Comments Add Comment

गणतन्त्र दिवसको कार्यक्रममा पूर्व उपराष्ट्रपति झा यसरी आए र रिसाएर गए (फोटोफिचर)

सिट थियो, मेरो नाम खोई भन्दै हिँड्नुभोः गृह मन्त्रालय

Parmananda-Jha-2

१५ जेठ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले शनिबार गणतन्त्र दिवसको समारोह ‘बहिष्कार’ गरेर हिँडे । कार्यक्रमस्थल सैनिक मञ्च टुँडिखेलमा उपस्थित भए पनि आसनका विषयमा असन्तुष्टि जनाएर उनी ठाडै खुट्टा फर्के ।

नेपाली राष्ट्रिय पोशाकमा सजिएर मुस्कुराउँदै कार्यक्रमस्थलमा आइपुगेका थिए पूर्व उपराष्ट्रपति झा । उनी साढे ८ बजेतिर आइपुग्दा मुख्य अतिथिहरु आइसकेका थिएनन् । उपप्रधानमन्त्री चित्रबहादुर केसी लगायत केही मन्त्रीहरु मञ्चमा बसेका थिए ।

Parmananda-Jha

नमस्कार खाँदै झा सरासर मञ्चमा उक्ले । एक छिन ठिंग उभिएर यताउता हेरे । उनलाई कसैले वास्ता गरेनन् । त्यसपछि मञ्चमा एक फन्को लगाए । अनि, अनुहारको भाव बिगार्दै मञ्चबाट ओर्लिए ।

Parmananda-Jha-4

समारोहको व्यवस्थापन गरिरहेका गृह मन्त्रालयका कर्मचारीले बल्ल उनलाई ध्यान दिए । उनी फर्किन लागेको देखेर रोके । ‘खोइ मेरो नाम ?’ पूर्व उपराष्ट्रपति झाले सोधे ।

Parmananda-Jha-1

कर्मचारीले नाम एक छिनमा आउँछ भनेर सम्झाउन खोजे तर, झा सरासर बाटो लागे ।

यस विषयमा अनलाइनखबरले गृहका एक उच्च अधिकारीसँग सम्पर्क गर्दा उपराष्ट्रपतिले नेम प्लेट नभएको बारे असन्तुष्टि जनाएर हिँडेको स्वीकार गरे । ‘उहाँ आसन खाली नभएर हिँड्नुभएको होइन,’ ती अधिकारीले भने, ‘आफ्नो नेमप्लेट नदेखेपछि हिँड्नुभएको हो । पहिले पदमा हुँदा जस्तै सम्मान खोज्नुभएको जस्तो लाग्यो ।’

Parmananda-Jha-3

गृह स्रोतका अनुसार कार्यक्रम स्थलमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको पनि नेमप्लेट थिएन । पूर्व पदाधिकारीहरुलाई हालका भिभिआइपीभन्दा पछाडि बस्ने व्यवस्था मिलाइएको थियो । पूर्व राष्ट्रपति यादव पनि कार्यक्रममा उपस्थित भएनन् । उनी हाल जनकपुरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment