+
+
Shares

सामन्था रुथ प्रभु बनिन् आमा, छोराको नाम राखिन् ‘देव’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १४:५६

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आमा बनेकी छिन् । सामन्थाले बिहीबार, नोभेम्बर १९ मा छोराको जन्म भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

सामन्था र उनको पति तथा फिल्म निर्देशक राज निदिमोरुको यो पहिलो सन्तान हो ।

राज दम्पतिले छोराको नाम देव निदिमोरु राखेका छन् । सामन्थाले नवजात छोराको सानो हात आफ्ना र राजका हातको बीचमा राखिएको तस्बिर सार्वजनिक गर्दै आफूहरूको खुसी व्यक्त गरेकी छन् ।

तस्वीरसँगै उनले छोराको नाम र जन्ममिति पनि सार्वजनिक गरेकी छिन् ।

‘हाम्रो सुन्दर छोरा देव निदिमोरु । हाम्रो हृदय यसअघि कहिल्यै यति खुसी भएको थिएन,’ सामन्थाले पोस्टमा लेखेकी छन् । पोस्ट सार्वजनिक भएपछि उनका प्रशंसकदेखि फिल्म क्षेत्रका कलाकारसम्मले बधाई तथा शुभकामना दिइरहेका छन् ।

 

View this post on Instagram

 

A post shared by Samantha (@samantharuthprabhuoffl)

सामन्थाको पोस्टमा वरुण धवन र अनन्या पाण्डेसहितका सेलिब्रिटीहरूले प्रतिक्रिया दिँदै बधाई दिएका छन् । सामाजिक सञ्जालमा उनीहरूका शुभकामना र मायाका प्रतिक्रियाले पोस्टको कमेन्ट सेक्सन भरिएको छ ।

सन्तानको आगमनसँगै सामन्था र राजको जीवनमा नयाँ अध्याय सुरु भएको छ । उनीहरूले पछिल्लो समय आफ्नो निजी जीवनलाई धेरै हदसम्म गोप्य राख्दै आएका थिए ।

तर सन्तान जन्मिनुअघि सामन्थाले गर्भावस्थाका केही तस्बिर तथा पारिवारिक क्षण सामाजिक सञ्जालमा साझा गरेकी थिइन् ।

सामन्था र राजले सन्तानको स्वागतअघि घरमै विशेष पूजा पनि गरेका थिए । नोभेम्बर १८ मा सार्वजनिक गरिएका तस्वीरमा सामन्था रातो पहिरनमा र राज क्रिम रङको कुर्ता–पाइजामामा देखिएका थिए ।

उक्त कार्यक्रममा परिवारका नजिकका सदस्यहरू सहभागी थिए ।

यसअघि सामन्थाले गर्भावस्थाका कारण अभिनयबाट केही समय विश्राम लिने बताएकी थिइन् । आफ्नो काम सकेपछि ‘मेटरनिटी लिभ’मा जाने र त्यसपछि पुनः फिल्ममा फर्किने उनको भनाइ थियो ।

सामन्था र राजले सन् २०२५ डिसेम्बर १ मा विवाह गरेका थिए । दुवैले यसअघि ‘द फेमिली म्यान’को दोस्रो सिजन र ‘सिटाडेल : हनी बनी’मा सँगै काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?