Comments Add Comment

चम्पादेवीको गाउँसभामा विवाद, विशेष बैठकको माग

२ जेठ, ओखलढुंगा । चम्पादेवी गाउँपालिकाको गाउँसभामा विवाद भएको छ । वाम पक्षधरका सदस्यहरुले आफूहरुलाई थाहा नदिइ गाउँसभा सम्पन्न गरेको भन्दै विशेष बैठकको माग गरेका छन् ।

गाउँ कार्यपालिकाकाका चार जना सदस्यसहित गाउँसभाका २० जना सदस्यहरुले विशेष गाउँसभा बोलाउन माग गरेका छन् ।

कांग्रेसको बहुमत रहेको उक्त गाउँपालिकाको बैशाख २९ गते भएको गाउँसभाको बैठकमा एमाले र माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु उपस्थित थिएनन् ।

एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अघिल्लो दिन मात्रै सूचना दिएर अचानक सभा आयोजना गरेकाले सभामा सहभागी हुन नसकेको एमालेका जिल्ला अध्यक्ष नेत्र भट्टराईले बताए ।

स्थानीय शासन सञ्चालन ऐन ०७४ को दफा १९ को उपदफा ४ मा सात दिन अगावै सूचना गर्नु पर्ने व्यवस्था भएपनि सूचनासमेत नदिइ गाउँसभा सम्पन्न गरेकाले विशेष गाउँसभाको बैठक माग गरिएको कार्यपालिका सदस्य सुरेश थापाले बताए ।

वाम गठबन्धनमा आबद्ध जनप्रतिनिधिहरु थापासहितका चारजना वडाध्यक्ष र अन्य गाउँसभाका सदस्यहरुले संयुक्त रुपमा बिशेष बैठक डाक्न माग गरेर लिखित निवेदन दर्ता गरेका छन् ।

ऐनको दफा १९ को उपदफा ३ मा विशेष गाउँसभा बोलाउने सम्बन्धी व्यवस्था छ । ऐनअनुसार गाउँसभाका एक तिहाइ सदस्यहरुले गाउँ सभा बोलाउनु पर्ने कारण खोलेर माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था छ ।

गाउँ सभाका सदस्यहरुलाई जानकारी नदिइ गाउँसभा गरेको विषयमा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले आफूले अध्यक्षको आदेश अनुसार काम गरेको बताए । उनले दुई दिनअघि भएको बैठकमा सबै सदस्यहरुलाई गाउँसभा हुने जानकारी गराइएको पनि दावी गरे ।

ऐनमा व्यवस्था भए अनुसार गाउँ सभाको सुचना सदस्यहरुलाई नदिइएको, गाउँपालिकाले गरेका काम कारवाहीबारे सार्वजनिक सुनुवाइ नगरेको, सार्वजनिक खरिद ऐन विपरित खरिद कार्य गरेको र गाउँपालिकाबिरुद्ध अख्तियारमा परेका उजुरीका सम्बन्धमा सदस्यहरुलाई जानकारी नगराइएकाले विशेष गाउँ सभा बोलाउनु परेको निवेदनमा उल्लेख छ ।

कारणसमेत उल्लेख गरेको निवदेन बुधबार कार्यपालिकामा दर्ता भएको छ । २३७ दर्ता नम्बर रहेका निवेदन प्रमुख प्रशासकीय अधिकृतले दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment