Comments Add Comment

रुपन्देहीमा ६० प्रतिशत खेतमा धान रोप्न बाँकी

२१ असार, बुटवल । मनसुन सक्रिय बनेपछि रुपन्देहीका किसानहरुको ब्यस्तता बढेको छ । पर्याप्त पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु शनिबारदेखि पानी पर्न थालेपछि रोपाईंमा ब्यस्त भएका छन् ।

Ropai-at-Rupandehi

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले आईतबारसम्म जिल्लामा २० प्रतिशत रोपाईं भएको बताएको छ । अब ६० प्रतिशत खेतमा धान रोप्न बाँकी छ ।

कृषि कार्यालय रुपन्देहीका अनुसार कुल खेतीयोग्य जमिनको ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । जसमध्ये सिन्चित एरिया ५० हजार ६ सय १७ हेक्टर रहेको छ । मनसुन छिटो बेलैमा सक्रिय भएकाले यो वर्ष धानको उत्पादन बढ्न सक्ने कृषि विज्ञहरुले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले शनिबारदेखि पानी पर्न थालेपछि अधिकांश ठाउँमा रोपाईं शुरु भएको बताए । उनले आकाशे पानीको भर परेका क्षेत्रमा पनि रोपाईं शुरु भएको बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा लगभग रोपाईं सकिएको छ । देवदह, फर्साटिकर, शंकरनगर, मणिग्राम, मानपकडी, सालझन्डी, सैनामैनामा धमाधम रोपाईं चलिरहेको छ । बोगडी, लुम्बिनी आदर्श, मधुवनी, साडी, करौता, सुर्यपूरा, गुठी प्रसौनी, आमालगायतका गाबिसहरुमा पनि आंशिक मात्रामा रोपाईं शुरु भएको छ ।

यहाँ उन्नत र हाइब्रिड जातका धान रोपिएको छ । कृषि कार्यालयका अनुसार उन्नत धानतर्फ सुख्खा ३, सावा मन्सुली, सावित्री, मकवानपुर १, सुनौली सुगन्ध, कालानमक जस्ता प्रजातीका धान रोपिएको छ । यस्तै हाईब्रेड जातमा गोरखनाथ ५०९, लोकनाथ ५०५, एराइज ६४६४, पृथ्वी, सुरज, चाँदनी, भर्ती लगायतका धानको बिउ किसानले रोपेका छन् ।

परम्परागत तरिकाले पहिलेदेखि रोप्दै आएका धानको तुलनामा कृषि कार्यालयले सिफारिस गरेको नयाँ र उन्नत जातका धानहरु यसबर्ष बढि मात्रामा रोपिएकोले उत्पादन रामै्र हुने अनुमान कार्यालयको छ । जिल्लाको हावापानी तथा माटो सुहाउंदो हाईब्रेड जातका धानको पनि दक्षिणी भेगमा उत्पादन गरिएपछि रुपन्देहीको उत्पादन बढ्दै गएको छ ।

– कपिल ज्ञवालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment