१४ वैशाख, काठमाडौं । नेपाल टेलिकमले धादिङको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङमा बीटीएस जीएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । ती स्थानहरुमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।
लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ, झारलाङका करिव तीन हजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ ।
लापा धादिङ वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ ।
त्यस्तैगरी टिप्लिङ्गमा स्थापित विटिएसबाट टिप्लिङ्गल र सेरटुङलगायत नजिकका गाउँका करिब दुई हजार घरधुरीका वासिन्दा लाभान्वित हुने भएका छन् ।
टिप्लिङ धादिङ वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दुरीमा रहेको छ ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।
प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।