+
+
Shares
विचार :

यसरी बढाऔं नयाँ नेपालको यात्रा

जेन-जीलाई जेन-वाई र एक्सको सहारा

परिवर्तनका एजेन्डा सुनिश्चित नगर्ने हो भने इतिहासले जेन–जी, जेन-वाई र जेन-एक्सलाई कठोर समीक्षा गर्नेछ। बलिदानीको फल भनेको दिगो परिवर्तन हुनुपर्दछ, अस्थायी राजनीतिक बदली होइन।

केशव भट्टराई केशव भट्टराई
२०८२ असोज ६ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौ २०८२ मा भएको जेन-जी आन्दोलनले देशको राजनीतिक संरचना पल्टायो र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए।
  • आन्दोलनका क्रममा काठमाडौं र इटहरीमा २१ युवा शहीद भए र सिंहदरबार, संसद् भवन लगायतका ऐतिहासिक संरचनाहरू जलेर नष्ट भए।
  • ७३ वर्षीया पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो र नयाँ मन्त्रिमण्डलमा विवाद र भ्रष्टाचारसम्बन्धी मुद्दा देखिएको छ।

नेपाली राजनीतिक इतिहासमा २३ र २४ भदौ २०८२ का घटना कुनै पनि पुस्ताले बिर्सन सक्दैन। विशेषगरी २०१८ मा जन्मिएका बालबालिकाका लागि, सात वर्षको उमेरमा सक्रिय हुने अटोबायोग्राफिकल मेमोरीले यी घटनालाई जीवनभर स्मरणीय बनाइदियो।

विद्यालय ड्रेस लगाएर पढ्न गएका दाजु–दिदीहरू गोली लागेर ढलेको दृश्य, ऐतिहासिक सिंहदरबार जलेको पीडा र देशको राजनीतिक संरचना पल्टिएको अवस्था उनीहरूको स्मृतिमा गहिरो छाप बनेको छ।

१९९७ पछाडि जन्मिएका ‘जेनेरेसन जेड’ (जेन-जी) ले नेतृत्व गरेको यो आन्दोलन कल्पनातीत थियो। उनीहरूले कुशासन, भ्रष्टाचार, नातावाद र बेरोजगारी विरुद्ध सडकमा उत्रेर अप्रत्याशित सफलता प्राप्त गरे। कतिपयले यसलाई काकताली र योजना विनाको काम भने पनि, युवा पुस्ताले देखाएको साहस, ऊर्जा र बलिदानीलाई नकार्न सकिंदैन।

देशमा विगत दुई दशकयता स्थिरता कायम हुनसकेको थिएन। सरकारहरू ६–८ महिनामा परिवर्तन भइरहे। भागबण्डाको राजनीति, नियुक्तिमा अनियमितता, पैसाको मोलमोलाइ र दैनिक हजारौं युवाको विदेश पलायनले नागरिकमा निराशा चरममा पुगेको थियो।

२०६२/६३ को आन्दोलनले ल्याएको लोकतान्त्रिक गणतन्त्रले अपेक्षित सुधार ल्याउन सकेन। माओवादीदेखि नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीसम्म सबै सत्ता–स्वार्थ र काण्डमा फस्दा जनताको आस्था धराशायी भयो।

त्यही निराशाबीच सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो। फेसबुक, टिकटक, इन्स्टाग्राम लामो समयसम्म बन्द हुँदा युवाको आक्रोश सडकमा झर्‍यो। शान्तिपूर्ण प्रदर्शन दमन गर्दा काठमाडौंमा १९ र इटहरीमा २ युवा शहीद भए।

भोलिपल्ट आन्दोलन हिंसात्मक मोडमा प्रवेश गर्दै ऐतिहासिक सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतलनिवास, व्यापारिक कम्प्लेक्स र निजी आवासहरू जलेर खरानी भए। करिब १०० खर्ब बराबरको भौतिक सम्पत्ति नष्ट भयो। दुईतिहाइ बहुमतको सरकार ३० घण्टाभित्रै ढल्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर मार्फत उद्धार हुनुअघि नै राजीनामा दिए।

जेन-जी आन्दोलनका उपलब्धि कायम गर्न संस्थागत सुधार, जिम्मेवारी तय गर्ने प्रणाली, भ्रष्टाचारविरुद्ध कडा कानूनी प्रक्रिया र दीर्घकालीन नीति आवश्यक छ।

यो आन्दोलनले जेनजीको साहस देखायो, तर संगठनात्मक नेतृत्व र दीर्घकालीन योजना कम भएको तथ्य पनि उजागर गर्‍यो। आन्दोलन सफल भए पनि सरकार गठनमा जेनजीको नेतृत्व देखिएन। ५०औं समूह जंगी अड्डामै पुगेर कुस्ती समेत प्रदर्शन गरेबाट आगामी दिनमा थप चुनौतीपूर्ण देखिन्छ।

७३ वर्षीया पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनिन्, जसलाई बालेन्द्र शाह (बालेन) लगायतले समर्थन गरे। मन्त्रीमा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (ऊर्जा), ओमप्रकाश अर्याल (गृह) जस्ता नाम आए, तर केही विवादमुक्त भने छैनन्।

कतिपय मन्त्री तथा नेताहरू सम्बन्धी अकुत सम्पत्ति, राज्यलाई हानि पुर्‍याउने आरोप र मुद्दाहरू अख्तियारमा दर्ता भएको रिपोर्टले चिन्ता थपेको छ। यसले जेनजीको बलिदानीमा सवाल उठ्न सक्ने खतरा सिर्जना गरेको छ। नयाँ मन्त्रिमण्डलमा सहमति नजुटेको, केही नियुक्तिहरू विवादित र राजनीतिक भनाभन जारी रहेको देखिएको छ।

यो आन्दोलन केवल जेनजीको मात्र थिएन- जेन-वाई (मिलेनियल्स), जेन-एक्स र जुनियर बेबी–बुमरहरूको अनुभव र विवेकले पनि निर्णायक भूमिका खेले। आन्दोलनको आरम्भ जेन-जीले गरे पनि अन्तिम निर्णायक संयोजन र नीति निर्धारणमा जेन-वाई–एक्सका नेताहरूको योगदान महत्वपूर्ण रह्यो।

बालेन्द्र शाह, सुदन गुरुङ जस्ता व्यक्तिहरूले आन्दोलनलाई दिशा दिए: तर जब सरकार चलाउने, राज्यव्यवस्था सञ्चालन गर्ने र दीर्घकालीन नीतिगत निर्णय गर्ने विषय आयो, अनुभव र विशेषज्ञताको कमी देखियो।

राजनीतिक पुस्तागत संरचनाहरू जस्तै कांग्रेस, एमाले र माओवादीका दिग्गज नेताहरूले लामो समयसम्म सत्ता–केन्द्रित अभ्यास र आफ्ना अनुचरको उन्नयन मार्फत व्यवस्था अनुकूल बनाए। जसले योग्य र सक्षम व्यक्तिहरू अवसरबाट वञ्चित हुनुपर्‍यो। यसले समाजमा असमानता गहिरो बनायो र भ्रष्टाचार, घुस–कमिसन जस्ता अभ्यासलाई सामान्य बनायो। यी व्यवस्थागत त्रुटिहरूको परिणामस्वरूप अहिलेको विद्रोह सम्भव भएको पनि तर्क गर्न सकिन्छ।

पर्दा पछाडि, जेन-वाई अन्तर्गतका युवाले जेन-जी क्रान्ति सफल बनाउन महत्वपूर्ण भूमिका खेले। आधुनिक लोकतान्त्रिक गणतन्त्र स्थापनामा कांग्रेस, एमाले र माओवादीका युवाले जिम्मेवारी प्रस्तुत गर्न नसक्दा, अवसर जेन-जी, जेन-वाईको हातमा पुग्यो। पार्टीमा केहीले सत्ताको स्वाद पाए, केहीले निगाह पाए।

यो विद्रोहले स्पष्ट देखायो- जनता परिवर्तन चाहन्छन् र बलिदान गर्न तयार छन्।

यसले विद्रोहको आँधीभुमरी सिर्जना गर्नमा उल्लेख्य भूमिका खेले। यस विद्रोहमा समावेश हुनेमा विभिन्न पार्टीमा रहँदै पनि अलोकतान्त्रिक, नातावादी र अपारदर्शी क्रियाकलापबाट आजित कार्यकर्ताको ठूलो पंक्ति देखियो। योग्यतम, क्षमतावान् मानिसहरू आजको २१औं शताब्दीमा स्वतन्त्र रहन चाहन्छन् तर दास बन्न चाहँदैनन्।

३७ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, लोकतान्त्रिक एमाले बनाउन भूमिका खेलेका केपी शर्मा ओली आफ्नो नीतिगत अडानबाट विचलित भए। १२ वर्षदेखि पार्टीको नेतृत्वमा रहेका (कांग्रेस प्रजातान्त्रिकको समेत) तथा परिवारलाई पार्टीमा स्थापित गर्नै रणनीति बोकेका शेरबहादुर देउवालाई प्रश्न गर्न नसक्दा देशले ठूलो मूल्य चुकायो। ७३ जना होनहार नागरिक मारिए। ऐतिहासिक संरचना डढेर खरानी भयो।

अन्ततः, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणको मूल मन्त्र अपनाउँदै, सरकारलाई रचनात्मक सहयोग र खबरदारी मार्फत निर्वाचन सम्पन्न गराउन, पार्टीमा बेबीब्रुमर समूहलाई सम्मानका साथ बिदाइ गर्न र लोकतान्त्रिक हस्तक्षेप नगरी बसेमा पार्टीका युवा तथा वयस्क जेन-वाई, एक्सलाई इतिहासले एकै घानमा मूल्यांकन गर्ने जोखिम छ।

यो विद्रोहले स्पष्ट देखायो: जनता परिवर्तन चाहन्छन् र बलिदान गर्न तयार छन् तर उपलब्धि कायम गर्न संस्थागत सुधार, जिम्मेवारी तय गर्ने प्रणाली, भ्रष्टाचार विरुद्ध कडा कानूनी प्रक्रिया र दीर्घकालीन नीति आवश्यक छ। यी सुनिश्चित नगर्ने हो भने, इतिहासले जेन-जी, जेन-वाई र जेन-एक्सलाई कठोर समीक्षा गर्नेछ। बलिदानीको फल भनेको दिगो परिवर्तन हुनुपर्दछ, अस्थायी राजनीतिक बदली होइन।

लेखक शिक्षासेवी तथा सञ्चारकर्मी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?