Comments Add Comment

भूमिगत पानी निकाल्न पुनर्भरण प्रविधि अनिवार्य, नजोडे अनुमति रद्द

२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाभित्र भूमिगत पानी प्रयोगका लागि अब अनिवार्य रूपमा वर्षातको पानी स‌ंकलन तथा पुनर्भरण प्रविधि र बल्कमिटर जडान गर्नुपर्ने भएको छ ।

यसअघि भूमिगत पानी प्रयोगका लागि अनुमति लिनुपर्ने व्यवस्था गरेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले त्यसकाे अतिरिक्त वर्षातको पानी संकलन तथा पुनर्भरण प्रविधि र बल्कमिटर जडान अनिवार्य गरेको हो । यसअघि नै अनुमति लिइसकेकाले पनि त्यसको नवीकरणका लागि अब अनिवार्य यी प्रविधि जडान गर्नुपर्नेछ ।

खानेपानी व्यवस्थापन बोर्डले भूमिगत पानी प्रयोगका लागि नयाँ नियम लागू गरेको जानकारी दिँदै २ महिनाभित्र बल्कमिटर र ६ महिनाभित्र वर्षातको पानी संकलन एवं पुनर्भरण प्रविधि जडान गर्न उपभोक्ताहरूलाई समयसीमा दिएको जनाएको छ ।

पुनर्भरण जमिनमुनिबाट पानी निकालेपछि पछि घटेको सतह पूर्ति गर्ने प्रक्रिया हो । भूमिगत पानीको सहतलाई पुनर्भरण गर्नुपर्ने भए पनि घना आवादी रहेको काठमाडौं उपत्यकाका उपभोक्तामा अनिवार्य व्यवस्था गरिएको थिएन । बल्क मिटर भने पानीको गति तथा लिक थाहा पाउने प्रविधि हो ।

खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०६३ तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावली, २०६४ मा काठमाडौं उपत्यकाभित्र भूमिगत स्रोतको पानी उपयोगका लागि अनुमति लिनुपर्ने व्यवस्था भए पनि बल्कमिटर र वर्षातको पानी संकलन तथा पुनर्भरण प्रविधि जडान बाध्यकारी थिएन ।

बोर्डले पहिलोपटक यी दुई प्रविधि अनिवार्य रूपमा जडान गर्न उपभोक्तालाई आग्रह गरेको छ । उसले यी प्रविधि जडानमा अटेरी गरेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ । बोर्डले खानेपानी व्यवस्थापन बोर्ड नियमावली २०६४ अनुसार त्यस्ता उपभोक्तालाई कारबाही गर्ने चेतावनी दिएको हो ।

नियमावलीको दफा १४ मा उपभोक्ताले प्रचलित नियम नमानेमा जरिवाना तथा भूमिगत पानी उपयोगको अनुमतिपत्र रद्द गर्नेसम्मको प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment