँडा हुँदै माथि जाने बाटो छ भने दोस्रो दक्षिणबाट सोला (ग्वा) भञ्ज्याङ नाङ्गेचौर हुँदै जाने बाटो छ । गेल्डुङ बजारबाट ठूलाचौर घोडाबाँधे हुँदै शिखर पुग्ने उकालो बाटोमा सिँढीहरू निर्माण गरिएकाले अन्य भन्दा यो बाटो बढी सहज छ । बढीमा तीन घन्टाको पैदलयात्रामा नारायणथान पुग्न सकिन्छ ।

नारायणथान जान गेल्डुङबाट कच्ची सडक पनि निर्माण भएको छ । यो सडक हुँदै जाँदा एक घन्टाभन्दा कम पैदल यात्रा गरे पुग्छ । बेथानचोक-२ स्थित सोला भज्याङ्गबाट दुई घन्टाको पैदल यात्रामा नाङ्गेडाँडा हुँदै नारायणथान पुग्न सकिन्छ । कामीडाँडाबाट चार घन्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।

ललितपुरको फुल्चोकीदेखि पाट्ने भञ्ज्याङ हुँदै बेथानचोक नारायणथानसम्म पदयात्रा गर्न सकिने गरी व्यवस्थित र सुरक्षित पदमार्ग निर्माण भइसकेको छ । शिखरमै रात बिताउने गरी जान पनि सकिन्छ ।

बस्नका लागि पाटी निर्माण गरिएको छ । तर खानेकुरा र ओढ्ने ओछ्याउने भने लैजानुपर्छ । शिखरमा रहेका पाटी पौवाहरूमा सोलार प्रणालीबाट बिजुलीको व्यवस्था पनि गरिएको छ ।

हिउँद याममा तुवाँलो र गर्मी तथा वर्षा याममा बेलाबेला कुहिरो लाग्ने भएकाले दृश्यावलोकनका लागि जाने पर्यटकहरूले शरद ऋतु (असोज कात्तिक) रोज्नु उपयुक्त हुन्छ । हिमालको दृश्यावलोकन गर्न चाहनेहरूका लागि पुस र माघ महिना उपयुक्त हुन्छ । शिखरबाट तराई-मधेशसम्म देख्न सकिन्छ ।

जडीबुटीका लागि पनि बेथानचोक क्षेत्र अत्यन्त महत्वपूर्ण छ । नारायणथान र गजरामको थुम्को तथा आसपास जटिबुटीका लागि प्रख्यात छ । यहाँ पाइने जडीबुटीमध्ये २०० भन्दा बढीको पहिचान भइसकेको छ ।

बेथानचोक गाउँपालिकाभित्र पाइने महत्वपूर्ण जडीबुटीहरूमा पाखनबेत, घोरथाप्रे, तिते पिँडालु, ठूलो औषधि, सरो, सतुवा, कुखुरीकाँ, लोकता, पाँचऔंले, डुण्डु, साखुले, वन लसुन, बाँदरमुला, वन मुला, जिवन्ती, गाउँ जल, विसफायर, ठूलो ओखतो, कुकुर तरुल, जटामसी, ओखर, भलायो, टिम्बुर, बुकीफूल, गुच्ची च्याउ, रातो च्याउ, सल्लाको खोटो, अल्लो, सिस्नु, लोठसल्ला, ठिंग्रेसल्ला, अर्घौली, झ्याउ, मजिठो, सुगन्धवाल, कुरिलो, चिराइतो, तितेपाती, धसिँगरे, अँगेरी, काउलाको बोक्रा आदि हुन् ।

बेथानचोकको उच्च भाग महभारतको जङ्गलमा घोरल, थार, मृग, भालु, चितुवा, बँदेल, खरायोलगायत जनावर भेटिन्छन् । पन्छीहरूमा डाँफे, मुनाल, च्याखुरा, कालिज, तित्रा, मयुर, प्युरा, जुरेली, ढुकुर, धोबिनी, रानी चरी, लाटोकोसेरो, कलचौडे, चाँचर, मैना-सुगा पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?