Comments Add Comment

ताप्लेजुङमा ढलेका उड्डयन क्षेत्रका दुई धरोहर

देशले गुमायो इन्जिनियरका पनि इन्जिनियर

१६ फागुन, काठमाडौं । भनिन्छ, राम्रा मान्छेमाथि छिट्टै काल पल्किन्छ, यतिबेला यो भनाइमा सयप्रतिशत सहमत छन् नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा आफ्नो संस्थाका कुशल, इमान्दार र मिहिनेती नेतृत्वकर्ता उनीहरुले गुमाएका छन् ।

प्राधिकरणका बरिष्ठ अधिकारीहरु वीरेन्द्रप्रसाद श्रेष्ठ र ध्रुव भोछिभयाको निधनलाई विश्वास गर्नै गाह्रो भइरहेको छ, त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीलाई । उनीजस्तै प्राधिकरणका सयौं कर्मचारी र उनीहरुलाई चिन्नेहरु पनि यसै भन्छन् ।

पछिल्लो तीन वर्षमा १० वटा आन्तरिक विमानस्थल कालोपत्रे भए । केही आन्तरिक विमानस्थलमा रात्रीकालीन सेवा उडान भर्न मिल्ने गरी सुधार गरिए । त्रिभुवन विमानस्थलमा पार्किङ क्षेत्र थप्ने र धावनमार्ग पुनस्र्थापना गर्नेदेखि टर्मिनल भवनलाई विस्तार गर्नेसम्मका योजना अघि बढे । यी लगायत थुप्रै उड्डयन क्षेत्रका प्रमुख योजना निर्माता र नेतृत्वकर्ता श्रेष्ठ र भोछिभयाले बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्युवरण गरे ।

उड्डययन क्षेत्रको विकासका लागि लाग्दालाग्दै कामकै सिलसिलामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै प्राधिकरणका श्रेष्ठ र भोछिभया पनि अस्ताए । उनीहरु दुबै प्राधिकरणका मुख्य निर्देशनालय र विभागको नेतृत्वकर्ता हुन् ।

०७१ फागुन २० मा २२७ जना यात्रु सवार टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट घाँसे मैदानमा जोतिएर दुर्घटना हुँदा त्रिभुवन विमानस्थलका निमित्त महाप्रवन्धक थिए वीरेन्द्रप्रसाद श्रेष्ठ ।

अन्तर्राष्ट्रिय उडान-अवतरण नै रोकिएको त्योबेला नेपालको नागरिक उड्डयन इतिहासकै सबैभन्दा चुनौतिपूर्ण घडी थियो, यस्तो समयमा लगातार तीन दिन मिहिनेत गरेर विमानस्थलको अवरोध हटाएका थिए, श्रेष्ठ र उनको टिमले ।

काभ्रेको बनेपा निवासी ध्रुव भोछिभयाले केही वर्षदेखि प्राधिकरणभित्र इन्जिनिरिङ सिभिल इन्जिनियरिङ क्षेत्रको नेतृत्व गरिरहेका थिए । उड्ड्यन प्राधिकरणले आफ्ना दुई दरिलो खम्बा गुामाएको बताउँछन् उनका सहकर्मी निर्देशक प्रदीप अधिकारी ।

श्रेष्ठ र भोछिभया दुबै आ-आफ्नो क्षेत्रमा विज्ञ थिए, त्यसैले दुई बरिष्ठ प्राविधिक अधिकारीको मृत्युको क्षतिपूर्ति तत्कालै हुन नसक्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

‘यो प्राधिकरणलाई मात्र हैन, सिंगो देशलाई नै भएको क्षति हो,’ निर्देशक अधिकारी भन्छन्, ‘उड्डयन क्षेत्रको समग्र विकास योजना तथा बजेट बनाउने र योजनालाई कार्यान्वयन गर्ने मुख्य र फरक-फरक जिम्मेवारी बोक्नुभएका प्राधिकरणका दुई धरोहरहरु अवसानले अपुरणीय क्षति भएको छ ।’

महानिर्देशकको दाबेदार थिए श्रेष्ठ

प्राधिकरणका उपमहानिर्देशक श्रेष्ठ नेपालको हवाइ सुरक्षाका विज्ञमध्ये एक थिए । उनी सुरक्षा उपकरणहरुबारे प्राधिकरणमै सबैभन्दा धेरै ज्ञान भएका व्यक्तिभित्र गनिन्थे ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार श्रेष्ठ प्राधिकरणमा रेडियो टेक्निकल अफिसरका रुपमा प्रवेश गरेका थिए । हल्ला नगरी काम गर्ने र समयमै नतिजा दिने स्वाभाव थियो श्रेष्ठको ।

उनी सुरुबाटै प्राधिकरणको हवाइ सञ्चार (कम्युनिकेशन) र पथप्रदर्शन (नेभिगेशन) को परियोजना हेर्थे । देशभरका आन्तरिक एयरपोर्टहरुमा आधुनिक सञ्चार तथा पथप्रदर्शक उपकरण जोड्दा उनले नै नेतृत्व गरेका थिए । विमानस्थलको प्राविधिक पक्षलाई सुधार गर्न उनको सँधै जोड हुन्थ्यो ।

यन्त्र उपकरणहरु जडान गर्दा आफैं फिल्डमा पुग्थे, उनी आफैं कामदार भएरै काम गर्थे । आफ्नो विज्ञतालाई उनले प्राधिकरणमा गज्जबसँग दर्शाएका थिए ।

श्रेष्ठको परिवार भक्तपुर स्थायी घर भए पनि कोटेश्वरमा बस्दै आएको छ । श्रेष्ठले त्रिभुवन विमानस्थलमा पनि निमित्त महाप्रवन्धकका रुपमा काम गरे । उनले नै त्यहाँ रहँदा विमानस्थलको टर्मिनल भवनको स्तरोन्नति गर्ने योजना तयार गरेका थिए । त्यसअनुरुप काम गर्न हाल काम सुरु हुन लागेको छ ।

यस्तै उनकै कार्यकालमा विमानस्थलको ४० वर्षदेखि हुन नसकेको धावनमार्ग पुनस्र्थापनाको योजना तयार भएको थियो ।

पछिल्लो समयमा श्रेष्ठ प्राधिकरणको कर्पोरेट निर्देशनालयका प्रमुख थिए । प्राधिकरणले योजना निर्माण तथा बजेटिङ र मूल्यांकन लगायतमा उनले नेतृत्व लिन्थे । आगामी जेठबाट हालका महानिर्देशक सञ्जीव गौतमको अवकाश हुन लाग्दा श्रेष्ठ पनि महानिर्देशक पदको बलियो दाबेदारमध्ये एक थिए ।

श्रेष्ठ प्राधिकरणको प्रवक्ता थिए, त्यसैले सञ्चारकर्मीका माझमा पनि उनी निकै प्रिय थिए ।

‘इन्जिनियरका पनि इन्जिनियर’ भोछिभया

पुर्ख्यौली घर बनेपा भई बागबजार बस्दै आएका भोछिभया पनि प्राधिकरणका अर्का एक खम्बाका रुपमा थिए । पर्यटनमन्त्री रविन्द्र अधिकारीले तेह्रथुममा गरेको अन्तिम भाषणमा भोछिभयालाई ‘इन्जिनियरका पनि इन्जिनियर’ रुपमा चिनाएका छन् । मन्त्री अधिकारीले उनलाई नै लिएर आएपछि चुहानडाँडामा विमानस्थल बन्नेमा आशंका नगर्न सर्वसाधरणलाई भनेका थिए ।

हुन पनि भोछिभया नागरिक उड्डयनतर्फको सिभिल इन्जिनियङमिा विज्ञता हासिल गरेका व्यक्ति हुन् । प्राधिकरणका सिभिल इञ्जिनियरकै पदमा सेवा प्रवेश गरेका भोछिभया प्राधिकरणको आन्तरिक विमानस्थल हेर्ने निर्देशक हुन् । उनी इञ्जिननियरिङ विभागमा प्रमुख भएकाले उड्डयन प्राधिकरणका इञ्जिनियरहरुका उनी ‘गुरु’ नै थिए ।

उनैको नेतृत्वमा देशभरका विमानस्थलको निर्माण, मर्मत, सुधार र व्यवस्थापनको काम हुने गरेको थियो । निर्देशक अधिकारीहरुका अनुसार उनी एक कुशल व्यवस्थापक पनि थिए ।

एयरपोर्ट आवश्यकताका अधारमा बन्नुपर्छ भन्ने अडान लिने भोछिभायाले यसअघि विभिन्न पर्यटनमन्त्रीले जथाभावी एयरपोर्ट निर्माणका लागि गरेका प्रस्ताव अस्वीकार समेत गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

सँधै हाँसिरहने स्वभावका भोछिभया दुई महिनापछि नै प्राधिकरणबाट अवकाश लिँदै थिए । भोछिभयाले राजविराजसहितका विभिन्न आन्तरिक विमानस्थललाई पुर्नजीवन दिएका थिए ।

इञ्जिनियरिङ विभागको नेतृत्व गरेको छोटो समयमै १० वटा विमानस्थलको कालोपत्रे गराउने कामको नेतृत्व गरेका भोछिभया मिडियामाझ आउन रुचाउँदैन थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment