News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्ले फागुन १ देखि आयोजना गर्ने भनिएको नेपाल फुटबल लिग सञ्चालनका लागि सैद्धान्तिक सहमति दिएको छ ।
- एनएफएलको पहिलो संस्करणमा पुराना ७ र नयाँ ३ गरी १० क्लब सहभागी हुने भएका छन् ।
- नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ सम्म बढाइएको छ ।
३० कात्तिक, काठमाडौं । आगामी फागुन १ गतेदेखि आयोजना गर्ने भनिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृतिको ‘सैद्धान्तिक सहमति’ दिएको छ ।
एनएफएलका अध्यक्ष कल्याण गुरुङले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता सञ्चालन गर्न राखेपले स्वीकृतिको सैद्धान्तिक सहमति दिएको जनाएको हो ।
नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण फागुन १ गतेदेखि आयोजना गर्ने घोषणा भइसकेको छ ।
एनएफएलको पहिलो संस्करणमा पुराना ७ र नयाँ ३ क्लब गरी १० क्लबले प्रतियोगिता गर्ने एनएफएका अध्यक्ष गुरुङले विज्ञप्ती मार्फत जानकारी दिए ।
घरेलु फुटबलका सात पुराना क्लब काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी सहभागि हुने पक्का छ । यसबाहेक एनएफएलले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ ।
लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान गरेको थियो ।
नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति १६ नोभेम्बर २०२६ अर्थात् ३० कात्तिक २०८३ तोकिएको थियो । तर, चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ (नोभेम्बर २०, २०२६) सम्म पुर्याइएको थियो । ‘यो समयसीमा शुक्रबार सकिँदै छ । अहिले हामी यसैको तयारीमा छौं,’ एनएफएलका अध्यक्ष कल्याण गुरुङले भने ।
नयाँ क्लबका लागि आवेदन दिन इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ । लिग रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4