News Summary
Generated by OK AI. Editorially reviewed.- लेखमा एल्गोरिदम र डिजिटल इकोचेम्बरले विचार, सूचना पहुँच र असहमतिप्रति सहनशीलता साँघुरो बनाइरहेको उल्लेख गरिएको छ।
- लेखले नेपालको राजनीति व्यक्ति–केन्द्रित भएको भन्दै संस्थाभन्दा नायक खोज्ने प्रवृत्ति लोकतन्त्रका लागि प्रत्युत्पादक हुने तर्क गरेको छ।
- लेखले वर्तमान सरकारलाई जनमतलाई अस्थायी विश्वास ठान्दै बहुमतसँगै अल्पमतका जायज प्रश्नलाई पनि सम्मान गरेर काम गर्न सुझाव दिएको छ।
मान्छे जसरी बाँच्छ, जसरी आफ्नो जीवन दैनिकीलाई नियमित गर्छ; त्यसरी नै उसले आफ्नो अनुभूतिजन्य अवस्थितिले खुला सांसारिकतालाई बुझिरहेको हुन्छ। त्यसैले त एउटा पुस्ता बदलिंदा मान्छेको उमेर मात्रै नभएर उसले संसारलाई हेर्ने चक्षु समेत पूरापूर बदलिन्छ।
मौन पुस्ता (हाम्रो हजुरबुबा पुस्ता) ले अभाव, दोस्रो विश्वयुद्ध र सामूहिक सङ्घर्षको समय देख्यो। बेबी बुमर्स (हाम्रो बुबा पुस्ता) ले आर्थिक विस्तार र सामाजिक परिवर्तन अनुभव गर्यो। जेन–एक्स सङ्क्रमणको पुस्ता बन्यो। मिलेनियल्सहरू इन्टरनेटसँग हुर्किए। त्यस्तै हाम्रो पुस्ता जेनजीका लागि डिजिटल संसार जीवनको छुट्टै हिस्सा होइन, जीवनकै एउटा स्वाभाविक वातावरण बनिरहेको छ।
परिवर्तित विश्व परिदृश्यसँगै हुर्किरहेको अल्फा पुस्ता र उदीयमान जेन–बेटा एआईको कुन इकोसिस्टममा हुर्किने हुन् ? अनुमान गर्न सकिने अवस्था नरहेको सम्बन्धित विषयका वैश्विक ज्ञाताहरू बताउँछन्।
हाम्रा अघिल्ला पुस्ताको संसार चौतारो, टोल, खेतबारी, मेलापात र चियापसलमा बन्थ्यो। मानिसहरू एकअर्कालाई प्रत्यक्ष सुन्थे, मौलिक छलफलहरू पनि आमनेसामने हुने गर्थे। अहिले त्यो परम्परागत मौलिक रैथाने जमघट मोबाइलको स्क्रिनमा रूपान्तरण भएको छ। समाचार, विचार, मनोरञ्जन, मित्रता, राजनीति र जीवनका दैनिक घटनाक्रम एउटै डिजिटल पर्दामा भेटिन्छन्- क्षणभरमै !
हामीले के खोजिरहेका छौं ? के हेरिरहेका छौं ? कहाँ रोकिएका छौं ? के मन परायौं ? भन्ने आधारमा एल्गोरिदमले अर्को कन्टेन्ट र फिड हाम्रो स्क्रिनमा ल्याइदिन्छ। हामीलाई आफैंले आफ्नो फिड रोजेका छौं जस्तो लाग्न सक्छ; तर त्यसो भने हुँदैन।
आजको एटेन्सन इकोनोमीको युगमा एल्गोरिदमले हाम्रो विचार शून्यबाट बनाइराखेको हुँदैन। उसले हाम्रो एटेन्सनको दिशा, सूचनाको पहुँच र देखिने डिजिटल स्फेयरको दायरालाई स्वतः प्रभावित गरिरहेको छ। एकै खाले विचारसँग सहमत हुने कन्टेन्ट बारम्बार देखिंदा त्यो साधारण र युजुअल लाग्न थाल्छ।
हामी अभ्यस्त भइसकेका छौं कि- मोबाइलको स्क्रिन स्क्रोल गरिरहँदा आफ्नै अभिमतसँग मिल्ने आवाज वा सामग्री धेरै सुनिंदा आफ्नो मत बहुमत जस्तो लाग्न सक्छ। फरक विचार आफ्नो डिजिटल स्क्रिनबाट हराउँदै जाँदा आज हामीलाई अरूका जायज असहमतिहरू पनि अस्वाभाविक सुनिन्छन्।
अब यहाँनेर एल्गोरिदम प्रेरित प्राविधिकताको सन्दर्भ ज्यादा सान्दर्भिक भएर आउँछ; जुन जटिल, दुरुह र दुर्ज्ञेय छ। यसले एउटा यस्तो चक्र निर्माण गरिदिन्छ, जसले हामीलाई बखतैपिच्छे एउटै कुरा दोहोर्याएर देखाउँछ। यसले थोरैथोरै गरेर हाम्रो स्वतन्त्रतालाई विस्तारै आहत तुल्याउँदै लैजान्छ; तर हामी आफैंले त्यसको भित्रिया सूत्र थाहा पाएका चाहिं हुँदैनौं।
यो क्रम दोहोरिरहन्छ, आफ्नै नियमिततामा। यता भने हाम्रा धारणाहरू बनिरहेका हुन्छन्, त्यही एल्गोरिदमको रिफरेन्समा। यसरी हाम्रो निहित बुझाइ (पर्सेप्सन) कसरी बनिरहेको छ भन्ने बारेमा हामी सचेत छौं या छैनौं ? आजको लेख यही सन्दर्भमा केन्द्रित छ।
डिजिटल इकोचेम्बरको उकुसमुकुस
छोटो समयमै हाम्रो दैनिक जीवन र आफूलाई प्रस्तुत गर्ने नियमित सार्वजनिक शैलीमा व्यापक परिवर्तन आएको छ। हामी कसरी बोल्छौं ? के देखाउँछौं ? के लुकाउँछौं ? र अरूले हामीलाई कसरी हेरून् भन्ने चाहन्छौं ? हाम्रा यी दैनिक व्यवहारमा डिजिटल देखावटीपनको प्रभाव अतिरिक्त गहिरिंदै गएको छ।
तपाईं–हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल सूचना आदानप्रदानको माध्यम मात्रै हो भन्ने परम्परागत मान्यतालाई आज हाम्रा सम्बन्ध, रुचि र त्यसमा हाम्रो उपस्थितिले प्रतिस्थापन गरिदिएको छ। यही वातावरणमा डिजिटल इकोचेम्बरले आफ्नो यात्रारम्भ गर्छ।
माथि नै भनिसकियो कि- हामीले मन पराएका कुरा फेरि–फेरि देखिन्छन्; आफूले विश्वास गरेका विचारसँग मिल्ने मानिसका सही–बेसही तर्कहरू सञ्चित हुँदै जान्छन्। आफ्ना विचार–भावनासँग नमिल्ने मतहरू पर धकेलिन्छन्। विस्तारै असहमतिहरू असहज मात्रै नभएर आक्रोशका अंश बन्छन्; र त्यही व्यर्थ असन्तोष असहिष्णुतामा बदलिन बेर लाग्दैन। हामी आफ्नै क्लिक, सर्च, रुचि र प्रतिक्रियाबाट त्यसको आकार बनाउँछौं। एल्गोरिदमले त्यसलाई अझ पोलिस गरिदिन्छ।
तर त्यस बाहिरको संसार हामीले हेरेको, देखेको साँघुरो स्क्रिनभन्दा अथाह ठूलो छ, आयामिक छ। आज हामीसँग जति धेरै सूचनाको बाढी छ, दृष्टिकोणको विविधता त्यही अनुपातमा बढेको देखिंदैन।
एउटै विषय सयौं पटक दोहोरिरहँदा त्यसमा सत्यको वजन अग्लिएको जस्तो लाग्नु स्वाभाविक हो। तर कुनै पनि लोकतान्त्रिक समाजमा आफ्नो विश्वाससँग मिल्ने कुरा सुन्ने मात्र होइन, त्यसलाई चुनौती दिने प्रतिआवाजलाई स्वीकार्ने सहनशीलता हुनुपर्छ। आफू गलत हुनसक्ने सम्भावनालाई स्पेस दिनु लोकतान्त्रिक सामाजिक संस्कारको आधार हो।
अर्कोतर्फ डिजिटल इकोचेम्बरले यही स्पेसलाई साँघुरो बनाइरहेको छ। आज हामीले परको सत्य, वरै देखिरहेका छौं। विषयवस्तुको गाम्भीर्यभन्दा एक्सक्लुसिभ शीर्षकले मोहित हुनु हाम्रो नियति हुन पुगेको छ।
सधैं नायक खोजिरहने हाम्रो समाज
विगत डेढ दशकको हाम्रो आन्तरिक राजनीति मन लागे आई लभ यु फलानो र मन नलागे फलानो चोर, देश छोड् जस्ता क्लिसे नाराहरूको सङ्गम बनेको छ। कुनै व्यक्तिले राजकीय जिम्मेवारीमा बसेर छुमन्तर गर्छु, गरिदिन्छु भन्छ भने त्यस्ता पात्र र प्रवृत्ति हाम्रो जस्तो विविधताले सुसंरचित देश र समग्र लोकतन्त्रको ब्लुप्रिन्टकै लागि प्रत्युत्पादक ठहर्छ।
यस्तो छुमन्तर प्रवृत्तिलाई मलजल गर्ने क्याडर दस्ता आजको समयमा पनि स्वचालित छ, त्यसको स्वरूप फरक हुन सक्छ। हाम्रो समाजमा समाधानलाई संस्थाभन्दा व्यक्तिमा खोज्ने पुरातन सामाजिक मनोविज्ञान जबर्जस्त एउटा ऐंजेरुका रूपमा कतै न कतै जीवित छ।
केही समस्या आइलाग्यो- कोही आएर समाधान गरिदेओस् ! राजनीति बिग्रियो- एक नेता आओस् ! देश बनेन- कुनै बलियो मान्छे आएर बनाइदेओस् ! यस्ता भाष्यहरू सुनिरहेका छौं हामी, आजपर्यन्त।
रोचक कुरा के छ भने- हामी नेपालीले हुनैपर्ने परिवर्तनलाई पनि प्रायः कुनै व्यक्तिको आगमनसँग जोडेर हेर्ने गरेका छौं। अस्थिर र गैरसंवेदनशील समाजले जटिल समस्याको उत्तर जटिल संरचनामा होइन, चमत्कार वा जादु गर्छु भनिदिने कुनै व्यक्तिमा खोज्नु सहज मानिदिन्छ। त्यसैले कसले देश बनाउँछ ? भन्ने प्रश्न कस्तो संस्था बनाउने ? भन्दा बढी आकर्षक सुनिन्छ।
संस्थागत लोकतन्त्रमा सरकार फेरिन्छ, नेतृत्व फेरिन्छ, राजनीतिक दलहरू हार्छन्–जित्छन्; तर संस्था, कानून, प्रक्रिया र सार्वजनिक उत्तरदायित्वको निरन्तरता रहन्छ। हाम्रोमा भने अझै पनि को आउँछ ? भन्ने प्रश्न प्रधान हुँदै गर्दा कस्तो संस्था बनाउने ? भन्ने प्रश्न गौणप्रायः छ।
नर्वे, फिनल्यान्ड र स्विडेन लगायत स्क्यान्डिनेभियन मुलुकहरूको राजनीतिमा नेतृत्व परिवर्तनले सरकारको दिशा बदल्छ; तर राज्यको संस्थागत चरित्र कहिल्यै बदलिंदैन। त्यहाँ प्रणाली व्यक्तिभन्दा पुरानो हुन्छ, राज्यका संस्थाहरू सरकारभन्दा दीर्घजीवी हुन्छन् र सार्वजनिक प्रशासन राजनीतिक स्मृतिभन्दा लामो हुन्छ। त्यसैले नर्डिक देशहरूको लोकतन्त्र कुनै व्यक्तिको लोकप्रियतामा होइन, नेता बदलिंदा पनि राज्य नडगमगाउने क्षमतामा अडेको छ।
हामीले स्विडेन, नर्वे र फिनल्यान्डका नेता र नेतृत्वको नाम कमै सुनेका छौं, तर त्यहाँको लोकतन्त्रबारे सबैले सुनेको हुनुपर्छ।
वैश्विक राजनीतिमा डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन वा नरेन्द्र मोदी जस्ता व्यक्तिको वरिपरि राजनीति केन्द्रित छ। हुनत अमेरिका र भारत दुवै देश बलियो लोकतन्त्र भएका राज्य हुन्; तैपनि त्यहाँ नीतिभन्दा छवि, संस्थाभन्दा अनुहार र विचारभन्दा व्यक्तिप्रतिको निष्ठा ठूलो देखिन्छ।
देश, राज्य र राष्ट्र कुनै एक व्यक्तिले बनाउने होइन। बलियो नागरिक चेतना, अविच्छिन्न दीर्घायु संस्था र जवाफदेही लोकतान्त्रिक नेतृत्वले बनाउने हो। एउटा सत्य के हो भने- वर्तमान विश्व, डिजिटल संसारको परम अस्तव्यस्ततामा अल्झिंदा समग्र विश्व समाज नै राजनीतिक र मनोवैज्ञानिक विचलनबाट आजित भई सार्वजनिक मामिलाहरूको वस्तुगत परख गर्न अक्षम भइसकेको छ। राज्यप्रणालीमा पनि कोही आएर, क्षणभङ्गुरमै सारा समस्यालाई नामेट गरिदेओस् ! चाहन्छ।
हामीले बुझ्नैपर्छ- जुन समाजले नायकको आवश्यकता कम गर्दै जान्छ, त्यो समाज नै जीवन्त लोकतन्त्रको बलियो प्रतिमूर्ति हो। त्यसो त हाम्रो नेपाली समाज पनि कुनै एउटा व्यक्तिवृत्तलाई नायक बनाउने सामूहिक मनोवैज्ञानिक बोझबाट बाहिर आउन जरूरी छ।
सचेत नागरिकले प्रश्न गर्छन्, भक्तिगान गर्दैनन्
गत फागुनको परिस्थितिजन्य निर्वाचनबाट अभूतपूर्व रूपमा जनअनुमोदित भएको वर्तमान सरकारसँग डेलिभरी दिने भरपुर संस्थागत राजनीतिक अवसर छ। नेपाल जस्तो लामो राजनीतिक सङ्क्रमण, प्रक्रियागत पुनर्संरचना र सामाजिक रूपान्तरणको यात्रामा रहेको देशका लागि यो प्रश्न झन् विचारणीय हो।
करिब दुईतिहाइको बलियो जनमत पाएको सरकारसँग अब काम गर्न पाइएन भन्ने बहाना गर्ने कुनै ठाउँ छैन। नयाँ सरकारसँग अवसर छ, शक्ति छ र वैध जनादेश पनि। सरकारको वस्तुनिष्ठ मूल्याङ्कन उसले पाएको शक्तिलाई कति जिम्मेवार ढङ्गले प्रयोग गर्यो ? भन्ने आधारमा हुनेछ, भइरहेको छ।
अझ महत्त्वपूर्ण कुरा, तत्कालै सरकारलाई प्रभावकारी रूपमा काउन्टर दिने विश्वासिलो प्रतिपक्ष निर्माण भइहाल्ने अवस्था देखिंदैन र यो सरकारले अत्यन्तै सन्तुलित सजगताका साथ आफ्नो नियमित कार्यकाल पूरा गर्नुको विकल्प पनि देखिंदैन, देखिनुहुँदैन। अर्कोतिर संसद्मा बलियो प्रतिपक्ष नहुँदा सरकारलाई नियन्त्रण गर्ने पहिलो शक्ति स्वयं सरकारको राजनीतिक विवेक हो।
सरकारले बुझ्नुपर्छ- गत निर्वाचनबाट आफूले प्राप्त गरेको जनमत स्थायी सम्पत्ति होइन। त्यो जनताले दिएको अस्थायी राजनीतिक विश्वास मात्रै हो। र, यो पनि बुझ्नुपर्छ कि- कुनै पनि सत्तालाई मन नपर्ने आवाज लोकतन्त्रका लागि अमृतसरह हुन्छ।
लोकतन्त्रमा बहुमतको सरकारसँगै अल्पमतको जायज प्रश्न उत्तिकै निर्णायक हो; यो शासकीय सत्य सरकारले संयमतापूर्वक समझमा राख्न आवश्यक छ। संसदीय लोकतन्त्रमा बहुमत सरकार सञ्चालनका लागि आवश्यक शक्ति हो, तर बहुमत शासनको सर्वोपरिता हुँदै होइन।
हाम्रो हिजोआजको सामाजिक प्रवृत्तिमा (विशेषतः सामाजिक सञ्जालमा) खड्किएको एउटा वस्तुगत परिवेश के हो भने- प्रश्न कसलाई र केका लागि गर्ने ? भन्नेमा नै अन्योल देखिने गरेको छ।
आफ्नो सङ्कीर्ण धार्मिक आकाङ्क्षाको पूर्ति गर्न कथित डिफेम्ड रिलिजियस फिगरहरूलाई जेन–जी शहीदहरूको वार्षिक स्मृति समारोह जस्तो पवित्र फोरममा सार्वजनिक स्पेस दिएर विषाक्त अतिरञ्जनालाई प्रोमोट (प्रवर्धन) गर्नेहरूलाई प्रश्न नगरेर कसलाई गर्ने हो ? राज्य र धर्म सँगसँगै हिंड्नुपर्छ, धर्मलाई राजनीतिमा समायोजन गर्नुपर्छ भन्नेहरूलाई प्रश्न नतेर्स्याएर कसलाई तेर्स्याउने हो ?
धार्मिक आकाङ्क्षा र धर्मसँग सम्बन्धित हरेक यत्न/प्रयत्न विशुद्ध सम्बन्धित व्यक्तिको वैयक्तिकतासँग जोडिएको र कुनै धर्मको सम्बन्ध राज्यसँग हुँदैन भनेर बुझाउने कसले यहाँ ? घिसार्छु, लतार्छु र पछार्छु जस्ता अतिशयोक्तिपूर्ण शब्द व्यञ्जनाले सञ्जाल दूषित बनिरहँदा हामी सामाजिक प्रचलनको कुन कसीमा उभिंदै गएका छौं ? प्रश्नहरू गरिरहनुपर्ने नै यस्तै निन्दाजनक प्रवृत्तिमा होइन र ?
लोकतन्त्रको यो आधारभूत शासकीय आयाम नागरिक चेतनाले बुझ्छ, बुझ्ने प्रयास गर्छ। तर एकोहोरो र अतिवादी समर्थक चेतनाले बुझ्दैन, नबुझ्ने रहेछ। शक्ति, सत्ता र अतिरञ्जना विरुद्ध सचेत प्रश्न गर्नु विरोध नभई लोकतन्त्रप्रतिको आधारभूत नागरिक दायित्व पो हो त ! तर हाम्रो परिवर्तित डिजिटल समाजमा प्रश्नको सार्वजनिक औचित्यभन्दा प्रश्नकर्ताको पक्ष खोज्ने प्रवृत्ति झाँगिंदै गएको छ।
नागरिकमा समालोचनात्मक सोच र सचेत स्वभाव हुनु लोकतन्त्रको आधारभूत पूर्वशर्त मात्र होइन, यसको महत्त्वपूर्ण पूर्वाधार पनि हो। असल राजनीतिक प्रणालीका लागि असल राजनीतिज्ञ मात्र पर्याप्त हुँदैनन्। आफ्नो अधिकार र दायित्व बारे सचेत हुँदै सत्तालाई प्रश्न गर्न सक्ने, उसले गरेका निर्णयलाई विवेकपूर्ण ढङ्गले मूल्याङ्कन गर्न सक्नुका साथै गलत कुराको प्रतिरोध गर्ने नागरिक आवश्यक हुन्छन्।
चिन्ताजनक कुरा के छ भने- हामीकहाँ सामाजिक सञ्जालमा प्रश्न गर्नेलाई सामूहिक आक्रमणको विषय बनाइन्छ, आजभोलि। नागरिक हुनुको स्वाभाविक नित्य अभ्यासमाथिको यो निर्लज्ज गतिविधि आलोच्य त छँदैछ, अक्षम्य पनि। सत्तारूढ दलका शुभेच्छुक भनौं या समर्थकहरूमा आफूलाई सही लागेको धारणाभन्दा बाहिरको वास्तविकतालाई स्वीकार गर्ने पेसेन्स (धैर्य) निख्रिएको छ। वस्तुतः भक्तिलाई तर्क आवश्यक पर्दैन। उसलाई प्रमाणभन्दा अन्धभक्ति सर्वथा लाग्छ।
त्यसपछाडिको निर्णायक स्रोत एल्गोरिदम हो भन्दा अत्युक्ति नहोला। किनकि एल्गोरिदमले उनीहरूलाई बन्धकमा राखेको छ। जसले आफूलाई क्रिटिकल एजेन्सी हुँ भन्छ, उसले आफ्नो विचारलाई अन्तिम सत्य ठान्दैन। उसले आफ्नो प्रिय नेता, प्रिय दल र प्रिय विचारमाथि पनि आलोचनात्मक दृष्टि राख्छ। प्रमाण बदलियो भने आफ्नो धारणा बदल्न सकिन्छ भन्ने बौद्धिक विनम्रता उसमा हुन्छ।
म गलत हुन सक्छु र त्यसबाट सिक्छु भन्ने समझ नै बौद्धिक विनम्रताको उत्कर्ष रूप हो। दुर्भाग्यवश, रास्वपा प्रो–क्याडरहरू यस श्यामश्वेत सत्यलाई नजरअन्दाज गरिरहेका छन्।
सरकारलाई पङ्क्तिकारका केही सचेत सुझाव छन्- नेपालको राजनीतिक इतिहासमा धेरै सरकारहरू विपक्षीको दबाबले होइन, आफ्नो शक्तिको बेमुनासिव प्रयोगले कमजोर भएका छन्। उदाहरणका लागि पूर्वराजा भनिने ज्ञानेन्द्र शाहको शाही कदम–२०६१ नै उनको राजनीतिक जीवनको प्रत्युत्पादक प्रस्थानविन्दु बन्यो।
बहुसङ्ख्यक घण्टीवाहक सांसद र शुभेच्छुकहरूले भनिरहने “३५ वर्षसम्म के भएको थियो र ?” भन्ने फ्रन्टलाइन न्यारेटिभ चाहिं अब काम नलाग्ने भइसक्यो। तपाईंहरूको ३५ वर्षे सूत्रले सधैं राजनीतिक ओत दिंदैन। “सबै हामीले गरेका हौं र गर्छौं” भन्नेहरूको ह्याङओभर त अद्यापि पुरानाहरूमै देखिन्छ। अझै पुरानैहरूको सिको गर्ने हो ? नयाँ भनिएका तपाईंहरूले पनि ?
हुनत, अहिलेको संसद्का अधिकांश सांसद र सरकारका विषयगत जिम्मेवारीमा रहेका कार्यकारिणीहरूलाई आफ्नो देशको निकट विगतकै न्यूनतम इतिहास–चेत छैन भन्ने सुनिन्छ; कामना गर्छु, मैले गलत सुनेको हुन सकूँ ! राज्यसञ्चालनमा सामाजिक सञ्जालका लाइक, डिस्लाइक र फलोअर्स भन्दा उक्त राज्यको राजनीतिक–सामाजिक इतिहासप्रतिको सुझबुझ महत्त्वपूर्ण हुने गर्दछ।
राज्य सञ्चालनको मूलधारमा रहेकाहरूले देशको इतिहास, संस्कृति, प्रगतिशील परम्परा र मूल्यमान्यता बारेको आधारभूत बुझाइ राख्नैपर्छ। यो प्रत्येक राजनीतिक प्राणीका लागि अनिवार्य पूर्वशर्त हो।
अन्त्यमा; हामी नागरिक वृत्तले आफैंले आफैंलाई प्रश्न गरिरहनुपर्ने हो- भोट मार्फत हामीमा निहित सार्वभौमसत्ताको हस्तान्तरण गरेपछि हामीले आफ्नो विवेक कसैलाई हस्तान्तरण गर्यौं कि जोगाएर राख्यौं, राखेका छौं ?
हाम्रो यही विवेकले नागरिकलाई प्रो–समर्थकबाट जिम्मेवार नागरिक बनाउँछ। हामी समर्थक र दलगत क्याडरबाट सचेत र पूर्ण नागरिक बन्न सकेको दिनदेखि नेपालको लोकतान्त्रिक यात्रा जीवन्त, अग्रगामी र गतिशील बनेको हुनेछ।
प्रतिक्रिया 4