Comments Add Comment

सरकार भन्छ– डेंगुबाट अहिलेसम्म ४ जनाको मृत्यु, २६०० संक्रमित

२३ भदौ, काठमाडौं । डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको सरकारले जनाएको छ । देशभर डेंगुको प्रकोप फैलिएको समाचार आइरहेका बेला सरकारले भने डेंगुकै कारण मृत्यु भएको आधिकारिक संख्या चार मात्र रहेको बताएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको निधन भएको बताए । यद्यपि, ती चारको पनि डेंगुबाटै हो वा होइन भन्ने अझै परीक्षण भइरहेको श्रेष्ठले बताए ।

महाशाखाका अनुसार देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको छ । तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना छन् । त्यस्तै, प्रदेश १ का ७५३ मा डेंगुको आशंका गरिएको छ ।

प्रदेश २ मा २३, गण्डकी प्रदेशमा ५७२, प्रदेश ५ मा १०५, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण देखिएको छ । यो तथ्यांक सरकारी अस्पतालमा भर्ना भएका बिरामीहरूको मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment