+
+
Shares

साउदीका अमेजन गोदाममा कार्यरत नेपालीमाथि श्रम शोषण

एम्नेस्टी इन्टरनेसनलले साउदी अरबस्थित अमेजनको गोदाममा कार्यरत नेपाली श्रमिकले भोगिरहेको शोषण र असुरक्षाको पाटो उजागर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ७:४६

१ मंसिर, काठमाडौं । साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपाली श्रमिकले श्रम शोषण र असुरक्षित रोजगारीको समस्या भोगिरहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाइएका नेपालीसहितका आप्रवासी कामदारले न्यूनतम श्रमिक अधिकारसमेत उपभोग गर्न नपाएको उल्लेख छ । प्रतिवेदनअनुसार श्रमिकको भर्ती शुल्क, आवासको अवस्था र गुनासो सुनुवाइ प्रणालीमा केही सुधार गरे पनि कामको असुरक्षा, न्यून पारिश्रमिक र रोजगारदाताको मनोमानी भने कायमै छ ।

विशेषगरी अमेजनको गोदाममा काम गर्ने जिम्मेवारीबाट हटाइएपछि श्रमिकहरू हप्तौँदेखि महिनौँसम्म बेरोजगार बस्नुपर्ने र त्यस अवधिको पारिश्रमिकसमेत नपाउने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार अमेजनले तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत कामदार नियुक्त गर्ने गरेको छ । यसरी नियुक्त भएका श्रमिकको रोजगारी, भिसा र रोजगार परिवर्तन गर्ने अधिकारसमेत आपूर्ति कम्पनीको नियन्त्रणमा रहने गरेको छ ।

अमेजनबाट हटाइएपछि न काम, न तलब

एम्नेस्टीले सार्वजनिक गरेको Amazon in Saudi Arabia : Why migrant workers remain at risk of exploitation शीर्षकको प्रतिवेदन सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म गरिएको अनुगमन र अनुसन्धानमा आधारित छ ।

यस क्रममा साउदी अरबको रियादस्थित अमेजनको एउटा गोदाममा काम गरेका वा गरिरहेका भारत र नेपालका २४ जना श्रमिकसँग अन्तर्वार्ता गरिएको थियो ।

अन्तर्वार्ता दिएकामध्ये अधिकांश श्रमिकले अमेजनले आफूलाई जुनसुकै बेला कामबाट हटाउन सक्ने बताएको प्रतिवेदनमा उल्लेख छ । अमेजनको गोदाममा काम गर्ने जिम्मेवारी अन्त्य भएपछि पनि उनीहरूलाई श्रमिक आपूर्ति गर्ने कम्पनीसँगको करार र भिसाका कारण अर्को रोजगारदाता खोज्न वा स्वदेश फर्कन सहज नहुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाश नामका एक नेपालीले अमेजनले आफूहरूलाई कुनै पनि बेला कामबाट निकाल्न सक्ने भन्दै रोजगारीको अनिश्चितता व्यक्त गरेका छन् । ‘उनीहरूले हामीलाई जुनसुकै बेला कामबाट निकाल्न सक्छन् । आज वा भोलि कहिले निकाल्छन् भन्ने निश्चित छैन । हामी अस्थायी कामदार हौँ,’ एम्नेस्टी इन्टरनेसनलले प्रकाशको भनाइ प्रतिवेदनमा राखेको छ ।

अमेजनको गोदाममा काम गर्ने जिम्मेवारी समाप्त भएपछि श्रमिक आपूर्ति कम्पनीले अर्को काम नदिने र हप्तौँदेखि महिनौँसम्म तलब नदिई राख्ने गरेको श्रमिकहरूको भनाइ छ । यस्तो अवस्थामा कतिपय श्रमिक साथीभाइसँग सापटी लिएर वा उनीहरूकै सहयोगमा गुजारा चलाउन बाध्य हुने गरेका छन् ।

अयान नामका भारतीय नागरिकले पनि अमेजनबाट निकालिएपछि स्वदेश फर्कने प्रतीक्षामा बिताएका तीन महिनालाई निकै कठिन समयका रूपमा सम्झिएका छन् । ‘ती तीन महिना मेरा लागि निकै कठिन थिए । खल्तीमा पर्याप्त पैसा थिएन । सहकर्मीहरूले खाना दिएर सहयोग गरे । आफूले चाहेजति खान पनि पाउँदिनथेँ,’ उनले भनेका छन् ।

दुई वर्षको करार पूरा नगरी घर फर्कन नपाइने दबाब

प्रतिवेदनमा श्रमिक आपूर्ति कम्पनीहरूले कामदारलाई अर्को रोजगारदाताकहाँ जान रोक्ने वा कम पारिश्रमिकमा काम गर्न दबाब दिने गरेको समेत उल्लेख छ ।

अर्का कामदार अरुणले नजिकको आफन्तको मृत्यु भएपछि बिदा लिएर घर गएको अवस्थामा अमेजनको कामबाट हटाइएको बताएका छन् । उनका अनुसार श्रमिक आपूर्ति कम्पनीले बिदा स्वीकृत गरे पनि अमेजनले उनलाई कामबाट हटाएको थियो ।

कामबाट हटेपछि वैकल्पिक रोजगारीसमेत नदिएको कम्पनीले स्वदेश फर्कन आवश्यक एक्जिट भिसाको प्रक्रिया अघि बढाउन दुई महिनाको तलबबराबर रकम मागेको अरुणको भनाइ छ ।

‘उनीहरूले दुई वर्षको करार पूरा नगरी कामदारलाई घर जान दिँदैनन् । उनीहरूलाई पैसा तिर्न मसँग पैसा नै कसरी हुन्थ्यो ?’ अरुणले प्रश्न गरेका छन् ।

यसले साउदी अरबको आप्रवासी श्रमिकसम्बन्धी कफाला (प्रायोजन) प्रणालीमा रहेका संरचनात्मक समस्याले नेपाली श्रमिकलाई समेत प्रभावित पारिरहेको देखाएको एम्नेस्टीको निष्कर्ष छ ।

कामको लक्ष्य पूरा नगरे जागिरबाट निकाल्ने धम्की

अमेजनका गोदाममा काम गर्ने श्रमिकले कामको चर्को दबाब र निरन्तर निगरानीसमेत भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

श्रमिकहरूलाई निश्चित समयभित्र तोकिएको काम पूरा गर्न दबाब दिने, लक्ष्य पूरा भए–नभएको निरन्तर अनुगमन गर्ने र अपेक्षित कार्यसम्पादन गर्न नसके चेतावनी दिने तथा कामबाट हटाउने धम्की दिने गरिएको अनुसन्धानले देखाएको छ ।

एक वर्षभन्दा बढी समयदेखि सामान छान्ने (पिकर) काम गर्दै आएका दीपकले लक्ष्य पूरा नगरेको भन्दै व्यवस्थापकले धम्क्याउने गरेको बताएका छन् ।

‘व्यवस्थापक चिच्याउँदै सोध्छन्– तिमीले आफ्नो लक्ष्य किन पूरा गरेनौ ? म तिमीलाई कामबाट निकालिदिन्छु,’ अर्का एक कामदार दीपकको भनाइ उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख छ ।

श्रमिकलाई समस्या वा दुर्व्यवहारबारे उजुरी गर्न अमेजनको ‘माइभोइस’ (MyVoice) प्रणाली उपलब्ध भए पनि आपूर्ति कम्पनीले प्रतिशोध साँध्न सक्ने डरले कतिपय श्रमिक उजुरी गर्न हिचकिचाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

अमेजनको गोदामबाट बाहिरिएपछि उक्त प्रणालीमा पहुँच नहुने भएकाले श्रमिक आपूर्ति कम्पनीसँग सम्बन्धित समस्याबारे उजुरी गर्नसमेत कठिन हुने गरेको श्रमिकहरूको भनाइ छ ।

सुधार गरे पनि शोषणको जोखिम कायमै

एम्नेस्टीले सन् २०२३ मा गरेको अनुसन्धानपछि अमेजनले केही सुधारका कदम चालेको थियो । अवैध भर्ती शुल्कका कारण समस्यामा परेका साउदी अरबमा कार्यरत १ हजार १८० जना श्रमिकलाई अमेजनले २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो ।

त्यसैगरी श्रमिकको आवास सुविधा सुधार, गुनासो सुनुवाइ प्रणालीमा पहुँच र श्रमिक आपूर्ति कम्पनीमाथिको निगरानी बढाइएको अमेजनले जनाएको छ ।

एम्नेस्टीका अनुसार पछिल्लो अनुसन्धानमा पनि केही सकारात्मक सुधार देखिएका छन् । तर श्रमिकको रोजगारी र आप्रवासनसम्बन्धी हैसियत तेस्रो पक्षका कम्पनीमा निर्भर रहँदासम्म शोषणको जोखिम अन्त्य नहुने निष्कर्ष प्रतिवेदनको छ ।

एम्नेस्टी इन्टरनेसनलकी जलवायु, आर्थिक तथा सामाजिक न्याय र कर्पोरेट जवाफदेहितासम्बन्धी कार्यक्रम निर्देशक मार्टा साफले तीन वर्षपछि पनि श्रमिकहरुले उस्तै समस्या र असुरक्षा भोगिरहेको बताएकी छन् ।

‘अमेजनले श्रमिकको अवस्था सुधार्न केही कदम चालेको छ र गैरकानुनी भर्ती शुल्कसमेत फिर्ता गरेको छ । तर गोदाममा काम गर्ने आप्रवासी श्रमिकको भर्ती र रोजगारी तेस्रो पक्षलाई सुम्पिने उसको प्रणालीले उनीहरूलाई अझै पनि आफ्नो आम्दानी, कानुनी हैसियत र रोजगारी परिवर्तन गर्ने अधिकारका लागि श्रमिक आपूर्ति कम्पनीमा निर्भर बनाएको छ,’ उनले भनेकी छन् ।

एम्नेस्टीले अमेजनलाई तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमाथिको निर्भरता घटाएर कामदारलाई प्रत्यक्ष रोजगारी दिन आग्रह गरेको छ । तत्कालका लागि अमेजनले कामदारलाई आफ्नो गोदामबाट हटाएपछि पनि आम्दानीविहीन हुन नदिने व्यवस्था गर्नुपर्ने उसको सुझाव छ ।

त्यस्तै, श्रमिक आपूर्ति कम्पनीले अर्को उपयुक्त रोजगारी उपलब्ध गराउन नसके स्वदेश फर्कने व्यवस्था र खर्च सुनिश्चित गर्नुपर्ने एम्नेस्टीको माग छ ।

संस्थाले साउदी सरकारलाई भने कफाला प्रणाली पूर्ण रूपमा अन्त्य गर्न र रोजगारदाताले आप्रवासी श्रमिकको जीवनमाथि गर्ने नियन्त्रण हटाउन आग्रह गरेको छ ।

प्रतिवेदन सार्वजनिक हुनुअघि एम्नेस्टीले अनुसन्धानका निष्कर्ष अमेजन र साउदी सरकारलाई पठाएको थियो । अमेजनले आफ्नो जवाफमा श्रमिक आपूर्ति कम्पनीको निगरानी, स्वास्थ्य तथा सुरक्षा प्रणाली र उजुरी संयन्त्र बलियो बनाएको दाबी गरेको छ । तर प्रतिवेदन सार्वजनिक हुँदासम्म साउदी सरकारले भने एम्नेस्टीको प्रश्नको जवाफ दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?