२० पुस, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी निर्वाचन घोषणा भए मधेसी मोर्चा चुनावमा नजाने उदघोष गरेका छन् ।
जिल्ला कार्यसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले पछिल्लो समय संशोधन अल्पमतमा पारिएको खण्डमा चुनावमा भाग नलिने प्रष्ट पारे । महतोले भने, ‘संविधान संशोधन संसदवाट पास गर्न वहुमत चाहिन्छ यदि मधेसको अधिकार दिने कुरामा संविधान संशोधन अल्पमतमा परिन्छ भने मधेसी मोर्चा कुनैपनि चुनावमा सहभागी हुँदैन ।’
उनले अहिलेको अवस्थामा एमाले संविधान संशोधनलाई अल्पमतमा पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए । ‘मधेसी जनजातिको हक अधिकार सुनिश्चत गर्न अहिले संविधान संसोधन गर्न लागिएको हो’, महतोले भने, ‘एमालेको समर्थनसहित वहुमतले संविधान संंशोधन गरिनु पर्छ एमाले भाग्न पाउँदैन ।’
‘संविधान निर्माण गर्दा मधेसलाई अधिकारबाट बञ्चित गरिएको थियो, अहिले मुख्य दुई दल कांग्रेस र माओवादी मधेसको अधिकार फिर्ता गर्न सहमत भएका छन्, अब एमाले पनि आउनुपर्छ मधेसी जनजातिको अधिकार फिर्ता गरिनुपर्छ’ महतोले भने ।