Comments Add Comment

मुस्कानका पिताको माग : एसिड हान्नेलाई झुण्ड्याइयोस्

आमा भन्छिन्- बाथरुममा ऐना देख्दा छोरीका आँशु झरे

२१ भदौ, काठमाडौं । वीरगञ्ज निवासी मुस्कान खातूनका आमाछोरी अरु दिनजस्तै शुक्रबार पनि एकाबिहानै उठे । नित्यकर्म सकेर दुबैले सँगै नमाज पढे ।

अरुबेला छोरीलाई स्कुल पुर्‍याउन सहनाज आफैं जाने गर्थिन् । शुक्रबार उनलाई सञ्चो भएन । छोरीलाई एक्लै स्कुल जान भनिन् । मुस्कान एक्लै जान मानिनन्, भाइलाई लिएर गइन् ।

सञ्चो नभएकाले सहनाज ओछ्यानमा पल्टिएकी थिइन् । बुबा रसुल अन्सारी कामको थकानले बिहान अलि ढिलो उठ्ने गर्छन् ।

आल्मुनियमको झ्यालढोका बनाउने व्यवसाय गर्दै आएका रसुल ओछ्यानमै रहेका बेला मोबाइलमा घन्टी बज्यो । मुस्कानलाई एसिड प्रहार भयो भन्ने खबरले उनी अक्क न बक्क भए । आमा सहनाजले फोनको वार्तालापबाटै छोरीमाथि विपत्ति आइलागेको थाहा पाइन् । बिसञ्चो शरीर लिएर सहनाज खाली खुट्टै भक्कानिँदै नारायणी अस्पतालमा पुगिन् । रसुल एउटा हातको पाखुरामा सर्ट घुसारेर अस्पताल पुगे । अस्पतालमा छोरीको हालत देखेर दुबै बेहोस भए ।

बेटी पढाउन भन्दा बचाउन गाह्रो

६ महिना जति भयो होला, स्कुल आउजाउ गर्दा गणेशमानचोकमा वीरगञ्ज, छप्कैयाका १६ वषर्ीय माजिद आलम नाम गरेका केटाले जिस्क्याउने गरेको गुनासो मुस्कानले आमासमक्ष गरेकी थिइन् । सहनाजले श्रीमानलाई यो कुरा सुनाएकी थिइन् ।

स्कुल आउजाउमा समस्या भएको छोरीको गुनासोपछि रसुलले आलमलाई भेटेर सम्झाएका रहेछन् । सम्झाउने क्रममा रसुलले आलमलाई एक लबटो पनि हानेका रहेछन् ।
दुई दिनअघि मात्र रसुलले छोरीसँग यसबारे सोधेका थिए । मुस्कानले समस्या नभएको बताएकी थिइन् । तर त्यसको दुई दिनपछि तिनै व्यक्तिको योजनामा वीरगञ्ज-२ छप्कैया बस्ने १६ वर्षीय सम्साद मियाँले एसिड प्रहार गरेको पीडित परिवारको भनाइ छ ।

छोरी स्कुल हिँडेको १० मिनेटपछि मुस्कानमाथि एसिड प्रहार भयो । मुस्कानका पछिपछि भाइ थिए ।

रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत मुस्कान शुक्रबार बिहान करिव ६ बजेतिर गणेशमान चोक जाने गल्लीमा पुगेपछि सैलुनमा बसेका एकजना केटाले यता हेर त भने । त्यता नहेरी मुस्कान हिँडिरहिन् ।

तर एक्कासी ती किशोरले जगबाट एसिड हृवात्तै फाले । मुस्कानले दुबै हातले झोला समाएर अनुहार छेक्ने प्रयास गरिन् । तर, एसिड उनको दाहिने पट्टकिो अनुहारको भागमा पर्‍यो । एसिडले उनका दुबै हात, छाती र अनुहारको दाहिने भागमा पोल्यो । एसिडको जलनले मुस्कान छट्पटाई रहँदा उनीहरुसँगै पढ्न आउने साथीले उद्धार गरेर तत्कालै नारायणी अस्पताल पुर्‍याए ।

एसिड फाल्ने बेलामा देखेको अनुहार नौसाद भन्ने उनले ठम्याएकी थिइन् ।

एसिड प्रहार गर्ने कार्यमा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरिसकेको छन् । एसिड छ्याप्ने वीरगञ्ज-२ छप्कैयाका १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पहिला पक्राउ गर्‍यो । केही समयपछि एसिड प्रहारका योजनाकार रहेका सोही ठाउँका १६ वर्षीय माजिद आलमलाई पनि प्रहरीले पक्राउ गर्‍यो ।

दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । प्रेम प्रस्ताव स्वीकार नगरेका कारण मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी शर्माले बताए ।

मुस्कान छर्ने छोरीका आँखाभरि आँशु

रसुल र सहनाजकी माइली छोरी हुन् मुस्कान । १७ वर्षकी जेठी छोरीको विवाह भइसकेको छ । १४ वर्षीया माइली छोरी मुस्कान नै आमा-बुबाको अनुहारमा मुस्कान ल्याउने छोरी थिइन् ।

मुस्कान मुनिका १२ वर्ष र ८ वर्षका दुई छोरा र ५ वर्षकी एक छोरी छन् । आमा र बुबाको दुःखलाई राम्रो सँग बुझेकी मुस्कानको पढाइ पनि राम्रो थियो । पढाइ राम्रै भएका कारण रसुल र सहनाजले मुस्कानलाई धेरै पढाउने सपना देखेका छन् ।

मुस्कानले पनि १२ कक्षा पास गरेपछि जागिर खाएर बुबाको आर्थिक भार कम गर्ने कुरा आमाबुबालाई सुनाउने गर्थिन् । परिवारमै मुस्कान छर्ने छोरीका आँखाभरि आँशु पिलपिल भइरहँदा रसुल र सहनाजको मन विक्षिप्त बनेको छ ।

शनिबार बिहान छोरीलाई बाथरुम लिएर जाँदाको नरमाइलो क्षण सुनाउँदै सहनाजले भनिन्, ‘बाथरुममा ऐना रहेछ, छोरीले अनुहार हेरिन्, अनुहारमा एसिडले जलेको भाग देखेपछि उनी भक्कानिइन् । बरर आँशु झरे ।’

छोरीको उपचारका लागि रसुलसँगै उनी पनि अस्पतालमै छन् । ‘हुकर्ंदै गरेकी छोरीमाथि यस्तो नराम्रो घटना भयो, अब के हुने हो, सोच्न सकेकी छैन ।’

‘एसिड हान्नेलाई झुण्ड्याइयोस्’

आल्मुनियमको झ्यालढोका बनाएर पाँच छोराछोरीसहित ७ जनाको परिवार धानेका रसुल छोरीलाई यो अवस्थामा पुर्‍याउनेलाई हदैसम्मको सजायँ हुनुपर्ने माग गर्छन् । संविधानले मृत्युदण्डको कानुन बनाउन दिएको छैन । तर, मुस्कानका पिताको माग एसिड प्रहार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने माग छ ।

मुस्कानका पिता भन्छन्, ‘मेरी छोरीलाई एसिड फ्यालेर कुरुप बनाउनेलाई जन्मकैदको सजायँ हुनुपर्छ । कि त झुण्ड्याउने व्यवस्था हुनुपर्छ । जेलबाट फेरि समाजमा आयो भने अन्य छोरीहरुले पनि यस्तै नियति भोग्नुपर्ने हो कि ?

आफ्नो जीवन बर्बाद गर्नेलाई कडाभन्दा कडा कारवाही गरेर आˆनो आत्मालाई शान्ति दिलाउन मुस्कानले माग गरेकी छिन् । एसिडले पोल्दा कस्तो हुन्छ भन्ने अपराधीलाई महसुस गराउनुपर्ने उनको माग छ ।

एसिड प्रहार गर्ने व्यक्तिसँग मुस्कानले अहिलेसम्म एकै वचन कुराकानीसम्म नगरेको आमा सहनाज बताउँछिन् ।

काठमाडौंमा उपचार गरिँदै

मुस्कान खातुनको उपचार अहिले काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका रसुललाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । छोरीको उपचार प्रक्रिया लामो हुने भएकोले यति नै खर्च लाग्छ भनेर यकिन गर्ने अवस्था नरहेको उनले बताए ।

अहिलेसम्म सरसापट गरेको पैसाले उपचार गराइरहेको उनले बताए । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले एम्बुलेन्सको व्यवस्था गरेर छोरीलाई कीर्तिपुर अस्पतालसम्म ल्याएका रसुल उपचार खर्च जुटाउनेबारे अलमलमा छन् ।

उनी आफ्नी छोरीको उपचारको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । विद्यालय जाने छोरीको सुरक्षा सरकारले गर्न नसकेको भन्दै उनले मुस्कानजस्तै धेरै छोरीहरुको सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

मुस्कानको उपचारका लागि सांसद प्रदीप यादवले तत्कालै ५० हजार उपलब्ध गराएको उनले बताए । प्रदेश २ सरकारले पनि मुस्कानको उपचारका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेको भए पनि यसबारे आफूले मिडियाबाट मात्र जानकारी पाएको उनले बताए ।

डाक्टर भन्छन्- उपचार प्रक्रिया लामो हुन्छ

एसिडका कारण मुस्कानको दाहिने अनुहारको भाग, दुबै हात र छाती जलेको उनको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

एसिडको असर लामो हुने भएकाले २/४ दिनपछि मात्रै घाउको गहिराई हेरेर थप उपचार प्रक्रया अघि बढाइने डा. शंकरमान राईले अनलाइनखबरलाई बताए ।

एसिडको असरलाई तत्काल रोक्न नसकिने भएकाले यसले बढी मात्रामा मांशपेशीमा भएका तन्तुहरुलाई असर गर्ने उनले बताए । एसिडका कारण ४० प्रतिशत भन्दा धेरै अंग जलेको मानिसलाई बचाउन मुस्किल पर्ने चिकित्सकहरु बताउँछन् । ‘एसिडको असर फैलिएर संवेदनशील अंगमा पुग्ने जोखिम पनि त्यतिकै हुन्छ,’ डा. राई भन्छन्, ‘त्यसैले थप उपचारका लागि २/४ दिन पर्खनैपर्छ ।’

६ महिनामा दुईजनामाथि एसिड प्रहार

०७६ सालयता ५ महिनामा एसिड आक्रमणका दुई घटना सार्वजनिक भएका छन् । दुबै घटना महिलामाथि नै भएका हुन् ।

गत जेठ १ गते बुधबार राति काठमाडौंको कालोपुलमा २२ बषर्ीया युवतीमाथि आफ्नै श्रीमानले एसिड प्रहार गरेका थिए । श्रीमानलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । त्यसको चार महिनापछि गत भदौ २० गते शुक्रबार विहान वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा मुस्कानमाथि एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताए पनि पीडित परिवारले भने कुराकानी नै नभएको किशोरले विनाकारण एसिड प्रहार गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment