२९ कात्तिक, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले सूर्यदेव र छठी माताको श्रद्धापूर्वक आराधना गर्दै छठ पर्व रूपमा मनाएका छन्। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा आइतबार साँझदेखि सोमबार बिहानसम्म चिपिङ नोर्टनस्थित सिड्नी छठ घाटमा दुईदिने छठ महोत्सव आयोजना गरिएको हो।
आयोजक संस्थाका प्रतिनिधि अरुणकुमार ठाकुरले अनलाइनखबरसँग कुरा गर्दै यस वर्षको छठ कार्यक्रम अत्यन्त सफल भएको बताए। उनका अनुसार पूजामा सहभागी हुन दुई हजारभन्दा बढी श्रद्धालु भेला भएका थिए।
कार्यक्रममा स्थानीय नगरप्रमुख, स्थानीय अगुवा तथा नेपाली समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूको सहभागिताले नेपाली समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई थप बलियो बनाएको सहभागीहरूले बताए।

महोत्सवको पहिलो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै विशेष पूजा आराधना गरिएको थियो भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको मुख्य धार्मिक अनुष्ठान सम्पन्न हुने तय भएको छ। श्रद्धालुहरू परम्परागत विधिअनुसारका पूजा सामग्रीसहित घाटमा उपस्थित भएका थिए।
धार्मिक अनुष्ठानसँगै कार्यक्रममा नेपाली सङ्गीत र सांस्कृतिक प्रस्तुतिले उत्सवलाई थप रौनक दिएको थियो। गायक रविराज शाह र गायिका प्रियंका सिंहका साथै विकास शर्मा र उनको टोलीले साङ्गीतिक प्रस्तुति दिएका थिए। शिवगर्जना सिड्नीको ढोल–तासाको प्रस्तुतिले पनि वातावरणलाई थप उत्सवमय बनाएको थियो।
क्यानबेरामा भने घरबाटै छठी माताको आराधना
सिड्नीमा ठूलो सङ्ख्यामा नेपालीहरू भेला भएर छठ पर्व मनाइरहँदा अस्ट्रेलियाका अन्य सहरमा बसोबास गर्ने कतिपय नेपालीले भने उपयुक्त पूजास्थलको अभावमा घरबाटै छठी माताको आराधना गर्नुपरेको छ।
राजधानी क्यानबेरामा बसोबास गर्ने राजा गुप्ताले यस वर्ष छठ पूजाका लागि उपयुक्त स्थान नपाएपछि घरबाटै पूजा गरेको बताए। वीरगन्जस्थित आफ्नो जन्मथलोमा परिवार र आफन्तले छठ मनाइरहेको दृश्य भिडियोमा हेर्दा आफू भावुक भएको गुप्ताले सुनाए।
नदी तथा पोखरीका घाटमा श्रद्धालुहरूको भीड, छठका गीत र पूजाको उल्लास देख्दा घरको सम्झनाले मन खिन्न भएको उनको भनाइ छ।
‘विदेशमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने चाहना भए पनि सामूहिक रूपमा पूजा गर्ने स्थान नपाउँदा दुःख लाग्यो,’ उनले भने। यद्यपि, उनले घरमै पूजा सामग्री तयार पारेर छठी माताको आराधना गर्दै आफ्नो आस्थालाई निरन्तरता दिएका छन्।
नेपालको तराई–मधेस क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय अस्ट्रेलियामा रहेका नेपाली समुदायले पनि सामूहिक रूपमा मनाउँदै आएका छन्।
विदेशमा रहेर पनि आफ्नो धर्म, संस्कृति र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजना गरिने यस्ता कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।
प्रतिक्रिया 4