२१ असार, गोरखा । उत्तरी गोरखाको दुर्गम केरौंजा गाविस–३ स्थित केरौंजाबेँसीमा पहिरो खस्दा बाटो बनाउन हिँडेका तीन जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको छ ।
फलिम्पुमा गोरेटो बाटो बनाउन जाँदै गरेका केरौंजा–३ का १५ वर्षीय सन्दीप घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया तामाङको पहिरोमा पुरिँदा मृत्यु भएको हो ।
आज बिहान ११ बजे झरेको पहिरोमा परी केरौंजा–४ का ४० वर्षीय टुङ्गे गुरुङ, कृष्ण गुरुङ (उकाल) र सुकराम घले घाइते भएका छन् । उनीहरुमध्ये सुकराम गुरुङको अवस्था गम्भीर रहेको स्थानीयवासी दीपक गुरुङले बताए ।
घाइतेहरुको टाउको, हातगोडालगायत अङ्गमा चोट लागेको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेलाई उपचार गर्न माछाखोलास्थित स्वास्थ्य चौकीमा ल्याइएको छ ।
पहिरोमा ज्यान गुमाएकाहरुको शवलाई पहिरो बाहिर निकालिएको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए। घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर माछाखोलातर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।
घाइतेलाई उपचारका लागि काठमाडौँ लगिने उनको भनाइ छ । अविरल वर्षाका कारण केरौंजाको चारैतिर पहिरो झरेको छ । पहिरोले अवरुद्ध भएको बाटो मर्मतका लागि जाने क्रममा स्थानीयवासी पहिरोमा परेको बताइएको छ । केरौंजामा सडकको पहुँच छैन । बाटो खन्नका लागि जाँदै गरेका अन्य ३० जनाभन्दा बढी गाउँले सुरक्षित छन् । प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएकाहरुको उद्धार गरिएको हो ।