१५ मंसिर, काठमाडौ । शिक्षा मन्त्रालयले एमबीबीएसमा भर्ना हुने विद्यार्थीलाई सिधै मेडिकल कलेजको खातामा तोकिएको शुल्क जम्मा गर्न सक्ने अधिकार दिएको छ ।
नयाँ भर्ना हुने क्रममा नै तोकिएको भन्दा लाखौं बढी शुल्क लिएर ठगी गर्ने मेडिकल कलेजहरुको प्रवृत्तिलाई निरुत्साहित गर्न मन्त्रालयले यस्तो उपाय लगाएको हो ।
कलेजले बढी रकम लिएमा विद्यार्थीले कलेजको खातामा रकम जम्मा गरेको सक्कल भौचरसहित चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) सँग सहयोग लिएर भर्ना गर्न सक्नेछन् ।
एबीबीएस पढाउन मेडिकल कलेजले अधिकतम ३५ लाख रुपैयाँ लिन पाउने व्यवस्था छ । तर, मेडिकल कलेजले ठगी गर्ने गरी ६० लाख रुपैयाँसम्म असुलेको पाइएको छ ।
मेडिकल कलेजले आफुले भने अनुसारको रकम नबुझाए विद्यार्थीलाई भर्नासमेत नलिने गरेको पाइएको छ ।
विद्यार्थीलाई बाध्यतामा पारेर तोकिएको भन्दा बढी रकम लिने प्रवृत्ति व्याप्त भएपछि मन्त्रालयले सिधै मेडिकल कलेजको खातामा रकम जम्मा गरेर भर्नाका लागि सरकारसमक्ष दाबी गर्न सक्ने गरी व्यवस्था मिलाएको हो ।
अहिले विश्वविद्यालयको एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षाको नतिजा आइसकेको छ ।
मेडिकल कलेजले अनियमित रुपमा ४५ लाख रुपैयाँसम्म एकमुष्ट रुपमा मागेको गुनासो आएपछि मन्त्रालयले कलेजको बैंक खातामा रकम जम्मा गरेर विद्यार्थीले आइओएममा जानकारी गराउन सक्ने व्यवस्था गरेको शिक्षामन्त्रीका स्वकीय सचिव जागृत रायमाझीले अनलाइनखबरलाई बताए ।
अब कलेजमा भर्ना गर्दा विद्यार्थीले कुल शुल्कको आधा रकम मात्र बुझाए हुनेछ । कलेजले तोकिएको बढी वा एकैपटक सम्पूर्ण शुल्क मागेमा विद्यार्थीले तोकिएको रकमको आधा अर्थात साढे १७ लाख रुपैयाँ कलेजको बैंक खातामा जम्मा गर्न सक्नेछन् ।
रकम जम्माा गरेको सक्कल भौचर आइओएममा पेश गरेपछि संस्थानले नै विद्यार्थीको भर्नाको व्यवस्था मिलाउनेछ । त्यसका लागि मन्त्रालयले संस्थानलाई निर्देशन दिइसकेको छ ।