२३ फागुन, विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारले सहमति अनुसार काम नगरेका कारण समर्थन फिर्ता लिएको बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महताले सरकारले सहमति अनुसार काम नगर्दा फिर्ता लिएको बताएका हुन् ।
कैलालीको टीकापुर घटनामा राजपाबाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएपछि राजपाले बुधवार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
अध्यक्ष मण्डलका सदस्य सरदसिह भण्डारी, महेन्द्रराय यादबसहित विमानस्थलमा उत्रिएका महताले फैसलाको बिरोध गर्दै अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्ने बताए ।
मधेसी जनताको विरोधका बाबजुत संविधान जारी भएको बताउँदै उनले संघर्षका लागि सरकारको समर्थन फिर्ता लिएको बताए ।
मधेसी जनतालाई सरकारले अन्याय गरेको बताउँदै उनले रेशमलाल चौधरीलाई जन्मकैद फैसलाको बिरोध गर्ने बताए । राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद फैसला हुनु गलत भएको महतोको दावी छ ।
राजपा अध्यक्ष मण्डलका नेता सरदसिह भण्डारीले मधेशका मुद्दा सम्बोधन गर्न सरकारले चासो नदिएका कारण समर्थन फिर्ता लिएर संघर्षमा उत्रिने बताए ।
सरकारले एक वर्षको अवधिमा अपराध र भ्रष्ट्रचार बढाएको उनको आरोप छ ।