+
+
Shares

पोखराबाट फ्लाई दुबईको उडान : निराशामा आशाको दियो

संसारका धेरै देशहरूका शहरसँग जोडिएको यूएईमा फ्लाई दुबईले २३ सेप्टेम्बरदेखि पोखरामा उडान भर्ने भएपछि पोखरेलीहरू उत्साही छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ असोज ६ गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्लाई दुबईले २३ सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान शुरू गर्दै छ, जसलाई पोखरेली व्यवसायीले अन्तर्राष्ट्रिय कनेक्टिभिटीको आशा भनेका छन्।
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ मा उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।
  • विमानस्थल सञ्चालन र उडान नियमित बनाउन नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र अन्य निकायले तयारी पूरा गरेका छन्।

६ असोज, पोखरा । दिउँसोमा आकर्षक देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख टर्मिनल भवन धेरैले याद राख्छन् र पृष्ठभूमिमा राखेर तस्वीर खिच्छन् । तर, त्यही एउटै भवन साँझ र रातिमा दुई भागमा बाँडिएर फरक देखिने दृश्य कमैले याद राखेका हुन्छन् ।

भवनको पश्चिमतिरको भाग झलल बत्ति बलेर उज्यालो हुन्छ भने पूर्वी भागमा बत्तीहरू बालिँदैन र अँध्यारो देखिन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था बताउन यही एउटा चित्र काफी देखिन्छ । मुख्य टर्मिनल भवनको उज्यालो ढोकाबाट मानिसहरू आउजाउ गरिरहेका छन् र त्यो आन्तरिक उडानका निम्ति आगमन तथा प्रस्थान कक्ष हो ।

अँध्यारो देखिएको पूर्वी भाग अन्तर्राष्ट्रिय टर्मिनलका लागि छुट्याइएको छ । जहाँबाट मानिसहरू आवागमन तथा प्रस्थानका निम्ति आउजाउ गर्दैनन्, ढोकामा ताला लगाइएको हुन्छ । आधा भागमा बत्तीहरूसमेत बल्दैनन् र अँध्यारो देखिन्छ । प्रमुख भवनको चित्रजस्तै अन्तर्राष्ट्रिय उडान भर्ने सपनासहित निर्माण भएको विमानस्थलको भविष्य पनि उस्तै देखिन्थ्यो, आधा उज्यालो, आधा अँध्यारो ।

लामो संघर्ष, आन्दोलन र दबाबबाट निर्माण भएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा आन्तरिकमै सीमित हुन पुगेको छ । तामझामका साथ उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरेलीको मात्रै होइन, यो विमानस्थल बन्नुपर्छ भन्नेहरूको पनि अनुहार उज्यालिएन ।

फ्लाई दुबईले जगाएको आशाको दियो

सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यो विमानस्थलबाट केही चार्टर उडानहरू भए । हिमालयन एयरलाइन्सले चीनको तिब्बती शहरमा नियमित उडान भर्ने बताए पनि सफल हुन सकेन ।

अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर लगानी गरेर व्यवसायीमा मात्रै होइन, सिंगो पोखरेलीमा आशंका र अन्योलको अवस्था सिर्जना हुँदै आयो । त्यसमाथि कहिले भूराजनीतिक प्रभाव त कहिले भ्रष्टाचारका काण्डले निराशा छर्ने काम गर्‍यो ।

यतिबेला भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्योलको बादलमा चाँदीको घेरा देखेका छन् । सधैं भ्रष्टाचार र भूराजनीतिक चपेटामा परिरहने त होइन भन्ने आशंका र निराशालाई चिर्दै आशाको दियो बालिरहेका छन् । २३ सेप्टेम्बरबाट संसारका धेरै देशहरूका शहरसँग जोडिएको यूएईमा फ्लाई दुबईले उडान भर्ने भएपछि पोखरेली नागरिक तथा व्यवसायी उत्साही देखिएका छन् ।

नेपालको ठूलो श्रमशक्ति रहेको मध्यपूर्व, संसारका धेरै देशहरूको ट्रान्जिट बनिरहेको दुबईबाट सिधा पोखरामा तय गरिएको उडानलाई नियमित गराउन सके धेरै फाइदा पुग्न सक्ने विश्वास पोखरेलीको छ । पोखरेलीको यो विश्वासलाई हौसला दिने काम तिनै तहका सरकार र फ्लाई दुबईले समेत गरिरहेको छ ।

दुबई सफल भयो भने भारत, चीनलगायत सार्कका अन्य राष्ट्रमा पनि सम्भावनाको ढोका खुल्ने आशा जगाएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन् ।

‘अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा जुन किसिमको अवरोधहरू खडा भएका थिए, त्यसलाई सानै भए पनि, थोरै भए पनि अगाडि बढाउनका लागि फ्लाई दुबईले पोखरा र दुबईको जुन किसिमको कनेक्टिभिटी सञ्चालन गर्ने प्रयासको सुरुआत गरेको छ, त्यसको लागि धन्यवाद दिनुपर्छ,’ मुल्मीले भने । दुबई अन्तर्राष्ट्रिय शहरको रूपमा दहरिएको नाताले पनि पोखरालाई त्यो शहरसँग सम्बन्ध कायम गर्ने एउटा कडीको रूपमा हेर्न सकिने उनको भनाइ छ ।

२३ सेप्टेम्बर अर्थात असोज ७ गतेदेखि कम्तिमा ६ महिनाका लागि दैनिक उडानको टिकट बुकिङ फ्लाई दुबईले खुला गरेको छ । उसले पोखरा उडानलाई नियमित बनाउन मार्केटिङ पनि गरिरहेको छ भने पोखरासँग साझेदारी गरेर प्रवर्द्धनका कार्यक्रम पनि गरिरहेको छ । पोखरामा फ्लाई दुबईले कार्यालय नै खोलेर प्रवर्द्धन गरिरहेको छ भने विभिन्न छलफल र अन्तरर्क्रियामा सबैले साथ दिए अब नियमित उडानमात्रै होइन, अरु एयरलाइन्सहरू पनि आउने बताइरहेको छ ।

भाडा छुट

फ्लाई दुबई र इमिरेट्समार्फत पनि उडान हुँदा दुबई हुँदै विश्वका २५० गन्तव्यसँग जोडिन सक्ने भएकाले पनि उडान नियमित गराउन सकिने विश्वास लिइएको छ ।

काठमाडौंभन्दा पोखराबाट कम्तिमा ५ हजार रुपैयाँ छुट दिइएको र पोखरालाई फ्लाई दुबई र इमिरेट्सले लामो सम्भावनाका रुपमा हेरेको फ्लाई दुबईका नेपालस्थित जेनेरल म्यानेजर नवराज शाहीको भनाइ छ ।

फ्लाई दुबईले २८ जेठबाट टिकट बुकिङ खुला गरेको थियो । २३ सेप्टेम्बर साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ भने त्यसको ठिक एक घन्टापछि दुबई फर्किने छ ।

सरकारबाट २५ जेठमा अनुमति पाएको फ्लाई दुबईको दैनिक उडान तालिका एउटै भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

दुबईबाट पोखरा ओर्लिने पहिलो उडानका यात्रुलाई पोखरामा भव्य स्वागतको तयारी गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले बताए । जहाजलाई पानीको फोहोरासहित स्वागत गरिने छ ।

१ सय ६६ सिट क्षमता भएको जहाजका लागि सुरुका केही उडानका निम्ति टिकट पूरा भइसकेको जानकारी पाएको पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । नियमित उडान र पर्यटकलाई आकर्षित गर्नका होटल, रेस्टुरेन्ट, ट्रेकिङ, टिकेटिङ लगायतका क्षेत्रमा प्याकेजिङको घोषणासमेत गर्दै व्यवसायीले उत्साह थपिरहेका छन् ।

विगतका चार्टर उडान र भैरहवाबाट पाठ

पोखरा विमानस्थल उद्घाटनकै दिन बुद्ध एयरले पोखरा–बनारस उडान भर्ने चर्चा गरिएको थियो । तर, चिनियाँ अनुदानमा चीनकै कम्पनीले बनाएको विमानस्थलमा भारतले उडान अनुमति नदिँदा सफल नभएको बताइएको थियो ।

उद्घाटनयता प्रधानमन्त्री र मन्त्रीहरूका भारत तथा चीन भ्रमणमा पोखरा विमानस्थललाई प्रमुख एजेण्डाका रुपमा राख्ने बताए पनि कुनै प्रक्रिया अगाडि बढेन । नियमित उडानको सपना अधुरै रहे पनि केही प्रयास भएका थिए । केही चार्टर उडान भने भएका छन् ।

सिचुआन एयरलाइन्स, हिमालयन एयरलाइन्स, भुटान एयरलाइन्स, ड्रुक एयर तथा अन्य केही चार्टर वायुसेवा कम्पनीहरूले उडान सञ्चालन गरेका छन् ।

हिमालयन एयरलाइन्सले नियमित भन्दै पोखरा–ल्हासा उडानमार्फत ५२ पटक आवागमन र त्यति नै संख्यामा प्रस्थान गरेको छ । कुल १०४ वटा मुभमेन्ट गरेको थियो, तर यात्रुको अभावका कारण उडान स्थगित हुन पुग्यो ।

सिचुआन एयरलाइन्सले छेन्दु–पोखरा जोड्दै कुल २६ वटा चार्टर उडान गरेको छ । भुटान र ड्रुक एयरलाइन्सले पनि चार्टर उडान गरेका थिए भने नेपालबाट एक आन्तरिक वायुसेवाले मेडिकल फ्यासिलिटीसहित भारतमा चार्टर उडान गरेको छ ।

जाजरकोट भूकम्पका बेला चीनबाट राहत लिएर चिनियाँ सेनाको जहाज पनि पोखरा ओर्लिएको थियो । यसबाहेक पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सकेन । जसका कारण चिनियाँ अनुदानमात्र २२ अर्बभन्दा धेरै लगानी भएको विमानस्थल नचल्दा निराशा छाएको थियो ।

अब फ्लाई दुबईमार्फत हुने उडानले भने आशाको किरण छरेको र त्यसका निम्ति नागरिक उड्डयन प्राधिकरणले सेवाको सम्पूर्ण तयारीसमेत सकिसकेको प्रमुख निरौलाले बताए ।

ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल वायुसेवा निगमले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । साथै, सोल्टी होटेललाई उडानका लागि ‘फ्लाइट क्याटरिङ’ उपलब्ध गराउने अनुमति र प्रमाणपत्र जारी गरिसकेको निरौलाले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणतर्फ सेवा प्रदायक र स्थायी गरी करिब २०० जना कर्मचारी छन् ।  नेपाल प्रहरीका १०४ जना र नेपाल आर्मीका ८० जना जनशक्ति सुरक्षाका लागि तैनाथ छन् । भन्सार र अध्यागमनका लागि पनि आवश्यक मात्रामा जनशक्ति खटाइएको ध्यागमन प्रमुख हरिबहादुर भुजेलले जानकारी दिए ।

बिगतका चार्टर उडान र भैरहवाबाट सुरु भएर पनि नियमित हुन नसकेको अन्तर्राष्ट्रिय उडानबाट पोखराले पाठ सिक्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मूल्मी बताउँछन् ।

‘भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्टजस्तै बीचमा आएर यो बन्द हुने हो कि वा यसलाई नियमित गर्न सकिन्न कि भन्ने खालका आशंका पनि नजन्मेका होइनन्,’ मुल्मीले भने । तर यसको लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना आधारभूत सुविधाहरूको निरन्तर बढोत्तरी गर्दै जानुपर्ने उनको भनाइ छ । अर्कोतर्फ पोखरालाई चिनाउनको लागि पनि अब दुबईमा गएर पनि प्रवर्द्धन गर्ने कार्यमा अब चुक्नु नहुने उनको सुझाव छ ।

विमानस्थल उदघाटन भएकै दिन १६ मे २०२२ देखि जजिरा एयरवेजले कुवेत–भैरहवा सिधा उडान सुरु गरेको थियो । यो नै भैरहवामा उडान गर्ने पहिलो विदेशी वायुसेवा हो । तर, यो नियमित हुन सकेन ।

हिमालय एयरलाइन्सले २०७९ कात्तिक १७ देखि मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड र व्यावसायिक उडान सुरु गरेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहकले केही ढिलो गरी भैरहवाबाट मलेसिया र दुबई/दोहाका लागि उडानहरू घोषणा र सञ्चालन गरेको थियो ।

थाई एयर एसिया एयरलाइन्सले थाइल्यान्डको बैंककबाट भैरहवाका लागि उडान सुरु गरेको थियो । फ्लाई दुबई र कतार एयरवेजले विशेषगरी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको समयमा र सरकारले सहुलियत प्याकेज घोषणा गरेपछि यिनीहरूले दुबई र दोहाबाट भैरहवालाई जोड्ने गरी उडान थालेका थिए । तर, भैरहवाबाट सफल हुन नसक्नुको कारण हेरेर पोखराले पाठ नसिक्ने हो भने सफल हुन नसकिने व्यवसायीहरूको भनाइ छ ।

विमानस्थलको सपना, संघर्ष र निर्माण

पोखरेलीले अन्तर्राष्ट्रिय उडानको सपना देखेको २०३१ सालतिरै हो । जतिबेला तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको नेतृत्वमा छिनेडाँडामा जग्गा अधिग्रहण गरिएको थियो । तर, विमानस्थलको सपना पूरा भएको देख्न भने पोखरेलीलाई ५ दशकभन्दा बढी समय पर्खिनुपर्‍यो । त्यसपछि पनि भ्रष्टाचार र भूराजनीतिको चपेटामा पोखराबाटै विश्वका देशहरूमा जहाज पुग्ने सपना, लगानी र संघर्षमा तुषारापातको महसुस गर्न पोखरेलीले विवश भए ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि दबाब दिँदै आएका पोखरेलीले २०६९ सालमा रिले अनसनसहित आन्दोलन गरे । उद्योगी, व्यवसायी, स्थानीय, समाजसेवी सबै मिलेर लगातार संघीय सरकारलाई दबाब दिए ।

विभिन्न आरोह–अवरोह र लगानीको मोडलबारे बहस, छलफल हुँदै र स्वार्थको केन्द्रमासमेत गर्दै आएको विमानस्थल निर्माणका लागि २०१४ मा नागरिक उड्डयन प्राधिकरणले चाइना सीएएमसी इन्जिनियरिङसँग सम्झौता भएको थियो ।

सन् २०१६ मा नेपाल सरकार र चाइना एक्जिम बैंकले विमानस्थल निर्माणका लागि २१६ मिलियन अमेरिकी डलर ऋण स्वरुप लिने र चिनियाँ कम्पनी सीएएमसीले पोखरा विमानस्थललाई ‘टर्न की प्रोजेक्ट’ को रूपमा निर्माण गर्ने सहमति भएको थियो ।

सन् २०२१ को जुलाईमा निर्माण सकिने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ वैशाख २०७३ मा विमानस्थल शिलान्यास गरे । कोभिड महामारीका कारण समयमै सम्पन्न हुन सकेन र १ जनवरी २०२३ मा विमानस्थल उद्घाटन त भयो तर विदेशी पर्यटक भित्राउने सपनासहित लगानी गरेका व्यवसायीलाई भने निराशामै धकेलेको थियो ।

राजनीतिक नेतृत्वले पटक पटक आश्वासन दिने तर प्राथमिकतामा नराख्ने गर्दा पोखरेलीको च्याँख मरेको थियो । अब भने अन्योलताको कालो बादलमा चाँदीको घेरा देखिएको सहसुस व्यवसायीले गरेका छन् ।

१९ तस्वीरमा हेर्नुहोस् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी – Online Khabar

अन्तर्राष्ट्रिय नियमित उडानको पर्खाइमा छन् पोखरेली व्यवसायी

पटक–पटक स्वार्थका कारण प्रभावित भएको र अन्तर्राष्ट्रिय उडानसमेत हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपाल सरकार धेरै गम्भीर हुनुपर्ने बताउँछन्, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा निर्माण अभियन्ता आनन्दराज मुल्मी । फ्लाई दुबईले आशा देखाइरहेको यो क्षणमा सबैले सहयोग गरेर उडानको अन्य ढोकाहरू पनि खोल्नुपर्ने उनको जोड छ ।

दुबई शहर विश्वका सारा पर्यटकहरू, सारा मनोरञ्जन गर्ने व्यवसायीहरू वा अरू पर्यटक पनि पुग्ने भएकाले त्यो ठाउँमा नेपालले पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ । अब पोखराबाटै भिसा प्राप्त गर्ने वातावरण मिलाउनुपर्ने उनले बताए ।

‘यहाँबाट उड्न चाहने प्रत्येक व्यक्तिका लागि अब काठमाडौंमार्फत भिसा प्राप्त गर्नुभन्दा पनि ती भिसा प्राप्त गर्ने आधारहरू पोखराबाट सिर्जना गर्नुपर्छ । त्यसको पब्लिक लियाजो अफिस जुन खडा हुन्छन्, त्यसलाई पोखरामा ल्याउनेतर्फ अब प्रयास गर्नुपर्छ,’ मुल्मीले भने, ‘यहाँबाट दुबई उडान गर्नेहरू काठमाडौं गएर भिसा लिनुपर्ने अवस्था झन्झटिलो छ भने त्यसलाई हटाउन जरुरी छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुविधाहरूको निरन्तर बढोत्तरी गर्न आवश्यकता रहेको उनको भनाइ छ । ‘जब हामी अन्तर्राष्ट्रिय शहरको परिकल्पना गर्छौं भने, अन्तर्राष्ट्रिय एयरपोर्टको कुरा गरिरहेका छौं भने अब सुविधाको बारेमा चिन्ता गर्न जरुरी छ र क्यानले यस बारेमा सिरियस्ली नै विचार गर्नुपर्छ ।’

आउँदा दिनहरूमा यो फ्लाई दुबई एउटा आधारशिला बन्न सक्ने मुल्मीले देखेका छन् । फ्लाई दुबईलाई व्यावसायिक घाटा परेन भनेमात्र नियमित उडानको परिकल्पना गर्न सकिने उनी बताउँछन् । ‘फ्लाई दुबईलाई पनि आफ्नो लागत उठाउन सक्ने वातावरणको सिर्जना गर्न सक्यौँ भने मात्र हुन्छ । व्यावसायिक घाटा खाएर धेरै दिन चलाउन सकिन्न । केही समय चलाउन सकिएला,’ उनले भने ।

लामो समयको संघर्ष, रिले अनसन गरेर निर्माण भएको विमानस्थल नियमित सञ्चालन गर्न फ्लाई दुबई एउटा कोसेढुंगा सावित हुनसक्ने पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुलेजको भनाइ छ । यसअघि चार्टर उडान भए पनि अब नियमित हुने आशमा उत्साह थपिएको भुजेलले बताए ।

‘तर हामीसित धेरै च्यालेन्जेजहरू पनि छन् । यसलाई दीर्घकालीन रूपमा सधैँभरि कसरी रेगुलर गराउन सकिन्छ भन्ने हो,’ भुजेलले भने, ‘फ्लाइट दुबईलाई सक्सेस बनाएर अरू फ्लाइटहरूलाई पनि पोखरामा आकर्षित गर्न एकदम तम्तयार छौँ ।’

पर्यटकीय सम्भावना

पोखरा पर्यटन परिषद र परिषदसित आबद्ध सम्पूर्ण संघसंस्थाहरूले नियमित उडानका लागि ऐक्यबद्धता गरेको उनले बताए । ‘समुद्री सतहबाट करिब १९ मिटर मात्रै माथि भएको एयरपोर्टबाट डाइरेक्ट पोखरा इन्टरनेसनल एयरपोर्ट ८०० मिटरमा आउने र ८०० मिटरबाट ८००० मिटर अग्ला हिमालहरू, तीनटा अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमाल यहीँबाट हेर्न पाउने अवसरको रूपमा पनि विदेशीहरूलाई एट्र्याक्सन गर्न सक्छौँ,’ भुजेल भन्छन् ।

गण्डकीका नागरिकले आफ्ना आफन्तलाई पोखरा विमानस्थलमै अवतरण गरेर आउनुस् भनेर भन्ने हो भने पनि यो चल्न सक्ने भुजेलले बताए । काठमाडौंभन्दा सस्तो भएकाले १/२ दिन अगाडि नै पोखरा आउने र यहाँ घुमेर काठमाडौं जान पनि सकिने गरी प्रोत्साहन गनुपर्ने उनको भनाइ छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थल हेरेर नै यहाँका व्यवसायीले लगानी बढाएको बताए । तर, अन्तर्राष्ट्रिय उडान नहुँदा निराश व्यवसायी फ्लाई दुबईको आगामनसँगै उत्साही देखिएको उनले बताए ।

पोखरामा करिब १२ सय होटेलहरू छन् । यहाँ १५ हजारभन्दा बढीले रोजगारी पाएका छन् । तर, पछिल्ला विपद्हरूले व्यवसायीलाई मार पारिरहेको छ । पछिल्लो पटक भारतीय पर्यटकले उत्साह भरे पनि सबै सिजनमा भरिभराउ छैनन् ।

‘अहिले सिधै दुबई उडानमा जाँदैछौँ, लाँदैछौँ र पोखराका व्यवसायीहरूलाई म विनम्रतापूर्वक निवेदन पनि गर्न चाहन्छु–घाटा खाएर कसैले पनि व्यवसाय गर्दैन । साच्चै उहाँहरूलाई सपोर्ट गरिएन भने भोलि भैरहवाको हालत हुन पनि सकिन्छ,’ अध्यक्ष लक्ष्मणले भने, ‘दुबई उडानलाई सस्टेन गराउन सकियो भने अरू एयरलाइन्स पनि पोखरा ल्याउन सकिन्छ ।’

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष वसन्त गौतम पोखरेलीका लागि मात्रै नभएर फ्लाई दुबई नियमित उडान भर्नु देशकै लागि खुसीको कुरा भएको बताउँछन् । ‘नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल भएको कारणले गर्दा पनि कति पर्यटकहरूलाई नेगेटिभ इम्प्याक्ट पनि परेको हुन सक्थ्यो । तर यो एयरपोर्ट खुला हुँदाखेरि पर्यटकहरूलाई विश्वास पनि हामीले जित्न सक्छौँ,’ गौतमले भने ।

पोखरा अब अन्तर्राष्ट्रिय स्तरका होटल, रेस्टुरेन्टहरू, अन्तर्राष्ट्रिय खानाहरू पाइने शहरको रुपमा पनि विकास भइसकेको उनको भनाइ छ । ‘एउटा पर्यटकलाई घुम्न जाँदाखेरि चाहिने सबै चिजहरू पोखरामा उपलब्ध छ । तर अन्तर्राष्ट्रिय विमानस्थल थिएन,’ गौतमले भने, ‘कुनै नयाँ डेस्टिनेसनमा घुम्न जाँदाखेरि त्यहाँको सेक्युरिटी, फ्लाइट, फ्रिक्वेन्ट फ्लाइटहरू छ भन्ने कुराहरूले पनि माने राख्छ ।’

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्ण आचार्य फ्लाई दुबईले अन्तर्राष्ट्रिय शहरलाईमात्रै नभएर विश्वमै ख्यातिप्राप्त पदमार्गहरूलाई पनि जोड्ने बताए । विश्वका २ सय ५० गन्तव्यहरूसँग जोडिएको फ्लाई दुबईमार्फत नेपालले फड्को मार्न सकिने उनको भनाइ थियो ।

यहाँका पदमार्ग र पोखराबाटै ८ हजार मिटरमाथिका ३/३ वटा हिमाल देखिने हुँदा यसलाई ब्रान्डिङ गर्न सकिने आचार्यले बताए ।

‘कम्तीमा दुबई भनेको एकदम इमर्जिङ डेस्टिनेसन हो, एडभेन्चर लभरहरू त्यहाँ छन् । दुबईका युवाहरू, यति धेरै एडभेन्चर सीकरहरू छन्,’ आचार्यले भने, ‘बाइक राइडिङदेखि लिएर साइक्लिङ, प्याराग्लाइडिङ गर्न जुन एडभेन्चर एक्टिभिटिज मन पराउने धेरै मान्छेहरू त्यहाँ भएको कारणले सिधै आउन सहज पनि बनाउँछ ।’ हिमालकै काखमा पुगेर ४८ डिग्रीबाट सिधै माइनस डिग्रीमा जाने अवस्था पनि एकदम सुखद पाटो भएको उनी बताउँछन् ।

सरकार गम्भीर नभएको गुनासो

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा पोखरामा आन्दोलन र रिले अनसन भएको थियो । अहिले संघको अध्यक्ष छिन्, शोभा गौतम । उनले पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति अग्रह उद्योगी, व्यवसायी र पोखरेलीले ठूलो संघर्ष गरेको स्मरण गरिन् ।

फ्लाई दुबई हुँदै अन्य देशहरूमा पनि उडानको ढोका खोल्न सरकार अझै गम्भीर नभएको गुनासोसमेत उनले गरिन् । अन्तर्राष्ट्रिय उडानले पोखराकोमात्रै नभएर देशकै अर्थतन्त्र बलियो बनाउने बताइन् ।

‘पोखरा देशकै पर्यटकीय राजधानी भनिराख्दा हामीले अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटक पोखरा भित्राउन सक्नु नै हाम्रो लागि सबैभन्दा खुसीको कुरा हो,’ गौतमले भनिन्, ‘भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन पोखरा उद्योग वाणिज्य संघले समन्वय, सहकार्य र सरकारलाई दबाब दिन्छ ।

फ्लाई दुबईको नियमित उडान हुने भएपछि होटल, टिकेटिङ, रेस्टुरेन्टदेखि हरेक क्षेत्रमा उत्साह बढेको र आफूहरूले पनि संस्थागत रुपमा धेरै तयारी गरेको बताउँछिन्, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी अध्यक्ष संगीता पौडेल ।

उनले नाट्टामा आवद्ध १ सय ६३ वटा कम्पनीलाई फ्लाई दुबई उडानकै छेको पारेर तालिम दिइएको पनि सुनाइन् । त्यसबाहेक पनि प्याकेज निर्माणका लागि अन्य कम्पनीहरूसँग पनि सहकार्य भइरहेको पौडेलले बताइन् । उनले आवद्ध व्यवजसायीहरूलाई आफ्ना आफन्त नेपाल आउँदा पोखरा हुँदै बोलाउन आग्रह गरेको पनि बताइन् ।

फ्लाई दुबई पोखरामा सफल भयो भने भारत र चीनलगायतका अन्य देशका एयरलाइन्सहरू पनि आउने विश्वास पौडेलको छ । ‘यो फ्लाइटलाई निरन्तरता दिने क्रममा अब पोखराबाट चीन, भारतसँग पनि फ्लाइटहरू जोड्नका लागि सरकारले पहल गर्नुपर्छ,’ पौडेलले भनिन्, ‘हामीलाई के लागिरहेको छ भने सरकारले यसलाई किन ध्यान दिएन ? अबको दिनमा सरकारले ध्यान दिनेछ, दिनुपर्छ ।’

फ्लाई दुबईलाई पोखरा ल्याएर नियमित उडानको वातावरण बनाउनुपर्छ भनेर लाग्नेमध्येका एक हुन्, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ । उनले फ्लाई दुबई पोखराका निम्ति सुरुआतमात्रै भएको र अन्य देशका शहरहरूमा पनि क्रमश: जोडिने आशा व्यक्त गरे ।

दुबईमा नेपाली कामदार पनि धेरै रहेको, भारतीय नागरिक पनि धेरै बसोबास गरेको र संसारका धनी मानिसहरू पनि आउने भएकाले उनीहरूलाई आकर्षित गर्न सकियो भने धेरै फाइदा पुग्ने बताए ।

‘दुबईबाट धनाढ्यहरूलाई पोखरामा भित्राउन सकियो भने धेरै खर्चालु पर्यटकहरू आउने छन् । यसले समग्र गण्डकी प्रदेश, पोखरा र नेपालकै पर्यटन प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ,’ श्रेष्ठले भने ।

पोखरा साहसिक तथा खेल पर्यटनका धेरै पूर्वाधार पनि बनिरहेको र सम्भावना पनि रहेकाले दुबईमार्फत विश्वका धेरै मानिसहरूलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?