+
+
Shares

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

रासस रासस
२०८३ मंसिर ६ गते ६:२७

६ मंसिर, वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय भएको उनले बताए ।

कोषमा वीरगञ्ज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ योगदान गर्नेछन् ।

नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ ।

नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले ७ मंसिरभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ ।

महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशङ्करप्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?