Comments Add Comment

तिलगंगा आँखा प्रतिष्ठानले मनायो डायविटिक रेटिनोप्याथी दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस । साथै, विश्व डायविटिक रेटिनोप्याथी दिवस । ‘मधुमेहः हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न र्‍याली तथा सचेतना कार्यक्रम गरिएको छ ।

विश्व मुधमेह दिवस तथा विश्व डायविटिक रेटिनोप्याथी दिवसकै अवसर पारेर गौशालास्थित तिलगंगा आँखा प्रतिष्ठानले यही कात्तिक २५ गतेदेखि ३० गतेसम्म मधुमेहको आँखामा असर सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्दै आएको छ । साथै, आफैले सुरु गरेको डायविटिक रेटिनोप्याथी दिवसलाई समेत यस वर्ष पनि निरन्तरता दिएको छ ।

डायविटिक रेटिनोप्याथी के हो ?

डायविटिक रेटिनोप्याथी मधुमेहको जटिल अवस्था मध्यको एक प्रमुख अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको मधुमेह प्राय सबैमा र दोश्रो प्रकारको मधुमेहमा करिव दुई तिहाई विरामीको आँखाको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ । आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्काल नदेखिन सक्छ ।

आँखामा धेरै असर गरिसकेपछि मात्र यो रोगबारे थाहा हुने भएकोले उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्त कोशिकामा असर गरी पर्दाको रक्तसंचारमा प्रभाव पार्छ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुने गर्छ ।

संसारमा कुल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डायविटिक रेटिनोपेथीको कारणले हुने गरेको छ । साथै, आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको कमीले बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ ।

मधुमेहले शरीरका अन्य भागहरु जस्तै आँखाको दृष्टि पर्दा (रेटिना) को रक्त नसाहरुमा पनि असर गर्दछ । आँखाको पर्दा आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । मधुमेहको असरले गर्दा सुुरुमा आँखाको पर्दामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । समयमै उपचार नभए अत्यधिक रक्तस्राव भई आँखाको दृष्टि सधैंका लागि गुम्ने खतरा हुन्छ ।

मधुमेहले गर्दा आँखाको रेटिनामा देखिने यी असरहरुलाई नै ‘डायविटिक रेटिनोप्याथी’ भनिन्छ । समयमै ध्यान नपुर्‍याएमा यसको असरले दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत बनाउन सक्छ ।

बच्न के गर्ने ?

यसबाट बच्नका लागि मधुमेह रोगको पहिचान हुनासाथ र आँखा डाक्टरको सल्लाह अनुसार नियमित रुपमा आँखा परीक्षण गराउनु पर्छ । र, समयमै मधुमेह रोग र यसबाट हुनसक्ने असरहरुका बारेमा आफू पनि सचेत हुनुका साथै अरुलाई पनि सचेत गराउनु पर्दछ ।

अन्तर्राष्ट्रिय मधुमेह संघ (आईडीएफ)को तथ्यांक अनुसार विश्वभर करिब ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् । ३५ करोड २० लाख मानिस दोस्रो प्रकारको मधुमेहको जोखिममा छन् ।

त्यसमध्य आधा जति मधुमेहका विरामीलाई आफूलाई मधुमेह भएको थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर प्रत्येक परिवारमा देखिने निश्चित छ । त्यसैले, हरेक परिवारको मधुमेह व्यवस्थापन, रोकथाम तथा शिक्षा प्रतिको भुमिकालाई व्यापक बनाउने अभियान अनुरुप यस वर्ष ‘मधुमेह ः हरेक परिवारको सरोकार’ भन्ने नारा तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment