News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीपछि फेला परेका शवको संख्या ६ सय नाघेको छ, र सड्न थालेका शव गाड्ने निर्णय सरकारले गरेको छ।
- चितवनमा सबैभन्दा धेरै शव भेटिएकाले फोटो, डीएनए र युनिक पहिचान नम्बर सुरक्षित राखेर रामनगर–देवघाट क्षेत्रमा अस्थायी रूपमा गाड्न थालिएको छ।
- अधिकारीहरूका अनुसार पहिचान खुलेमा अभिलेख र डीएनए मिलानबाट शव उत्खनन् गरी आफन्तलाई बुझाउन सकिनेछ, र नेपालमा बेवारिसे शव १२ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ।
१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ ।
अधिकांश शवको पहिचान हुन सकेको छैन । बुधबार बाढीले बगाएका शव अत्याधिक गर्मीका कारण सड्न थालिसकेका छन् । प्रहरीका अनुसार हालसम्म रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परिसकेका छन् ।
यस्तै नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेका छन् । बाटो नभएका कारण मृतकका आफन्त शव खोज्न जान सकिरहेका छैनन् ।
सडेर शवबाट दुर्गन्ध फैलिन थालेपछि संक्रमण तथा महामारीको जोखिमलाई मध्यनजर गर्दै शव जमिनमा गाड्ने निर्णय सरकारले गरेको छ । शव गाड्ने प्रक्रिया कस्तो हुन्छ ? कसरी पहिचान सुरक्षित राखिन्छ ? किन जमिनमै शव गाड्नुपर्ने अवस्था आयो ? आफन्त शव लिन आएको अवस्थामा कसरी दिइन्छ भन्ने विषयमा अनलाइनखबरले तयार गरेको जिज्ञासा र जवाफ :
शवलाई किन गाड्नुपर्ने अवस्था आयो ?
अहिले सबैभन्दा बढी शव चितवनमा फेला परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक शनिबार जारी शवलाई सुरक्षित राख्ने गाड्ने निर्णय गरेको छ । ठूलो संख्यामा शव एकैपटक फेला परेपछि उपलब्ध शवगृह र भण्डारण क्षमता पर्याप्त हुन सकेन । केही शवमा कुहिने प्रक्रिया तीव्र भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालभर सरकारी र निजी स्वास्थ्य संस्थामा करिब ६ सय शवलाई राख्न मिल्ने फ्रिजर छ । तर उपलब्ध सबै क्षमता प्रयोग गर्न भौगोलिक दुरीका कारण सम्भव छैन ।

चितवनका सबै स्वास्थ्य संस्थामा जम्मा ५० वटा शव राख्ने क्षमता छ । त्यसमा पनि भरतपुर जस्ता ठूला अस्पतालमा वेवारिसे शवले फ्रिजर भरिएको छ ।
शवलाई राख्न कोल्ड स्टोरेज, अस्थायी शवगृह र कन्टेनर जस्ता संरचना तत्काल बनाउन नसकेपछि अहिले अन्तिम विकल्प रुपमा गाड्ने निर्णयमा पुगेको हो ।
चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार शव राखिएको स्थानबाट दुर्गन्ध फैलिन थालेको छ ।
‘शव सड्न थालिसकेका छन् । धेरै सड्न थालेपछि गन्ध फैलिएको छ । महामारी तथा संक्रमणको जोखिम नहोस् भनेर गाड्न लागेका हौँ,’ थापा भन्छन् ।
थापाका अनुसार अहिले शव व्यवस्थापन नगरी लामो समयसम्म राखिरहन व्यावहारिक कठिनाइ उत्पन्न भएको छ । शव राखिएको स्थानबाट डेढदेखि दुई किलोमिटरसम्म गन्ध फैलिन थालेको र त्यसले अस्पतालका बिरामी तथा स्थानीय बासिन्दालाई समेत असर गर्न थालिसकेको छ ।
अहिले शव गाड्नुको मुख्य कारण ठूलो संख्यामा शवलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक रूपमा राख्ने तथा पहिचानको सम्भावना जोगाइराख्नेका लागि भएको सरकारी अधिकारीहरू बताउँछन् ।
शव व्यवस्थापनको अन्तिम विकल्पका रूपमा गाड्नुलाई किन प्राथमिकता दिइयो ?
अस्थायी रूपमा गाड्नु पहिलो विकल्प होइन । विपद्मा ठूलो संख्यामा शव फेला पर्दा रेफ्रिजेरेटेड अर्थात् चिस्यानयुक्त शव भण्डारण पहिलो प्राथमिकताको उपाय हो ।
अन्तर्राष्ट्रिय रेडक्रसको (आईसीआरसी) मापदण्डअनुसार सम्भव भएसम्म शवलाई करिब २ देखि ४ डिग्री सेल्सियस तापक्रममा रेफ्रिजेरेटेड कन्टेनर वा अन्य चिसो भण्डारणमा राख्नु उत्तम विकल्प हो । तर यस्तो सुविधा पर्याप्त नभए सुरक्षित स्थानमा अस्थायी रूपमा गाडेर राख्न सकिन्छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार पनि विपद्का क्रममा शव व्यवस्थापन गर्दा रेफ्रिजेरेसनलाई प्राथमिकता दिइन्छ । त्यसको क्षमता नपुगेमा ‘टेम्पररी बरिअल’ अर्थात् अस्थायी रूपमा जमिनमुनि गाडेर सुरक्षित राख्ने विकल्प प्रयोग गर्न सकिन्छ ।
‘टेम्पररी बरिअल भनेको सुरक्षित ठाउँमा मृतकको सबै विवरण दस्तावेज गरेर, फोटोग्राफी र डीएनए नमुना लिएर आफन्त नआउन्जेल माटोमुनि गाडेर राख्ने प्रक्रिया हो,’ डा. चौधरी भन्छन् ।

आईसीआरसीका अनुसार विपद्का कारण शव राख्ने सामान्य क्षमता भन्दा धेरै शव संकलन भएमा तिनलाई अस्थायी रूपमा सुरक्षित राख्नुपर्ने हुन सक्छ । राम्रो रेफ्रिजेरेटेड अर्थात् चिस्यानयुक्त शव राख्ने सुविधा उपलब्ध नभएको अवस्थामा शवलाई अस्थायी रूपमा सुरक्षित स्थानमा गाडेर राख्ने विकल्प पनि प्रयोग गर्न सकिन्छ ।
पर्याप्त कोल्ड स्टोरेज, अस्थायी शवगृह वा रेफ्रिजेरेटेड कन्टेनर किन तयार गर्न सकिएन ?
अहिले देखिएको मुख्य समस्या शवको संख्या र उपलब्ध भण्डारण क्षमताबीचको ठूलो अन्तर हो ।
रसुवा बाढीपछि शव चितवनमा मात्रै नभई चितवनदेखि नवलपरासीसम्मका विभिन्न जिल्लामा भेटिएका छन् । यसले एउटा अस्पताल वा एउटा संस्थाले मात्रै सबै शवलाई लामो समय सुरक्षित राख्न सक्ने अवस्था रहेन ।
स्थानीय अस्पतालहरूमा सामान्य अवस्थामा प्रयोग हुने शवगृहको क्षमता सीमित हुन्छ । ठूलो विपद्मा एकैपटक सयौँ शव आउँदा त्यस्तो क्षमता तत्कालै अपुग हुन्छ । त्यसमाथि फरेन्सिक परीक्षण, पहिचान, पोस्टमार्टम, फोटो तथा डीएनए नमुना संकलन पनि सँगसँगै गर्नुपर्ने हुन्छ । सरकारले पर्याप्त कोल्ड स्टोरेज, अस्थायी शवगृह वा रेफ्रिजेरेटेड कन्टेनर तयार पर्न नसक्दा अन्तिम विकल्प रोजेको छ । अहिले भरतपुर अस्पतालले फरेन्सिक चिकित्सकहरूको सात वटा टोली बनाएर पोस्टमार्टम र डीएनए नमुना संकलन गरिरहेको छ । यसका लागि भेरी अस्पताल, लुम्बिनी लगायतका अस्पतालका फरेन्सिक विशेषज्ञको सहयोग लिइरहेको छ ।
शवलाई कसरी गाडिन्छ ?
पहिचानको सम्भावना पूर्ण रूपमा समाप्त हुने गरी सामूहिक रूपमा शव थुपारेर गाडिने होइन । प्रत्येक शवको छुट्टाछुट्टै विवरण सुरक्षित गरेर ट्रेस गर्न सकिने गरी अस्थायी रुप गाडिन्छ ।
शनिबार दिउँसोदेखि भरतपुर महानगरपालिका वडा नं. १ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जङ्गल क्षेत्रमा शवहरू गाड्न थालिएको छ ।
शव गाड्नुअघि प्रत्येक शवको फोटो खिचिनेछ । शवको अनुहार, हातमा रहेका ट्याटु, चोटपटक तथा अन्य विशेष चिन्हको अभिलेख राखिनेछ ।
त्यस्तै, शवसँगै भेटिएका कपडा तथा अन्य सामानको विवरण संकलन गरिनेछ । कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार गरिनेछ र प्रत्येक शवलाई छुट्टै ‘युनिक पहिचान नम्बर’ दिइनेछ । साथै, भविष्यमा पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवको डीएनए नमुना पनि संकलन गरिनेछ ।
शव गाड्नुअघि प्रत्येक शवबाट अनिवार्य रूपमा डीएनए नमुना सङ्कलन गरिएको छ। शनिबार दिउँसोसम्म १०० भन्दा बढी शवको डीएनए प्रोफाइलिङ पूरा भइसकेको छ। ती शवलाई गाड्नका लागि तयार पारिएको छ।

जङ्गलमा रहेका सालका रूखमा असर नपर्ने गरी करिब १.५ मिटर गहिरो खाडल खनिएको छ। एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी राखेर शवहरूलाई क्रमैसँग गाडिनेछ।
प्रहरी निरीक्षक थापाका अनुसार प्रत्येक शवको डीएनए नमुना सम्बन्धित युनिक नम्बरका आधारमा विधि विज्ञान प्रयोगशालामा सुरक्षित राखिनेछ ।
होल्डिङ सेन्टरमा राखिएका शवका तस्बिर एलईडी डिस्प्लेमार्फत देखाउने र नेपाल प्रहरीको अनलाइन पोर्टलमा समेत राख्ने व्यवस्था गरिएको छ ।
कसैले फोटो हेरेर शव आफ्ना आफन्तको हुनसक्ने आशंका गरेमा हेल्प डेस्कमार्फत थप तस्बिर देखाउने व्यवस्था गरिएको छ । आवश्यक परे सम्बन्धित युनिक पहिचान नम्बरका आधारमा शवसमेत देखाउने व्यवस्था गरिएको छ ।
‘प्रत्येक शवबाट डीएनए नमुना निकालेर सम्बन्धित युनिक पहिचान नम्बरका आधारमा विधि विज्ञान प्रयोगशालामा सुरक्षित राख्छौँ । त्यसपछि शवलाई जमिनमुनि गाड्छौँ,’थापाले भने ।
शव गाड्दा पहिचान नम्बर कसरी सुरक्षित राखिन्छ ?
प्रत्येक शवको पहिचान नम्बर नबिग्रने गरी धातुको प्लेटमा लेखेर शवसँगै राखिनेछ । त्यसैगरी शव गाडिएको स्थानमा पनि सोही पहिचान नम्बर उल्लेख गरिएको प्लेट राखिनेछ ।
यसको उद्देश्य वर्षौँपछि पनि कुन शव कहाँ गाडिएको हो भन्ने पत्ता लगाउन सकियोस् भन्ने हो ।
शव वा शवका टुक्रालाई विशेष प्रकारको ब्यागमा राखेर प्याक गरिन्छ । ब्यागभित्रै शवको पहिचानका लागि संकेत नम्बर राखिन्छ। त्यसपछि ब्यागलाई खाडलमा राखेर माटोले पुरिन्छ ।

शव पुरिसकेपछि भविष्यमा आवश्यक परे सजिलै पहिचान गरी निकाल्न सकियोस् भनेर शव गाडिएको स्थानको छेउमा सानो कंक्रिटको स्ट्यान्ड बनाइन्छ । त्यसमा जमिनमुनि राखिएको शवको संकेत नम्बर लेखिन्छ । यसले कुन नम्बरको शव कहाँ गाडिएको छ भन्ने कुरा स्पष्ट रूपमा थाहा पाउन सकिन्छ ।
शव गाड्ने काम पूरा भएपछि संयुक्त मुचुल्का तयार गरिन्छ । शव व्यवस्थापन गरिएको स्थानको फोटो र भिडियोसमेत खिचेर सुरक्षित राखिन्छ। साथै, प्रत्येक शव गाडिएको स्थानको ठ्याक्कै लोकेसन पहिचान गर्न जीपीएस कोअर्डिनेट र नक्सांकन तयार गरी अभिलेख राखिन्छ।
शव गाडिएको सम्पूर्ण क्षेत्रलाई सुरक्षित राख्न तारबार वा अन्य माध्यमबाट घेराबन्दी गरिनेछ ।
टुक्रा शव के गर्ने ?
अहिले बाढीमा परेर कतिपयको शरिरका अंगहरू क्षतविक्षत भएका छन् । त्यसैले विभिन्न स्थानमा टुक्रा टुक्रा भएका शवहरु पनि भेटिकएका छन् । यस्ता शवहरूलाई पनि सग्लो शवकै जस्तो गरी व्यवस्थापन गरिन्छ । त्यसको पनि डीएनएन र पहिचान नम्बर खुल्नेगरी विवरण राखिन्छ ।
गाडेका शव आफन्तले कसरी पाउनसक्छन् ?
यो पहिचान नखुलेका शवलाई सदाका लागि सामूहिक रूपमा गाड्ने प्रक्रिया होइन । यो ठूलो विपद्का कारण तत्कालका लागि उपलब्ध शवगृह तथा चिस्यानयुक्त भण्डारण क्षमता अपुग भएपछि अपनाउन लागिएको अस्थायी संरक्षणको उपाय हो ।
यस प्रक्रियामा शवको फोटो, शारीरिक चिन्ह, व्यक्तिगत विवरण, कानुनी कागजात, युनिक पहिचान नम्बर र डीएनए नमुना सुरक्षित राखिन्छ । त्यसपछि शवलाई पहिचान नम्बरका आधारमा ट्र्याक गर्न सकिने गरी गाड्ने गरिन्छ ।
भविष्यमा आफन्त आएर दाबी गरेमा अभिलेख, अन्य प्रमाण र डीएनए परीक्षणबाट पहिचान पुष्टि गरेर गाडिएको शव पुनः उत्खनन् गरी परिवारलाई बुझाउन सकिन्छ ।
यही कारणले अन्तर्राष्ट्रिय मापदण्डले पनि विपद्का बेला शवलाई हतारमा नष्ट गर्ने वा सामूहिक रूपमा बेनामे गाड्नेभन्दा पहिचानका सबै सम्भावना सुरक्षित राखेर सम्मानजनक रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
शव गाडेपछि पहिचानको बाटो बन्द हुँदैन । बरु शव गाड्नुअघि संकलन गरिएका प्रमाणका आधारमा पछि पनि पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिन्छ ।
प्रहरी निरीक्षक थापाका अनुसार भविष्यमा कसैको डीएनए परीक्षण वा अन्य प्रमाणका आधारमा पहिचान खुलेमा शव गाडिएको स्थान पहिचान गरेर उत्खनन् गर्न सकिनेछ ।
‘भोलिका दिनमा कसैको डीएनए म्याच भएर पहिचान भयो र परिवारले आफ्नो धर्म–संस्कृतिअनुसार सद्गत गर्न चाहनुभयो भने उत्खनन गरेर लैजान मिल्ने गरी व्यवस्था गर्छौँ,’ प्रहरी निरीक्षक थापाले भने ।
डा. चौधरीका अनुसार पनि आफन्त आएपछि उनीहरूसँग भएको विवरण र शवबाट संकलन गरिएको डीएनए तुलना गरेर पहिचान पुष्टि गर्न सकिन्छ ।
‘आफन्त आएपछि हामीसँग भएको डकुमेन्टसँग रुजु गरेर उहाँहरूको डीएनए र शवबाट संकलन गरिएको डीएनए म्याच भएपछि उत्खनन गरेर शव आफन्तलाई दिन सकिन्छ,’ चौधरी भन्छन् ।

यसको अर्थ अहिले गरिने गाडिने विधि अन्तिम संस्कार होइन, पहिचान नखुलेसम्मका लागि अस्थायी संरक्षण हो ।
माटोमुनि गाड्दा शवको अवस्था कस्तो हुन्छ ? शव कुहिँदैन ?
शव माटोमुनि गाड्दैमा कुहिने प्रक्रिया रोकिन्न । शव प्राकृतिक रूपमा विस्तारै विघटन (डिकम्पोज) हुन्छ । तर खुला ठाउँमा राखिएको शवको तुलनामा माटोमुनि राख्दा कुहिने गति केही कम हुन सक्छ।
फरेन्सिक विशेषज्ञ डा. चौधरीका अनुसार माटोमुनि गाड्दा शवको कुहिने दर तुलनात्मक रूपमा कम हुन्छ ।
‘माटोमुनि गाड्दा डिकम्पोजिसनको रेट कम हुन्छ । एक–दुई महिनासम्म शव तुलनात्मक रूपमा धेरै डिकम्पोज भएको हुँदैन,’ उनी भन्छन् ।
खुला ठाउँमा शव राख्दा कुहिने प्रक्रिया छिटो बढ्न सक्छ र त्यसबाट दुर्गन्ध फैलिने तथा वातावरणमा असर पर्ने समस्या हुन सक्छ । त्यसैले ठूलो संख्यामा पहिचान हुन नसकेका शवलाई सुरक्षित र व्यवस्थित स्थानमा माटोमुनि राख्नु अस्थायी रूपमा उपयुक्त विकल्प हुन सक्ने डा. चौधरीको भनाइ छ ।

तर माटोमुनि गाडिएको शव पूर्ण रूपमा सुरक्षित रहन्छ वा कुहिँदैन भन्ने होइन । यसको उद्देश्य शवलाई तत्काल नष्ट गर्नु नभई कुहिनेको गति केही कम गर्दै भविष्यमा पहिचान गर्न र आवश्यक परे उत्खनन गर्न सकिने अवस्थामा सुरक्षित राख्नु हो ।
शव कहाँ गाड्न उपयुक्त हुन्छ ?
चितवन जिल्ला प्रशासनका अनुसार भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापनका लागि खाल्डो खन्ने काम सुरु गरिएको छ ।
गाड्ने ठाँउ छनोट गर्दा सुरक्षित स्थान, पानीका स्रोत, बस्ती तथा वातावरणीय पक्षलाई ध्यान दिनुपर्छ । आईसीआरसी को प्राविधिक मार्गदर्शनअनुसार गाड्नेस्थल खानेपानीका भूमिगत स्रोतबाट सुरक्षित दूरीमा हुनुपर्छ ।
त्यसैले गाड्ने ठाँउलाई भविष्यमा शव उत्खनन् गर्न सकिने, अभिलेख राख्न सकिने र वातावरणीय जोखिम न्यून हुने स्थानका रूपमा व्यवस्थापन गर्नुपर्छ ।
यसअघि नेपालमा विपद्का क्रममा यसरी शव गाडिएको उदाहरण छ ?
नेपालमा २०७२ सालको भूकम्पपछि पनि पहिचान नखुलेका शवलाई अस्थायी रूपमा जमिनमुनि गाडेर राखिएको उदाहरण छ । डा.चौधरीका अनुसार त्रिवि शिक्षण अस्पतालको परिसरमा मात्रै भूकम्पका क्रममा ३२ वटा शव अस्थायी रूपमा गाडिएको थियो।
त्यसमध्ये केही शव वर्षौँपछि आफन्त खोज्दै आएपछि डीएनए परीक्षणबाट पहिचान भएका थिए ।

‘तीन–चार वर्षपछि विदेशीहरू आफ्ना आफन्तको शव खोज्दै आए । डीएनए म्याच भएपछि दुईवटा शव फेरि निकालेर आफन्तको जिम्मा लगाएका थियौँ,’ डा. चौधरी भन्छन् । उनका अनुसार अहिले पनि त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा भूकम्पका क्रममा गाडिएका करिब ३० शव जमिनमै रहेका छन् ।
पहिचान नखुलेका तथा बेवारिस शव कति समयसम्म सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था छ ?
डा. चौधरीका अनुसार नेपालमा पहिचान नखुलेका तथा बेवारिसे शव र त्यसबाट बाँकी रहने अवशेष लामो समयसम्म सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
उनका अनुसार १२ वर्षसम्म बेवारिसे शव तथा त्यसबाट बाँकी रहने हड्डी वा अन्य अवशेष सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।
‘बेवारिसे शव १२ वर्षसम्म राख्नुपर्छ भनेर हाम्रो कानुनमा उल्लेख छ । हड्डी वा अन्य अवशेष जे बाँकी हुन्छ, त्यो पनि कसैले लिन आएमा दिनुपर्ने हुन्छ,’ डा. चौधरी भन्छन् ।
उनका अनुसार १२ वर्षसम्म कसैले आफन्तको खोजी गर्दै आएमा उपलब्ध अवशेषसमेत बुझाउनुपर्ने हुन्छ । १२ वर्षपछि भने सम्बन्धित व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्न सकिने प्रावधान रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4