+
+
Shares

नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा बढाइचढाइ भनियो, तर प्रभाव देखियो : एन्टोनियो गुटेरेस

‘जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ, यसको असर परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ, जलवायु न्याय हुनैपर्छ, धनी देशहरूले यो तिर्नैपर्छ,’ महासभामा महासचिव एन्टोनियो गुटेरेसले भने । 

जनार्दन बराल जनार्दन बराल
२०८३ असोज ६ गते २२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालबाट दिएको जलवायु चेतावनी अहिलेका घटनाले पुष्टि गरेको बताएका छन् ।
  • उनले जलवायु परिवर्तनको मूल्य प्रदूषकले तिर्नुपर्ने, कमजोर देशले न्याय पाउनुपर्ने र हानि तथा नोक्सानी कोषमा पर्याप्त रकम हुनुपर्ने बताए ।
  • गुटेरेसले अन्तर्राष्ट्रिय नियम कमजोर बन्दै गएको, द्वन्द्व बढेको र उत्तरदायित्वविहीन प्रविधि खतरनाक हुने चेतावनी पनि दिए ।

६ असोज, न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले (नेपाल)को घटनाले त्यसको वास्तविक रूप देखिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई मंगलबार बिहान सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताएका हुन् ।

‘तीन वर्षअघि, नेपालका हिमालहरूबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ । अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ,’ उनले भने, ‘कतिपयले यसलाई खतराहरूबारे बढाइचढाइ गरिएको भनेर खारेज गरे । तर अहिलेका दु:खद घटना (नेपालको)हरूले के देखाएको छ भने धेरैले सोचेभन्दा चाँडै यसका कडा प्रहारहरू देखिइरहेका छन् । ती अझ व्यापक रूपमा फैलिरहेका छन् ।’

जलवायु परिवर्तनको जोखिम अहिले वास्तविक भएर आएको र त्यो संसारले देखेको पनि उनले बताए । जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको पनि उनले बताए । तर उनीहरुले न्याय नपाएको पनि उनले बताए ।

‘जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ, यसको असर परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ, जलवायु न्याय हुनैपर्छ, धनी देशहरूले यो तिर्नैपर्छ,’ महासभामा महासचिव गुटेरेसले भने ।

जलवायु परिवर्तनका असरसँग जुध्न पर्याप्त आर्थिक स्रोत अति नै कम भएको पनि उनले बताए ।

जलवायु परिवर्तनसम्बन्धी हानि तथा नोक्सानी कोषमा लाजमर्दो रूपमा कम रकम भएको उनको भनाइ थियो । ‘त्यसमा लाजमर्दो रुपमा कम पैसा छ । यसमा पर्याप्त रकम हुनुपर्छ, अब थप लुटपाट शोषण हुन हुँदैन,’ उनले भने ।

जलवायु वित्तमा विकसित देशहरूले आफ्ना प्रतिबद्धताहरूको सम्मान गर्नुपर्ने उनले बताए । ‘उनीहरूले अनुकूलन वित्तलाई तेब्बर बनाउनुपर्छ र ‘हानि तथा नोक्सानी कोष’लाई व्यापक स्तरमा काम गर्ने बनाउनुपर्छ,’ उनले भने ।

जलवायु परिवर्तनको जोखिम सबैभन्दा कमजोरहरूलाई सबैभन्दा धेरै भएको उनको तर्क थियो ।

‘यहाँ एउटा पुस्ताले अर्को पुस्ताको भविष्य उपभोग गरिरहेको छ, एउटा समूहले नाफा कमाइरहेको छ । जलवायु परिवर्तनमा कम जिम्मेवारहरूले सबैभन्दा पहिले र सबैभन्दा खराब समस्या सामाना गरिरहेका छन्’, उनले महासभालाई सम्बोधन गर्ने क्रममा भने ।

ठूला तेल कम्पनीहरूले वायुमण्डललाई खुला ढलको रूपमा व्यवहार गरेको र त्यसको नतिजाबाट पैसा कमाएको उनले बताए । युक्रेनमा रुसको आक्रमणपछि, पाँच प्रमुख पश्चिमी तेल कम्पनीहरूले झण्डै आधा ट्रिलियन डलर (५०० अर्ब डलर) नाफा कमाएको पनि उनले बताए ।

जबकि, विकासशील देशहरूका लागि जलवायु परिवर्तनको अनुकूलन वित्तका लागि ३४ अर्ब डलरमात्रै उपलब्ध भएको उनले बताए । ‘जसले सबैभन्दा धेरै प्रदूषण गरे, सबैभन्दा धेरै नाफा कमाए, उनीहरूले क्षतिको भरपाई गर्नैपर्छ, प्रदूषकहरूले मूल्य चुकाउनै पर्छ,’ उनले भने ।

महासभाका अध्ष्क्ष तथा बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानले जलवायु परिवर्तनविरुद्धको संसारका देशहरूको सामूहिक प्रयास पर्याप्त नभएको कारणले चीन र नेपालमा बाढीले ठूलो क्षति गरेको बताए ।

अन्तर्राष्ट्रिय नियमहरू कमजोर बन्दै गए : महासचिव गुटेरेस

महासभालाई सम्बोधन गर्दै महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय नियमहरू कमजोर बन्दै गएको चेतावनी पनि दिए । वर्तमान विश्वको द्वन्द्व, असमानता, जलवायु संकट र प्राविधिक चुनौतीहरू एकअर्कासँग जोडिएका मुद्दाहरू भएको उनले बताए ।

‘विश्वमा फुटका रेखाहरू फराकिलो हुँदै गएका छन् र साना धाँजहरू गहिरा खाडलमा परिणत भएका छन्,’ ८१ औं महासभाको उद्घाटन गर्दै गुटेरेसले भने ।

मध्यपूर्व, युक्रेन, सुडान र म्यानमारजस्ता क्षेत्रमा भइरहेका द्वन्द्वका कारण शक्ति नियन्त्रणबाहिर गएका कारण सङ्कट उत्पन्न भएको उनको भनाइ छ । युक्रेनमाथि रुसको पूर्ण आक्रमणलाई राष्ट्रसंघीय बडापत्रको स्पष्ट उल्लंघन भन्दै उनले गजाका सन्दर्भमा पनि अन्तर्राष्ट्रिय अदालत (आइसीजे) को आदेश पालना गर्नुपर्नेमा जोड दिए ।

गुटेरेसले ऋणको बोझमा थिचिएका विकासोन्मुख देशहरूका लागि वित्तीय प्रणालीमा सुधार गर्न आह्वान गरेका छन् ।

प्रविधि आफैंमा खतरा नभएको तर उत्तरदायित्वविहीन प्रविधि भने खतरनाक हुने उनको चेतावनी थियो । जीवन र मृत्युका निर्णयहरू मेसिनको हातमा सुम्पन नहुने उनले बताए । ‘हत्यारा रोबोट’ को प्रयोगलाई पूर्ण रूपमा रोक्नुपर्ने उनले बताए ।

राष्ट्रसंघका प्रमुखका रूपमा आफ्नो पदावधिको करिब १०० दिन बाँकी रहेको उल्लेख गर्दै गुटेरेसले राष्ट्रसंघीय बडापत्रका मूल्यमान्यता र शान्तिको रक्षाका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

संयुक्त राष्टसंघीय महासभाको सबैभन्दा महत्वपूर्ण जनरल सेसन मंगलबारबाट न्यूयोर्कमा शुरु भएको छ । मंगलबार बिहान राष्टसंघका महासचिव गुटेरेसका साथै अमेरिकाका राष्टपति डोनाल्ड टम्प, महासभाका अध्यक्ष डा. खिललुर रहमान लगायतले सम्बोधन गरेका छन् ।

नेपालका प्रधानमन्त्री बालेनले महासभालाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । परराष्टमन्त्री शिशिर खनाल, सचिव अमृत राई तथा राष्टसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी भएका छन् ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?