Comments Add Comment

‘राष्ट्रियगानको निर्देशन दिनेहरु पशुपतिमा आरती हेर्न जानुस्’

आर्यघाटमा आरती र राष्ट्रिय गानको अन्तरकथा

२२ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनपछि पशपुति मन्दिर परिसरमा आरती शुरु हुनुपूर्व राष्ट्रिय गान गाउन थालिएको छ । तर, धेरैलाई यो मन परेको छैन ।

नजिकै घाटमा शवहरु जलिररहेका बेला छेवैमा राष्ट्रिय गान किन गाउनुपर्‍यो भन्ने प्रश्न धेरैले गरेका छन् । पर्यटनमन्त्री भट्टराई पनि यो तर्क नाजायज नभएको बताउँछन् ।

तर, मन्त्री भट्टराई भन्छन्, ‘राष्ट्रिय गान नगाउँदा पनि त्यहाँ आरती भइरहेको थियो । तलतिर शव पनि जलिरहेकै हुन्थ्यो । आरती एक प्रकारले उत्सव नै हो । त्यसैले आरतीको पार्ट अलग हो, तलको दुःख अलग्लै पार्ट हो । दुबैलाई एक ठाउँमा राखेर हेर्न भएन ।’

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डन भने यस्तो तर्क गर्नेहरुलाई एकपटक आरती हेर्न जान सुझाव दिन्छन् । किन ? भन्ने प्रश्नको जवाफ दिनुपूर्व टण्डनले आरती गर्ने ठाउँको अवस्थितिको चर्चा गरे ।

टण्डनका अनुसार साँझको आरती गर्ने ठाउँको तल्लोपट्टि अर्धजल दिने ठाउँ छ । त्यसैको पारिपट्टि घाट छ । कुनै पनि मानिस जीवनको अन्तिम अवस्थामा पुगेको छ भने गोडा बाग्मती नदीमा डुवाएर मुखमा पशुपतिको जल खुवाउन अर्धजल दिने ठाउँमा राखिन्छ । त्यसैको पारि एक र दुई नम्बरको घाट छ ।

‘कुनै व्यक्ति जीवनको अन्तिम क्षणमा भएका बेला होस् वा चितामा जलिरहेको अवस्थामा होस्, आफन्तजन शोकाकुल अवस्थामा हुन्छन्,’ पूर्वसदस्य सचिव टण्डन भन्छन्, ‘त्यहीबेला आरती गर्नुपूर्वको राष्ट्रिय गान बज्यो भनेर के गर्ने ?’

जब कि राष्ट्रिय गान बजेका बेला सबैजना उभिएर दायाँ हात देब्रे छातीमा राखेर राष्ट्रप्रति सम्मान प्रकट गर्ने गरिन्छ । ‘राष्ट्रिय गान बजेपछि अब ती मानिसहरु रुन छोडेर उभिन सक्छन् ?,’ टण्डन भन्छन्, ‘यसरी राष्ट्रगानको महत्व बढ्दैन ।’

ठूलो विषय नबनाऔंं : मन्त्री

आरती अगाडि राष्ट्रिय गान बजाउन थालेपछि आएका प्रतिक्रियाहरुबारे मन्त्री भट्टराई बेखबर रहेनछन् । शनिबार मन्त्रालयका भेटिएकाले उनले आफ्नो निर्णयबारे विभिन्न माध्यमबाट आएका प्रतिक्रियाहरु हेरिरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘यसलाई ठूलो बहस र छलफलको विषय बनाइराख्न जरुरी छैन । अभ्यास गरेर हेरौं, प्रतिक्रियाहरु पनि हेरौं । त्यसपछि पनि उपयुक्त निर्णय गर्न सक्छौं ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराई पशुपतिमा राष्ट्रिय गान गाउनुपर्ने निर्णयमा किन पुगे ? अनलाइनखबरसँगको कुराकानीमा उनले किन यो निर्णयमा पुगियो भन्ने पनि सुनाए ।

मन्त्री भएपछि पशुपतिमा आरती अगाडि राष्ट्रिय गान गाउनुपर्छ भन्दै थुप्रै एसएमएसहरु मन्त्री भट्टराईले सुनाए । उनले भने, केही जानकारहरुलाई प्रचलन के छ भनेर सोध्दा अधिकांशले स्वाभाविक हो, गर्न सकिन्छ, यसमा आपत्ति गर्न जरुरी छैन भन्नुभयो ।’

पशुपतिमा हुँदै आएको आरती धेरै आकर्षक हुने र त्यसलाई हेर्न मात्र हजारौं मानिस पुग्ने गरेको भन्दै मन्त्री भट्टराईले भने, त्यस्तो ठाउँमा राष्ट्रिय गान बजाएर आरती सुरु गर्नु उपयुक्त हुन्छ भन्ने नै मेरो विश्लेषण हो ।’

कसरी सुरु भएको पशुपतिमा आरती ?

पशपुतिनाथको मन्दिरभित्र आरती स्थापनाकालदेखि नै हुँदै आएको छ । बाहिर बाग्मती नदी किनारमा आरती सुरु भएको १२ वर्ष पूरा भएको छ ।

कोषका पूर्वसदस्य सचिव टण्डनकाअनुसार आरती सुरु गर्ने श्रेय हरिद्धार ऋषिकेशस्थित परमानन्द आश्रमका मुनीजी महाराजलाई जान्छ । उनले घाटको महत्व बढाउन त्यहाँ करिव २०/२५ वर्ष अगाडि आरती सुरु गरेका थिए । यसले पर्यटकलाई समेत आकर्षित गर्न थाल्यो । त्यसपछि बनारसमा पनि यस्तै आरती सुरु भयो ।

बनारसको आरती हेरेर आएका नेपालीहरुलाई पनि पशुपतिनाथमा यस्तो सुरु गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । नभन्दै, मानसरोवर जान नेपाल आएका बेला मुनीजी महाराज आफैं पशुपति क्षेत्र पुगे र सरसामाग्री प्रदान गरेर आरती सुरु गराए ।

तर, मुनीजीले चलाएको आरती यो धेरै दिन चल्न सकेन । टण्डन भन्छन्, ‘आरतीका लागि तेलदेखि थुप्रै सामाग्री चाहिन्छ, त्यो खर्च जुटाउन नसकेपछि आफैं बन्द भयो ।’

रमेश पोखरेल, धर्मबहादुर बुढाथोकी लगायतका कलाकार बनारस पुगेका बेला आरती हेरेपछि फेरि प्रयास सुरु भयो । पशुपति आरती समिति नै बन्यो र फेरि सुरु भयो ।

टण्डनका अनुसार त्यसबेला पशुपति क्षेत्र विकास कोष आफैंले आरती गर्ने कि बाहिरबाट ? घाटमा मानिस जलिरहेका बेला किन आरती भन्ने बहस नभएको होइन ।

तर, आरती चलिरह्यो । ८ वर्ष अगाडि समितिले अक्षयकोष बनाएपछि खर्चको पनि अभाव हुन छाड्यो । अहिले त कोषमा जम्मा भएको रकमको ब्याजले नै आरती सामाग्री, आरती गर्ने तीनजना कर्ता र सहयोगीको खर्च सबै पुग्ने गरेको टण्डन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment