Comments Add Comment

कोलम्बियासँग अहिलेसम्म हारेको छैन इंगल्याण्ड, इतिहास दोहोरिएला कि फेरिएला ?

काठमाडौं । विश्वकपमा प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा मंगलबार राति पौने १२ बजे कोलम्बियाले इंग्ल्याण्डको सामना गर्ने छ । इंग्ल्याण्डलाई अहिलेसम्म हराउन नसकेको कोलम्बियाका लागि यसपटक अवसर पनि छ ।

यसअघि भएका पाँच खेलमा कोलम्बियालाई इंग्ल्याण्डले हराएको थियो भने दुई खेल बराबरी भएको थियो । जसमा १० गोल गरेको इंग्ल्याण्डले ३ गोल मात्रै खाएको छ ।

इंग्ल्याण्ड समूह ‘जी’ को उपविजेता तथा कोलम्बिया समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

पहिलो खेलमा ट्युनिसियालाई २-१ तथा दोस्रो खेलमा पानामालाई ६-१ ले हराएको इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १-० ले पराजित भएको थियो ।

कोलम्बिया पहिलो खेलमा जापानसँग २-१ ले हारेको थियो भने दोस्रो खेलमा पोल्याण्डलाई ३-० तथा तेस्रो खेलमा सेनेगललाई १-० ले हराएको थियो ।

समूह चरणको तथ्य हेर्दा कोलम्बियाभन्दा इंग्ल्याण्ड बलियो देखिन्छ । समूह चरणका तीन खेलमा कोलम्बियाले पाँच गोल गरेको थियो भने इंग्ल्याण्डले आठ गोल गरेको थियो ।

जसमा कोलम्बियाले १६ पटक पोस्टमा बल प्रहार गरेको थियो भने इंग्ल्याण्डले ३३ पटक प्रहार गरेको थियो । गोलका अवसर बनाउने कुरा हेर्दा पनि कोलम्बियाले पाँच पटक राम्रा अवसर बनाएको थियो भने इंग्ल्याण्डले ११ पटक अवसर बनाएको थियो ।

तीन खेलमा कोलम्बियाले १ हजार ३ सय १६ पटक सहि पास खेलेको थियो भने इंग्ल्याण्डले १ हजार ५ सय ९४ पटक सही पास खेलेको थियो ।

बल क्रस फाल्ने काममा भने कोलम्बिया अघि देखिएको छ । विपक्षी पोस्ट नजिक कोलम्बियाले ४६ क्रस बल फालेको थियो भने इंग्ल्याण्डले ४५ क्रस पास फालेको थियो ।

समूह चरणका दुई खेल खेल्न नसकेका इंग्ल्याण्डका डेल अली कोलम्बियाविरुद्ध खेल्न फिट भएका छन् । अन्तिम खेल अघि नै अन्तिम १६ मा पुगेकाले सुरुवाती ११ मा खेल्ने धेरै खेलाडीलाई आराम दिएका प्रशिक्षक ग्यारथ साउथगेटले कोलम्बियाविरुद्ध पहिलो रोजाईंको सुरुवाती ११ नै खेलाउँदै छन् ।

समूह चरणको अन्तिम खेलमा सेनेगलविरुद्ध खेल्दा घाइते भएका कोलम्बियाका स्टार खेलाडी जेम्स रोडि्रगेज चोटकै कारण इंग्ल्याण्डविरुद्ध सुरुवाती ११ मा छैनन् । कोलम्बियाका प्रशिक्षक जोस पेकरम्यानले उनको चोट गम्भीर नभएकाले खेलाउन सकिने सम्भावना पनि रहेको बताएका छन् ।

कोलम्बिया गएको ब्राजिल विश्वकपमा पनि क्वाटरफाइनलमा पुगेको थियो । सन् २०१२ मा प्रशिक्षक पेकरम्यानले टिम सम्हालेपछि कोलम्बिया युरोपियन प्रतिस्पर्धीसँगका आठ खेलमा अपराजित रहेको छ । ६ खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ ।

के भन्छन् प्रशिक्षक ?

जोस पेकरम्यान – कोलम्बिया

अन्तिम १६ मा आइपुगेका सबै टिम राम्रा छन् । यहाँ विश्वकै उत्कृष्ट १६ टिमबीच प्रतिस्पर्धा भइरहेको हामीले भुल्नु हुँदैन । खेलमा राम्रो दिन हुन्छ कि खराब दिन त्यसैले जित हार हुनेछ । इंग्ल्याण्डको पनि राम्रो र खराब दुवै दिन हुन सक्छ । इंग्ल्याण्ड युवा खेलाडीहरुको टिम हो । उनीहरुमा आफूमा निकै विश्वास रहेको देखिन्छ ।

ग्यारथ साउथगेट – इंग्ल्याण्ड

हामीलाई लाग्छ आफ्नो खेलमार्फत हामी यसपटक दर्शकसँग राम्ररी जोडिएका छौं । हामीले रोमाञ्चक खेलहरु देखाइरहेका छौं । हाम्रा युवा खेलाडीहरु कति सक्षम छन् भन्ने सबैले बुझेका छन् । यही लयलाई निरन्तरता दिइरहने सोचमा हामी सबै छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment