News Summary
Generated by OK AI. Editorially reviewed.- ‘बिग बोस २०’ को सेटमा मोहित चौहानले सलीम खानको पुरानो गीत गाएपछि सलमान खान आफ्ना पिता सम्झँदै आँसु थाम्न सकेनन् ।
- शोमा गायक मोहितले आफू सलमानभन्दा पनि सलीम खानको ठूलो फ्यान भएको बताएपछि भावुक माहोल बनेको थियो ।
- दिवाली विशेष एपिसोडमा कमेडियन गौरव गुप्ताको रोस्टमा लभ गिल र स्काउट ओपीबीच विवाद भयो, भने मनीष गोयल बाहिरिने चर्चा छ ।
बलिउड अभिनेता सलमान खान सामान्यतया आफ्ना भावना खुलेर व्यक्त गर्दैनन् । तर, कहिलेकाहीँ कुनै गीत वा पुरानो सम्झनाले उनलाई पनि भावुक बनाउँछ ।
हालै टेलिभिजन रियालिटी शो ‘बिग बोस २०’ को सेटमा यस्तै दृश्य देखियो, जहाँ सलमानले आफ्ना पिता सलीम खानको नाम सुन्नासाथ आँसु थाम्न सकेनन् ।
शोमा अतिथिका रूपमा आएका गायक मोहित चौहानले सलमानसँगको कुराकानीका क्रममा एउटा यस्तो प्रसंग निकाले, जसले उनलाई भावुक बनायो ।
मोहितले सुरुमा भने, ‘म तपाईंको धेरै ठूलो फ्यान हुँ ।’ सलमानले उनलाई धन्यवाद दिए ।
तर, मोहितले त्यसपछि थपे, ‘तर म त्यसभन्दा पनि ठूलो फ्यान तपाईंका बुबाको हुँ ।’
मोहितको यो भनाइ सुनेर सलमान मुस्कुराए । त्यसपछि मोहितले सलीम खानले अभिनय गरेको पुरानो फिल्म ‘बचपन’ को गीत गाउन थाले ।
सन् १९६३ मा रिलिज भएको उक्त फिल्मको ‘मुझे तुमसे मोहब्बत है, मगर मैं कह नहीं सकता…’ बोलको गीत मोहम्मद रफीले गाएका थिए । मोहितले त्यही गीत गाएर सलीम खानको पुरानो अभिनय यात्रालाई सम्झिए ।
बुबासँग जोडिएको पुरानो गीत सुनेपछि सलमान भावुक बने । उनको आँखाबाट आँसु झरे । सेटमा उपस्थित अन्य व्यक्तिका लागि पनि त्यो क्षण भावुक बन्यो ।
सलिम खानले अभिनय गरेका थिए
आज बलिउडका सफल पटकथा लेखकका रूपमा चिनिने सलीम खानको सुरुवाती यात्रा भने अभिनयबाट सुरु भएको थियो । उनले सन् १९६० मा रिलिज भएको फिल्म ‘बारात’ बाट अभिनेताका रूपमा करियर सुरु गरेका थिए ।
तर, सुरुवाती फिल्मबाट अपेक्षित सफलता नपाएपछि उनले अभिनयभन्दा लेखनतर्फ आफ्नो यात्रा अघि बढाए । त्यही क्रममा उनले सन् १९६३ मा फिल्म ‘बचपन’ मा अभिनय गरेका थिए ।
उक्त फिल्ममा हेलनले पनि सानो भूमिका निर्वाह गरेकी थिइन् । पछि सलिम खान र हेलनले विवाह गरेका थिए ।
सलीम खानले पछि जावेद अख्तरसँग मिलेर बलिउडमा सफल पटकथा लेखनको इतिहास बनाए । ‘शोले’, ‘दीवार’ र ‘जन्जीर’ जस्ता चर्चित फिल्मको पटकथा यही जोडीले लेखेको थियो ।
बिग बोसको सेटमा लभ गिल र कमेडियनबीच विवाद
बिग बोसको दिवाली विशेष एपिसोडमा मोहित चौहान मात्र अतिथि थिएनन् । यसअघि कमेडियन गौरव गुप्ता पनि शोमा पुगेका थिए । उनले घरभित्रका प्रतिस्पर्धीलाई आफ्नो व्यंग्यात्मक शैलीमा रोस्ट गरेका थिए ।
यस क्रममा उनले स्काउट ओपी र लभ गिलबीचको विवादास्पद मसाज प्रसंगलाई पनि आफ्नो कमेडीको विषय बनाए । तर, गौरवको मजाक लभलाई मन परेन ।
उनले तत्कालै आपत्ति जनाउँदै कमेडियनसँग बहस गर्न थालिन् ।
लभले निजी विषयलाई मजाक बनाएको भन्दै असन्तुष्टि जनाइन् । त्यसपछि स्काउट ओपी पनि गौरवको आलोचनामा उत्रिए ।
यद्यपि, गौरवले अन्य प्रतिस्पर्धीलाई रोस्ट गर्दा भने घरभित्र हाँसो र रमाइलोको माहोल बनेको थियो । गौरव र मोहितबाहेक करण जोहर, शनाया कपूरलगायतका अतिथि पनि शोमा सहभागी भइसकेका छन् ।
मनीष गोयलको यात्रा टुंगिने सम्भावना
‘बिग बोस २०’ मा प्रतिस्पर्धा पनि उत्तिकै रोचक बन्दै गएको छ । अहिलेसम्म रोहेद खान, ईशा रिखी, रिती तिवारी, अमन गान्धी र मेरी कम शोबाट बाहिरिसकेका छन् ।
गत साता अभिनेता आसिफ खान कम भोट पाएपछि शोबाट बाहिरिएका थिए । यस साता भने अभिनेता मनीष गोयलको यात्रा टुंगिन सक्ने चर्चा छ ।
प्रतिक्रिया 4