Comments Add Comment

भद्रगोलबाट बाहिरिएको टिमले नयाँ सिरियल ल्याउँदै

नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो २ असोजबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन ।

भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेको हो । उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ । अनलाइनखबरसँगको कुराकानीमा घिमिरेले एक-दुई दिनमा पत्रकार सम्मेलन गरेर नाम सार्वजनिक गर्ने बताए ।

‘हाम्रो सबै तयारी पूरा भइसकेको छ, भद्रगोलकै पात्रहरु र कथावस्तुमा आधारित भएर टेलिश्रृंखला निर्माण गर्दैछौं,’ उनले भने । उनले नेपाल टेलिभिजनसँग प्रत्येक विहीबारको समय आफूहरुले खरिद गरिसकेको जानकारी दिए ।

भद्रगोलको ट्रेडमार्क भने मिडिया हबसित छ । उसले पुरानै भद्रगोलको प्रशारणलाई पुनः निरन्तरता दिइसकेको अवस्थामा त्यसकै प्रमुख पात्रहरु अर्को सिरियलमा बसाइ सर्न लागेका हुन् । यसरी एउटै ‘थिम’मा दुई सिरियल प्रशारण हुने भएका छन् ।

यस सम्वन्धमा घिमिरेे भन्छन्, ‘उहाँहरु र हामीले अलगअलग कथा लेख्ने भएकाले जुध्ने भन्ने प्रश्नै आउँदैन ।’ उनले सिरियलको नाममा कपिराइट लागे पनि पात्रहरुमा भने नलाग्ने दावी गरे ।

‘भद्रगोलका सबै पात्रहरु हामीले नै जन्माएका हौं । यदि पात्रहरुमा पनि कपिराइट लाग्ने हो भने त धुर्मुस, माग्नेबुढा, तक्मेबुढा, मुन्द्रलगायत कसैले पनि आफूले जन्माएको चरित्रलाई निरन्तरता दिन सक्ने थिएनन्,’ उनले भने ।

साथै भद्रगोलको नयाँ एपिसोडमा आफूहरुले बनाएको पुरानो एपिसोडको क्लिपहरु जोडिएकोमा पनि घिमिरेले आपत्ति जनाए । उनले भने, ‘उहाँहरुले पुरानोकै निरन्तरता हो भन्ने भान पार्न खोज्नुभएको होला । तर, दर्शक झुक्किनेवाला छैनन् ।’

बल्छी र राजुको सिरियल आजबाट

यसैबीच मिडिया हबले नेपाल टेलिभिजनबाटै नयाँ हास्य टेलिश्रृंखला प्रशारण सुरु गर्दैछ । केही समयअघि ‘मेरी बास्सै’ बाट बाहिरिएका राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले ‘हल्का रमाइलो’ नाममा उक्त टेलिश्रृंखला निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment