+
+
Shares

ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोलि शुक्रबार नेटफ्लिक्स, जियोहटस्टार, जी५, एप्पल टीभी र सोनी लिभमा ८ नयाँ फिल्म तथा सिरिज सार्वजनिक हुँदैछन्।
  • यीमध्ये ६ वटा क्राइम, थ्रिलर र सस्पेन्स विधाका तथा २ वटा पारिवारिक र रोमान्टिक ड्रामा छन्।
  • दायरा, स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क, बांद्रा, हार्टल्यान्ड, १२ १२ १२, मर्डर इन गालिसिया, रणाबली र पारिवारिक मनोरञ्जन रिलिज हुँदैछन्।

काठमाडौं । घरमै बसेर नयाँ फिल्म तथा सिरिज हेर्न रुचाउने दर्शकका लागि यो शुक्रबार ओटीटीमा मनोरञ्जनको नयाँ खुराक थपिँदैछ । नोभेम्बर १३ अर्थात् भोलि शुक्रबार विभिन्न ओटीटी प्लेटफर्ममा ८ नयाँ फिल्म तथा सिरिज सार्वजनिक हुँदैछन् ।

नेटफ्लिक्स, जियोहटस्टार, जी५, एप्पल टीभी र सोनी लिभमा रिलिज हुन लागेका यी फिल्म तथा सिरिजमध्ये अधिकांश सस्पेन्स, अपराध र थ्रिलर विधाका छन् । सूचीमा ६ वटा क्राइम तथा थ्रिलर र दुईवटा पारिवारिक तथा रोमान्टिक ड्रामा समेटिएका छन् ।

हत्या, रहस्य, बदलाको कथा र प्रेमका फरक स्वाद खोजिरहेका दर्शकका लागि यी नयाँ रिलिज विकल्प बन्न सक्छन् ।

शुक्रबार रिलिज हुने ८ फिल्म तथा सिरिज यस्ता छन्…

१. दायरा

मेघना गुलजारको निर्देशनमा बनेको दायरा क्राइम थ्रिलर फिल्म हो । यस फिल्ममा पृथ्वीराज सुकुमारन र करिना कपुर खान मुख्य भूमिकामा देखिनेछन् ।

फिल्मको कथा डीसीपी रमन कुमार (पृथ्वीराज) वरिपरि घुम्छ ।

उनको टोलीले बलात्कारका चार आरोपितको इन्काउन्टर गरेपछि रमन एकाएक हिरो बन्छन् । तर, घटनाको वास्तविकता पत्ता लगाउन निगरानी अधिकारी डीसीपी अजुनी कोहली (करिना) ले अनुसन्धान सुरु गरेपछि उनको समस्या बढ्दै जान्छ ।

इन्काउन्टर वास्तविक थियो वा योजनाबद्ध रूपमा गरिएको थियो भन्ने रहस्यले फिल्मलाई रोमाञ्चक बनाउँछ । दायरा नेटफ्लिक्सबाट हेर्न पाइनेछ ।

२. स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क

स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क टिन मिस्ट्री, क्याम्पस थ्रिलर  सिरिज हो ।  जुम्ल्याहा दिदीबहिनीमध्ये एक आयशाको रहस्यमय मृत्यु भएपछि अदिति (शनाया कपुर) त्यसको वास्तविकता पत्ता लगाउन आफैँ अनुसन्धानमा जुट्छिन् ।

यसका लागि उनी मृतक बहिनीको पहिचानमा एउटा प्रतिष्ठित बोर्डिङ स्कुलमा भर्ना हुन्छिन् ।

त्यहाँ हुने ’स्टुडेन्ट अफ द इयर’ प्रतियोगितामा सहभागी हुँदै उनी बहिनीको मृत्युको कारण खोज्न थाल्छिन् । तर, सत्यको नजिक पुग्दै जाँदा स्कुलभित्र लुकेका अनेकौँ रहस्य र आपसी दुश्मनीले उनको अनुसन्धान थप जटिल बनाउँछ ।

सो सिरिज जियोहटस्टारमा हेर्न पाइनेछ ।

३. बांद्रा

बांद्रा क्राइम ड्रामा सिरिज हो । ९० को दशककी बलिउड अभिनेत्री तारा जानकी (तमन्ना भाटिया) को रहस्यमय मृत्युसँगै फिल्मको कथा अघि बढ्छ । उनको जीवनबारे अनुसन्धान गर्न थालेका एक युवा फिल्ममेकरले विगतका अनेकौँ रहस्य पत्ता लगाउँछन् ।

फिल्म निर्माताको शोषणबाट आजित भएर केरल पुगेकी ताराले त्यहाँ शक्तिशाली व्यापारी आला (दिलीप) सँग नयाँ जीवन सुरु गरेकी हुन्छिन् । तर, पुरानो निर्माताले उनको पिछा गर्दै केरल पुगेर हत्या गर्छ ।

ताराको मृत्युपछि आक्रोशित आला बदला लिन अपराधको सञ्जालविरुद्ध लडाइँ सुरु गर्छन् । सो सिरिज जी५मा प्रशारण हुनेछ ।

४. हार्टल्यान्ड

करिब दुई दशकसम्म चर्चाबाट टाढा रहेकी कन्ट्री म्युजिककी पूर्वस्टार मिस्टी जोन्स (जेसिका चेस्टेन) अचानक न्यासभिल फर्किन्छिन् । उनको फर्काइको कारण भतिजी चार्ली हार्ट (कार्टर फेथ) बेपत्ता हुनु हो ।

सुरुमा भतिजीको खोजीमा जुटेकी मिस्टीको यात्रा विस्तारै हत्याको अनुसन्धानमा परिणत हुन्छ । अनुसन्धानका क्रममा संगीत उद्योगभित्रका कैयौँ गोप्य कुरा बाहिर आउँछन् ।

यससँगै मिस्टीले आफूले वर्षौँदेखि लुकाउँदै आएका विगतका घटनासँग पनि सामना गर्नुपर्ने हुन्छ । मिस्ट्री थ्रिलर हार्टल्यान्ड नेटफ्लिक्समा हेर्न सकिनेछ ।

५. १२ १२ १२ 

स्विट्जरल्यान्डको ज्युरिखमा भएको ठूलो बैंक डकैतीमा आधारित यो सिरिजको कथा तीन फरक समयरेखामा अघि बढ्छ । डकैती हुनुभन्दा अघिका १२ महिना, घटना घटाउन लागेका १२ घण्टा र त्यसपछिका १२ दिनका घटनालाई यसमा समेटिएको छ ।

एक चतुर अपराधी (जेमी डोर्नन) ले डकैतीको योजना बनाउँछन् भने उनलाई पक्राउ गर्न बदनाम पूर्वएफबीआई एजेन्ट (एन्थनी म्याकी) लागिपर्छन् ।

अपराधी र एजेन्टबीचको लुकामारीले सिरिजलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । हाइस्ट थ्रिलर भनिएको यो सिरिज एप्पल टीभीमा हेर्न सकिनेछ ।

६. मर्डर इन गालिसिया

सत्य घटनाबाट प्रेरित यस सिरिजको कथा एक महिलामाथि राति भएको आक्रमणबाट सुरु हुन्छ । घटनाको अनुसन्धान गर्ने जिम्मेवारी एक महिला प्रहरी सार्जेन्टले पाउँछिन् ।

अनुसन्धान अघि बढ्दै जाँदा उनको शंका पीडित महिलाका पतिमाथि केन्द्रित हुन थाल्छ । सुरुमा सामान्य देखिएको पतिको व्यवहारभित्र लुकेका रहस्य विस्तारै बाहिर आउँछन् ।

आखिर महिलामाथि आक्रमण कसले गर्‍यो र त्यसको पछाडि के कारण थियो भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा सिरिजले दर्शकलाई सस्पेन्समा राख्छ ।

सो सिरिज  नेटफ्लिक्समा आउनेछ ।

७. रणाबली

राहुल सांकृत्यायनको निर्देशनमा बनेको ऐतिहासिक फिल्मको कथा सन् १८७० को दशकको रायेलसीमामा आधारित छ ।

त्यसबेला परेको भीषण खडेरी, अंग्रेजहरूको अत्याचार र खाद्यान्न भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिविरुद्ध एक योद्धाले सुरु गरेको संघर्ष फिल्मको मुख्य विषय हो ।

विजय देवरकोंडा रणाबली नामका योद्धाको भूमिकामा देखिनेछन् भने रश्मिका मन्दाना उनकी पत्नी जयम्माको भूमिकामा छन् । हलिउड अभिनेता अर्नोल्ड वोस्लुले पनि फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

फिल्म तेलुगुसँगै हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा पनि उपलब्ध हुनेछ । हामीले यो फिल्म नेटफ्लिक्समा हेर्न पाइनेछ ।

८. पारिवारिक मनोरञ्जन

पारिवारिक मनोरञ्जन भन्ने नामले नै धेरै भनिरहनु नपर्ला  । यो मनोरन्जन र कमेडीले भरिएको सिरिजमा पंकज त्रिपाठी र अदिति राव हैदरी पहिलोपटक एउटै पर्दामा देखिँदैछन् । यसको कथा लखनउका रञ्जन (पंकज) र दिल्लीकी प्रोपर्टी म्यानेजर हेलेन (अदिति) वरिपरि घुम्छ ।

आफ्नै शैलीमा निश्चिन्त जीवन बिताइरहेका रञ्जनको भेट हेलेनसँग भएपछि उनीहरूको जीवनले नयाँ मोड लिन्छ । परिस्थितिवश दुवै एउटै पुरानो हवेलीमा बस्न बाध्य हुन्छन् ।

स्वभाव र सोच नमिल्ने उनीहरूबीच सुरुमा बारम्बार नोकझोक चल्छ । तर, यही झगडा विस्तारै प्रेममा परिणत हुँदै जान्छ ।

यसैबीच छिमेकीहरूको अनावश्यक चासो र अचानक सुरु हुने प्रहरी अनुसन्धानले उनीहरूको सम्बन्धमा नयाँ समस्या थप्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?