+
+
Shares

बाला त्रिपुरासुन्दरी मन्दिरबाट  हराएको भेटी २ पटक भेटियो, चोरी प्रकरण रहस्यमय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको त्रिपुरासुन्दरी मन्दिरबाट हराएको भनिएको भेटी सोमबार र मंगलबार करिब ५५ हजार र ५४ हजार रुपैयाँ बराबर गरी दुईपटक फेला परेको छ।
  • घटनापछि जिल्ला प्रहरी कार्यालय डोल्पाले अनुसन्धान अघि बढाएको छ र एकजना व्यक्ति हिरासतमा रहेको जनाएको छ।
  • सिसीटिभी फुटेज र अन्य प्रमाणका आधारमा वास्तविक रूपमा कति रकम चोरी भएको थियो भन्नेबारे प्रहरीले छानबिन गरिरहेको छ।

७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिरबाट हराएको भनिएको भेटी रकम दुई फरक दिनमा फेला परेपछि चोरी प्रकरण झन् रहस्यमय बन्दै गएको छ।

गत असोज ३ गते शनिबार बिहान करिब साढे ९ बजे मन्दिरको मुख्य पूजास्थलमा राखिएको भेटी रकम हराएको थियो। तर, घटना तत्काल सार्वजनिक भएन। आइतबार मात्रै सामाजिक सञ्जालमार्फत घटना बाहिरिएपछि मन्दिरबाट भेटी चोरी भएको विषय सार्वजनिक भएको थियो।

घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरी र प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल आइतबार साँझ मन्दिरमै पुगेर घटनाबारे जानकारी लिएका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धान जारी रहेकै बेला सोमबार साँझ मन्दिरको पश्चिमतर्फ रहेको टिमुरको रूखमा बाँधिएको अवस्थामा करिब ५५ हजार रुपैयाँ बराबरको भेटी फेला परेको भन्दै श्री बाला त्रिपुरासुन्दरी शुसंकादरी योगिनी उद्यान पीठले विज्ञप्ति जारी गर्‍यो। पीठले खोजतलासका क्रममा उक्त रकम फेला परेको जनाएको थियो।

फेला परेको रकम मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हवल्दार इन्द्रबहादुर जिसीले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए। प्रहरीले उक्त स्थानको मुचुल्कासमेत तयार पारेको जनाएको छ। तर, मुख्य पूजास्थलबाट हराएको भनिएको रकम मन्दिरको पश्चिमतर्फको टिमुरको रूखसम्म कसले, कसरी र किन पुर्‍यायो भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

त्यसको भोलिपल्ट मंगलबार दिउँसो पुनः मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ बराबरको रकम फेला परेको खबर सार्वजनिक भयो। स्थानीयका अनुसार दोस्रोपटक फेला परेको रकम मन्दिरकै पुजारीले ‘मन्दिरको पैसा’ भन्दै सार्वजनिक गरेका थिए।

एउटै चोरी घटनामा हराएको भनिएको रकम करिब ५५ हजार र ५४ हजार रुपैयाँ बराबरको गरी दुई फरक दिन र फरक स्थानमा फेला परेपछि वास्तविक रूपमा कति रकम चोरी भएको थियो भन्ने प्रश्नसमेत उठेको छ। पहिलोपटक भेटिएको रकम र दोस्रोपटक भेटिएको रकममध्ये कुनचाहिँ शनिबार हराएको भनिएको भेटी हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनामा एकजना प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। हिरासतमा रहेका व्यक्तिको नाम भने बुधबार दिउँसो मात्रै सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।

कसरी बाहिरियो भेटी चोरीको घटना ?

त्रिपुरासुन्दरी मन्दिरमा शनिबार स्थानीयहरू पाथी चढाउन जाने प्रचलन छ। वर्षौँअघि हराएको मन्दिरको मुख्य शिला पुनः प्राप्तिको कामना गर्दै स्थानीयले पाथी चढाउने गरेका छन्। सोही क्रममा शनिबार पनि ठूलो संख्यामा स्थानीय मन्दिर पुगेका थिए।

मन्दिरका पुजारीका अनुसार त्यस दिन पनि अन्य दिनजस्तै सामान्य रूपमा पूजा तथा पाथी चढाउने कार्य भइरहेको थियो। मन्दिरको मुख्य पूजास्थलमा केही दिनअघिदेखिको भेटी रकम गणना गरेर राखिएको थियो।

मुख्य पूजास्थलमा मन्दिरका मुख्य पुजारीबाहेक अन्य व्यक्तिको प्रवेशमा कडाइ गरिएको बताइएको छ। सर्वसाधारणलाई उक्त स्थानमा प्रवेश गर्न मात्रै होइन, नजिक जानसमेत अनुमति नरहेको बताइन्छ।

सोही क्रममा मुख्य पूजास्थलमा रहेका पुजारी केही समयका लागि बाहिर निस्किएका थिए। पछि पुनः भित्र गएर हेर्दा राखिएको भेटी रकम त्यहाँ थिएन। त्यसपछि मन्दिरभित्र खोजतलास गरिए पनि रकम फेला नपरेको बताइएको छ।

रकम हराएको जानकारी स्थानीयस्तरमा पुगे पनि घटना तत्काल सार्वजनिक भने भएन। प्रहरी स्रोतका अनुसार शनिबार साँझसम्म मन्दिरमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीसमेत घटनाबारे औपचारिक रूपमा जानकार थिएन।

हराएको रकम फेला पर्ने आशमा घटना बाहिर नल्याइएको हुन सक्ने त्रिपुराकोटका स्थानीयको भनाइ छ। तर, आइतबार बिहान केही व्यक्तिले सामाजिक सञ्जालमार्फत मन्दिरबाट भेटी चोरी भएको विषय सार्वजनिक गरेपछि घटना एकाएक बाहिरिएको थियो ।  त्यसपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो। आइतबार साँझ डीएसपी गिरीसहितको प्रहरी टोली मन्दिर पुगेर अनुसन्धान थालेको थियो।

मन्दिरमा सिसीटिभी छ, फुटेजले के देखाउँछ ?

त्रिपुरासुन्दरी मन्दिर परिसर सिसीटिभी क्यामेराको निगरानीमा रहेको छ। मन्दिरको पूर्वदेखि पश्चिम क्षेत्र तथा भित्री भागसमेत सिसीटिभीको निगरानीमा रहेको पुजारी राम प्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सिसीटिभीको निगरानी मन्दिरस्थित नेपाल प्रहरीको मन्दिर सुरक्षा पोस्टका इन्चार्जको कोठाबाट हुने गरेको छ ।

भेटी चोरी भएको भनिएको मुख्य पूजास्थलदेखि सोमबार रकम फेला परेको मन्दिरको पश्चिम क्षेत्रसम्म पनि सिसीटिभीको निगरानी रहेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार हराएको भनिएको रकम कसरी बाहिरियो र सोमबार टिमुरको रूखमा कसले रकम बाँधेर राख्यो भन्ने विषय सिसीटिभी फुटेजबाट खुल्न सक्ने देखिन्छ।
प्रहरी स्रोतका अनुसार सिसीटिभी फुटेज तथा घटनासँग सम्बन्धित अन्य प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ।

एउटै रकम दुई फरक दिनमा फेला

शनिबार हराएको भनिएको भेटी सोमबार मन्दिरको पश्चिमतर्फ फेला परेको भन्दै मन्दिरको आधिकारिक पीठले नै विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो। तर, त्यसको भोलिपल्ट मंगलबार पुनः करिब त्यति नै रकम मन्दिर परिसरमै फेला परेपछि घटनाले नयाँ मोड लिएको छ।

पहिलोपटक फेला परेको रकमलाई मन्दिरकै आधिकारिक पीठले खोजतलासका क्रममा भेटिएको भनेर सार्वजनिक गरेको हुँदा उक्त रकम मन्दिरकै हराएको रकम हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका रहेको बुझिएको छ।

तर, दोस्रोपटक फेला परेको रकमलाई समेत पुजारीले चोरी भएको भेटी रकम भएको दाबी गरेपछि कुन रकम वास्तविक रूपमा चोरी भएको थियो भन्ने प्रश्न थप जटिल बनेको छ।

प्रहरीले भने दुवै रकमको वास्तविकता, रकमको स्रोत र घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएको छ।

त्रिपुरासुन्दरीमा चोरीको घटना पहिलोपटक होइन

सबैको आस्थाको धरोहर मानिने त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको यो पहिलो घटना भने होइन। मन्दिरमा यसअघि पनि विभिन्न समयमा चोरीका घटना भएको स्थानीय बताउँछन्। यद्यपि ती घटनाहरू सबै सार्वजनिक हुने गरेका भने थिएनन्।

मन्दिरमा भएको सबैभन्दा ठूलो चोरीका रूपमा भने मुख्य भगवतीको शिला चोरी भएको घटनालाई लिइन्छ। स्थानीयका अनुसार २०५७ सालमा मन्दिरको मुख्य भगवतीको शिला चोरी भएको थियो।

हाल मन्दिरमा पूजा गर्दै आएका पुजारीकै पालामा शिला चोरी भएको बताइए पनि अहिलेसम्म उक्त शिला कसले चोरी गर्‍यो भन्ने विषय सार्वजनिक रूपमा टुंगो लाग्न सकेको छैन।

हराएको शिला पुनः प्राप्तिको कामना गर्दै स्थानीयले अहिले पनि दैनिक रूपमा स्थानीय देवता र धामीसमक्ष धाउने गरेका छन्। तर, उक्त शिला कहिले फेला पर्छ भन्ने अझै निश्चित छैन।

यसै पृष्ठभूमिमा अहिले मन्दिरबाट भेटी हराएको घटना, त्यसपछि दुई फरक दिनमा करिब उस्तै रकम फेला पर्नु, मन्दिर परिसरमा रहेको सिसीटिभी फुटेज हेर्ने हो भने घटनालाई थप चासोको विषय बनाएको छ।

अब प्रहरी अनुसन्धानले शनिबार मुख्य पूजास्थलबाट वास्तवमै कति रकम हराएको थियो, सोमबार टिमुरको रूखमा भेटिएको रकम कहाँबाट आयो, मंगलबार पुनः फेला परेको रकम के हो र यी रकमबीच आपसी सम्बन्ध के छ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने देखिन्छ।

अनुसन्धानको निष्कर्षपछि मात्रै त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणको वास्तविकता प्रष्ट हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?