+
+
Shares

मानसरोवर–कैलाश यात्रा : हिल्सा ‘ट्रान्जिट हब’ बन्दै

हिल्सालाई आकस्मिक वैकल्पिक मार्ग मात्र नभई भविष्यमा मानसरोवर–कैलाश यात्राको नियमित प्रवेश तथा आवागमनको ‘ट्रान्जिट हब’ बनाउन सकिने सम्भावना देखाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज ६ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी–केरुङ र तातोपानी नाका अवरोधपछि १५० भन्दा बढी भारतीय पर्यटक हिल्सा हुँदै नेपाल फर्किएका छन्।
  • हिल्सालाई मानसरोवर–कैलाश यात्राको ट्रान्जिट हब बनाउन सडक, हवाई सेवा र सीमा व्यवस्थापन सुधार्नुपर्ने व्यवसायीले बताएका छन्।
  • भोटेकोशी बाढीका कारण पर्यटकीय उडान प्रभावित हुँदा नौ समूहले यात्रा रद्द गरेका छन् र करिब चार हजार बुकिङ रद्द भएको छ।

६ असोज, सुर्खेत । नेपालको उत्तरी नाका हुम्लाको हिल्सा पछिल्लो समय पुनः चर्चामा आएको छ । रसुवागढी–केरुङ र तातोपानी नाकामा अवरोध आएपछि मानसरोवर–कैलाश यात्रामा रहेका भारतीय पर्यटकका लागि हिल्सा वैकल्पिक मार्ग बनेसँगै यस ठाउँको महत्त्व ह्वातै बढेको हो।

भोटेकोशीमा आएको बाढीपछि केरुङ र तातोपानी नाका प्रभावित हुँदा तिब्बत पुगिसकेका १५० भन्दा बढी भारतीय पर्यटक हिल्सा हुँदै नेपाल फर्किएका छन् । उनीहरू हिल्साबाट सिमकोट पुगेपछि हवाईमार्गबाट नेपालगञ्ज हुँदै गन्तव्यतर्फ लागेका हुन्।

यस घटनाले हिल्सालाई आकस्मिक वैकल्पिक मार्ग मात्र नभई भविष्यमा मानसरोवर–कैलाश यात्राको नियमित प्रवेश तथा आवागमनको ‘ट्रान्जिट हब’ बनाउन सकिने सम्भावना देखाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

आकस्मिक अवसरलाई दीर्घकालीन योजनामा बदल्नुपर्ने

पर्यटन तथा होटल व्यवसायी नोर्बु लामा हिल्साबाट भएको पछिल्लो पर्यटक आवागमनलाई दीर्घकालीन पर्यटन योजनासँग जोड्नुपर्ने बताउँछन्।

‘भोटेकोशीमा आएको बाढीले रसुवागढी–केरुङ र तातोपानी नाका प्रभावित भएपछि मानसरोवर–कैलाश यात्रामा असर परेको थियो,’ उनले भने, ‘तर यही अवरोधले हिल्सालाई वैकल्पिक अन्तरदेशीय तथा पर्यटकीय मार्गका रूपमा अगाडि ल्याएको हो।’

हिल्सा नाकालाई व्यवस्थित गर्न सके पर्यटक आवागमनसँगै स्थानीय व्यापार, होटल, यातायात, गाइड, ट्रेकिङ र रोजगारीका अवसर बढ्न सक्ने उनको भनाइ छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि केरुङतर्फको यातायात प्रभावित भएसँगै तिब्बत पुगिसकेका तर केरुङ हुँदै नेपाल फर्कन नसकेका पर्यटकका लागि हिल्सा वैकल्पिक मार्ग भइरहेको बताए । यहाँको सडकदेखि अन्य कुराहरुको व्यवस्थाप राम्रो भएमा राम्रो बैकल्पिक मार्ग बन्ने उनले बताए ।

हिल्सा नाकालाई व्यवस्थित र पहुँचयुक्त बनाउन सके पर्यटक आवागमनसँगै राज्यको राजस्वसमेत बढ्ने उनको भनाइ छ।

हेलिकोप्टर अभावले यात्रा रद्द

हिल्सा हुँदै पर्यटक नेपाल फर्कन थालेपछि सिमकोटको हवाई सेवामा चाप बढे पनि आवश्यक समयमा हेलिकप्टर उपलब्ध हुन सकेन।

रिचा ट्रेकका पर्यटन व्यवसायी विष्णुबहादुर रावतका अनुसार यसपटक हिल्साबाट मानसरोवर–कैलाश यात्रा गर्ने नौ समूहले यात्रा रद्द गरेका छन्। सिम्रिक एयरका कर्णाली प्रदेश प्रमुख कमल गौतमका अनुसार भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन भएकाले पर्यटकीय उडान प्रभावित भएको हो।

‘सिमकोट उडानका लागि पर्यटक तथा यात्रुबाट फोन आइरहेको थियो। तर हेलिकोप्टरको प्राथमिकता बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा रह्यो,’ उनले भने।

रसुवाभन्दा दुई दिन छोटो हिल्सा रुट

रसुवागढी र तातोपानी नाकामा अवरोध आएपछि केही पर्यटकले यात्रा रद्द गरे भने केहीलाई ट्राभल एजेन्सीले वैकल्पिक रुटबाट मानसरोवर पठाएका थिए।

कैलाश टुर अपरेटर्स नेपालका महासचिव प्रदीप पण्डितका अनुसार काठमाडौं–ल्हासा उडानको एकतर्फी भाडा नै करिब एक लाख रुपैयाँ पर्ने भएकाले यो रुट महँगो पर्छ। उनका अनुसार सामान्य अवस्थामा काठमाडौंबाट रसुवा हुँदै मानसरोवर लैजान करिब १३ दिन लाग्ने भए पनि नेपालगञ्ज–सिमकोट–हिल्सा रुट करिब दुई दिन छोटो पर्छ।

‘सिमकोटबाट अघि बढ्ने सडक कच्ची भएकाले धेरैजसो पर्यटकले यो रुट असहज मान्छन्,’ उनले भने, ‘त्यसैले हिल्सा रुटको सडक निर्माण तथा स्तरोन्नतिमा सरकारले ध्यान दिन जरुरी छ।’

चार हजार बुकिङ रद्द

व्यवसायीका अनुसार सेप्टेम्बरका लागि भएका मानसरोवर–कैलाश यात्राका करिब चार हजार बुकिङ रद्द भएका छन्। औसतमा एक पर्यटकबाट चार लाख रुपैयाँका दरले तीन हजार जनाको बुकिङ रद्द हुँदा करिब एक अर्ब २० करोड रुपैयाँ बराबरको व्यवसाय प्रभावित भएको व्यवसायीको भनाइ छ।

कैलाश टुर अपरेटर्सका अनुसार हालसम्म करिब ७० प्रतिशत पर्यटकले बुकिङ रद्द गरिसकेका छन्। मानसरोवर–कैलाश यात्राको मुख्य सिजन अगस्ट र सेप्टेम्बर हो।

टानका अध्यक्ष सागर पाण्डेका अनुसार बुकिङ रद्द भएपछि दुई दर्जनभन्दा बढी ट्राभल एजेन्सी कामविहीन भएका छन् भने सयौंको रोजगारी प्रभावित भएको छ।

पूर्वाधार बने दीर्घकालीन विकल्प

रसुवागढी नाका बाढीले क्षतिग्रस्त भएपछि केरुङतर्फ अड्किएका नेपाली तथा मानसरोवर–कैलाश यात्रा सकेका केही तीर्थयात्री हिल्सा हुँदै नेपाल फर्किएका छन्।

पछिल्लो घटनाक्रमले हिल्सा नाका सीमावर्ती व्यापारका लागि मात्र नभई धार्मिक पर्यटन र अन्तरदेशीय पर्यटक आवागमनको वैकल्पिक मार्गका रूपमा विकास गर्न सकिने सम्भावना देखाएको छ।

हिल्सा–सिमकोट सडक स्तरोन्नति, नियमित हवाई सेवा, पर्यटकमैत्री पूर्वाधार, सीमा व्यवस्थापन र आवागमन प्रक्रिया सहज बनाउन सके हिल्साको प्रयोग बढाउन सकिने व्यवसायीको भनाइ छ।

प्राकृतिक विपत्तिका कारण सिर्जना भएको अहिलेको आकस्मिक आवागमनलाई दीर्घकालीन योजनासँग जोड्न सके हुम्लाको हिल्सा भविष्यमा मानसरोवर–कैलाश यात्राको महत्त्वपूर्ण ‘ट्रान्जिट हब’ बन्न सक्ने सम्भावना देखिएको छ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?