
News Summary
Generated by OK AI. Editorially reviewed.- साउनको पहिलो सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर अनुगमन गरेका छन्।
- मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी र अन्य निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको अनुगमन गरेका हुन्।
- यस वर्ष साउनको पहिलो सोमबार दिउँसो २ बजेसम्म करिब १ लाखभन्दा बढी भक्तजनले पशुपतिनाथ दर्शन गरिसकेका छन्।
५ साउन, काठमाडौं । साउनको पहिलो सोमबारका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर अनुगमनमा पुगेका छन् ।
धार्मिक आस्थाका दृष्टिले महत्त्वपूर्ण साउन महिनाको सोमबार शिवभक्तका लागि विशेष दिन मानिन्छ । पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनको भीड लाग्छ ।
अनुगमनमा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरे ।
उनले दर्शनार्थीसँग समेत कुराकानी गरे । दर्शनार्थीले पनि छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएको प्रति मन्त्री पाण्डेको प्रशंसा गरे ।
यस वर्ष साउनको पहिलो सोमबार दिउँसो २ बजेसम्म करिब १ लाखभन्दा बढी भक्तजनले पशुपतिनाथ दर्शन गरिसकेका छन् । भक्तजनको सहज आवागमनका लागि गौशाला र तिलगंगासम्म सटल बस सेवा सञ्चालनमा ल्याइएको छ, जसले पैदल यात्रुलाई राहत दिएको छ ।
अनुगमन क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई सक्रिय रहन निर्देशन समेत दिए ।
साउन महिनाभरि प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका सम्झनामा लगाइएको पितृमुक्ति ज्ञान महायज्ञमा समेत सहभागी भए ।
प्रतिक्रिया 4