+
+
Shares

मध्य बर्खापछि नारायणगढ-मुग्लिन खण्डमा पहिरो रोक्न ठेक्का सम्झौता

यही साउन महिनादेखि १० महिनाभित्र काम सक्ने गरी सम्झौता गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणगढ–मुग्लिन सडकखण्डको तुइन र नाम्सी खोलामा पहिरो नियन्त्रण गर्न बाभरी कन्स्ट्रक्सनले २२ करोड २१ लाख १२ हजारमा ठेक्का पाएको छ ।
  • सडक डिभिजन कार्यालय भरतपुरसँगको सम्झौता अनुसार आगामी १० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी १० महिनाको समयसीमा तोकिएको छ ।
  • उच्च जोखिमयुक्त मानिएको यस क्षेत्रमा रक एङ्करिङ, नेटिङ्ग र बायो-इन्जिनियरिङ्ग प्रविधि प्रयोग गरी पहिरो रोकथामका काम गरिने इन्जिनियरहरूले जानकारी दिएका छन् ।

३ साउन, चितवन । मध्य बर्खा लागेपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (दाँया) र नाम्सी खोला (दायाँ) मा पहिरो रोकथामका ठेक्का सम्झौता भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले आह्वान गरेको ठेक्का बाभरी कन्स्ट्रक्सन प्रा.लि धुम्बराही काठमाण्डौंले पाएको छ । कार्यालयले करिब २५ करोड लागत अनुमान गरेर वैशाख २५ गते आह्वान गरेको ठेक्का बाभरीले २२ करोड २१ लाख १२ हजारमा पाएको कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार यही साउन महिनादेखि १० महिनाभित्र काम सक्ने गरी सम्झौता गरिएको छ । नारायणगढ-मुग्लिन सडकका इन्जिनियर अर्जुन घिमिरेले ठेकदार कम्पनीले आफ्ना औजार उपकरणहरु झिकाएर काम थाल्ने विश्वास व्यक्त गरे ।

बर्खाको समय भएकोले काम गर्न असहज भए पनि मौसम र अवस्था हेरेर स्लोपमा रहेका ढुंगाहरू झार्ने, स्लोप मिलाउन जस्ता कार्य गर्न सक्ने इन्जिनियर घिमिरेले बताए ।

पहिरो रोकथाम तथा नियन्त्रणका लागि ३ तरिकाको नेटिङ्ग राखिनेछ । चार मिटर लामो, २८ एमएम ब्यास भएको जालीका साथै रक एङ्करिङ लगायतका कामहरू गरिनेछन् । पहिरो रोकथामका लागि काम भएको ठाउँलाई तीन भागमा बाँडेर सबैभन्दा माथिल्लो र बीचको भागमा बायो- इन्जिनियरिङ्गका कामहरू गरिने इन्जिनियर घिमिरेले जानकारी दिए ।

पानी रसाउने ठाउँहरुमा पानीको पाइपहरू १० मिटरसम्म घुसाएर पानीलाई बाहिर निकाल्ने कामहरु आवश्यकता अनुसार गर्ने सम्झौतामा उल्लेख छ ।

यो खण्डको सडक विस्तार तथा पुल निर्माणका क्रममा भित्ता काट्दा कमजोर चट्टान झरेर हरेक वर्ष पहिरो जाने र उच्च जोखिम भएको क्षेत्र हो ।

हरेक वर्ष दुःख दिँदै आएको तुइन खोला र नाम्सी खोला क्षेत्रको पहिरो रोकथाममा ढिलासुस्ती हुँदा यात्रुले यात्राका क्रममा दुःख पाएका छन् । बर्खा लागेपछि सडक डिभिजनले ठेक्का लगाए पनि काम गर्न असहज हुन सक्ने देखिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले जेनजी आन्दोलन, डिजाइन परामर्शदाता छनौट, मन्त्रालयको सहमती, डिजाइन जस्ता कामले ठेक्का लगाउन ढिला भएको बताए । डिजाइन गर्दा नै २/३ महिना लागेको लामिछानेले जानकारी दिँदै लामिछानेले कामलाई सम्झौता अवधि भित्र नै सक्न सक्दो पहलकदमी लिने बताए ।

रातको समयमा पहिरो या ढुङ्गा खस्दा टाढाबाट प्रष्टसँग देख्न सकियोस् भनेर डिभिजन सडक कार्यालयले दुईवटा फ्लड लाइट र पहिरोको अवस्था हेर्न सिसी क्यामेरा जडान गरेको छ ।

तुइनखोला पुलको नारायणगढतर्फको भागमा भित्ता काट्दा कमजोर चट्टान भएका कारणले पहिरो जाने गरेको छ । गत वर्ष असोज ३ र ७ गते तुइन खोलामा माथिबाट पहाड नै खसेको थियो । पहिरो पन्छाएर यातायात सञ्चालन गर्न ३ दिन लागेको थियो । यस बर्ष पनि बेलाबखतमा साना साना सुख्खा पहिरो सो क्षेत्रमा खस्ने गरेको छ ।

कालीखोला र नाम्सी खोला (बाँया) खण्डको ठेक्का सम्झौता हुन बाँकी

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत नै पहिरोको अर्को जोखिम रहेको क्षेत्र काली खोला र नाम्सी खोलाको बाँया खण्डमा माथिबाट आउने पहिरो रोकथामका लागि पनि ठेक्का आह्वान गरिएको छ । गत वैशाख १९ गते सडक डिभिजन कार्यालय भरतपुरले आह्वान गरेको ठेक्काको म्याद सकिएर मूल्याङ्कन तथा सम्झौता गर्न भने बाँकी नै छ ।

एमएस जीएस सुनकोशी जेभी चितवनको आर्थिक प्रस्ताव खोलेर मूल्याङ्कन तथा क्लियरेन्स लिन बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख लामिछानेले जानकारी दिए ।

राजधानी काठमाडौं, पोखरा लगायतका सहरहरूको लाइफलाइन मानिने यो सडकखण्ड भएर दैनिक १० हजारभन्दा बढी साना ठूला सवारी साधन आवतजावत गर्ने अनुमान छ ।

३६ किलोमिटर लामो यो सडकखण्डमा २६ मध्यम, १४ सामान्य र ९ वटा उच्च जोखिम क्षेत्र छन् । त्यसमध्ये तुइन र नाम्सी सबैभन्दा उच्च जोखिम क्षेत्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?