News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको क्विन्सल्यान्डमा हुने गोल्ड कोस्ट नेपाली प्रिमियर लिगको तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला गरिएको छ ।
- आगामी मार्च २०२७ मा हुने प्रतियोगितामा पाँच टोली सहभागी हुनेछन्, र खेलाडी छनोट अक्सन प्रणालीमार्फत गरिनेछ ।
- आयोजकले प्रत्येक टोलीमा कम्तीमा ६ स्थानीय खेलाडी र प्लेइङ–११ मा ४ स्थानीय खेलाडी अनिवार्य गरेको छ ।
३० कात्तिक,गोल्ड कोस्ट अस्ट्रेलिया । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यमा आयोजना हुने गोल्ड कोस्ट नेपाली प्रिमियर लिग (जीसीएनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला गरिएको छ ।
अस्ट्रेलियामा रहेका नेपाली क्रिकेट खेलाडीहरूको प्रतिभा विकास, प्रतिस्पर्धात्मक क्रिकेटको प्रवर्द्धन तथा नेपाली समुदायबीच खेलकुदमार्फत एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण आगामी मार्च २०२७ मा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
लिगमा सहभागी हुन इच्छुक खेलाडीले आयोजकको आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् । जीसीएनपीएल डट कम डट एनपीमा गएर खेलाडी दर्ता गर्न सकिनेछ ।
आयोजकले गोल्ड कोस्ट, ब्रिसबेनलगायत क्विन्सल्यान्डका विभिन्न क्षेत्रमा रहेका नेपाली क्रिकेट खेलाडीलाई दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।
क्विन्सल्यान्डभरका योग्य नेपाली क्रिकेट खेलाडीले प्रतियोगिताका लागि दर्ता गर्न सक्नेछन् ।
गोल्ड कोस्ट नेपाली प्रिमियर लिगको आयोजनामा हुने यस प्रतियोगितामा यसपटक पाँच टोली सहभागी हुनेछन् । अघिल्ला दुई संस्करणको सफलतापछि तेस्रो संस्करणलाई थप व्यावसायिक, प्रतिस्पर्धात्मक र आकर्षक बनाउने लक्ष्य आयोजकले राखेको छ ।
यस संस्करणमा हिमालयन हिट, यति स्ट्राइकर्स, गोल्ड कोस्ट सुपर किंग्स, गोर्खा थन्डर्स र नयाँ टोली सगरमाथा टाइटन्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि खेलाडी छनोट अक्सन प्रणालीमार्फत गरिनेछ । खेलाडी अक्सन आगामी डिसेम्बर २०२६ को दोस्रो सातामा आयोजना गर्ने तयारी छ ।
आयोजकका अनुसार यस संस्करणमा गोल्ड कोस्टका स्थानीय नेपाली क्रिकेट खेलाडीलाई विशेष प्राथमिकता दिइएको छ । प्रत्येक टोलीले रिटेन गरिएका खेलाडीसहित कम्तीमा ६ जना गोल्ड कोस्टका स्थानीय खेलाडी आफ्नो टोलीमा समावेश गर्नुपर्नेछ । साथै, प्रत्येक खेलको प्लेइङ–११ मा कम्तीमा चार जना स्थानीय खेलाडी अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस नियमले स्थानीय प्रतिभालाई उच्चस्तरीय प्रतियोगितामा खेल्ने अवसर प्रदान गर्नुका साथै नयाँ खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।
साथै, प्रत्येक टोलीले क्विन्सल्यान्डबाहिरबाट अधिकतम एक जना खेलाडी ल्याउन पाउने वैकल्पिक व्यवस्था पनि गरिएको छ ।
जीसीएनपीएल सिजन–३ लाई थप व्यवस्थित बनाउन यसपटक टर्फ क्रिकेट मैदानमा खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।
प्रतियोगिताका खेलहरू व्यावसायिक रूपमा प्रत्यक्ष प्रसारण गर्ने, सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रसार गर्ने तथा खेलाडीहरूको प्रदर्शनलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउने तयारी भइरहेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी अविनाश बोहरालाई ब्रान्ड एम्बेसडर तथा सामाजिक सञ्जाल व्यक्तित्व हिरोशी खनाललाई सिजन–३ को आधिकारिक फेसका रूपमा प्रस्तुत गरिएको छ ।
जीसीएनपीएलमार्फत नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य आयोजकले लिएको छ । जीसीएनपीएलका म्यानेजर रिवाज गौतमले तेस्रो संस्करण नेपाली क्रिकेट खेलाडीहरूका लागि ठूलो अवसर हुने बताएका छन् । ‘हाम्रो उद्देश्य एउटा क्रिकेट प्रतियोगिता आयोजना गर्नु मात्र होइन, अस्ट्रेलियामा रहेका नेपाली क्रिकेट प्रतिभालाई एउटा बलियो प्लेटफर्म उपलब्ध गराउनु हो । विशेषगरी गोल्ड कोस्ट र क्विन्सल्यान्डका स्थानीय खेलाडीलाई प्राथमिकता दिएर उनीहरूको प्रतिभा उजागर गर्न चाहन्छौँ,’ उनले भने, गौतमले थपे, ‘अघिल्ला दुई संस्करणबाट हामीले धेरै सकारात्मक अनुभव प्राप्त गरेका छौँ । सिजन–३ लाई अझ व्यावसायिक, व्यवस्थित र रोमाञ्चक बनाउने तयारीमा छौँ । त्यसैले सम्पूर्ण योग्य नेपाली क्रिकेट खेलाडीलाई समयमै दर्ता गरी यस अवसरको सदुपयोग गर्न आग्रह गर्दछु ।’
जीसीएनपीएल सिजन–३ ले अस्ट्रेलियामा नेपाली क्रिकेटको पहिचान थप मजबुत बनाउँदै खेलाडी, समर्थक, व्यवसायी तथा नेपाली समुदायलाई एउटै खेलकुद मञ्चमा जोड्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4