Comments Add Comment

‘पिठो बेच्नेले हैरान गरे, सहनुको पनि हद हुँदोरहेछ’

२२ भदौ, काठमाडौं । कुनै पनि पेशा–व्यवसाय वा अर्थतन्त्रको मूख्य विकास र सुदृढीकरण आर्थिक वृद्धिसँग सम्बन्धित हुन्छ, त्यो भनेको उत्पादन हो । उत्पादन नभए सबै व्यवसायलाई समस्या हुन्छ । आर्थिक वृद्धि भएन भने यसको जगमा सृजना हुने रोजगारी, राजश्व, सामाजिक सुरक्षा सबै प्रभावित बन्छन् ।

अहिले देशले ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ । सरकारले बढाएर भन्यो कि भन्ने लाग्छ भने विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संघ–संस्थाले पनि त्यही अंक बोलेका, लेखेका छन् । समग्रमा भन्नु पर्दा मुलुकको क्षमता बढेको छ । त्यही जगमा व्यवसायिक वातावरण बन्न सहयोग पुगेको छ ।

अहिले छिमेकी मुलुकमा आर्थिक बृद्धि ७ बाट ५ मा झर्ने भो भनेर नेपालमा धेरै रुवाबासी सुनियो । तर, हाम्रो आफ्नै आर्थिक बृद्धिबारे चिन्ता गरेको मैले कमै पाएँ । छिमेकी देशको आर्थिक वृद्धिको असर हामीलाई केही मात्रामा पर्ला । कुनै मुलुक ५ प्रतिशतको आर्थिक वृद्धि भइरहँदा खेरी यूरोपियनहरुले दशकौंदेखि त्यो अंकको वृद्धि देख्न पाएकै छैनन् । तीन प्रतिशतको आर्थिक वृद्धिलाई उनीहरु ‘ग्रुम’ भएको अर्थतन्त्रको रुपमा मान्छन् । यता, एशियाली मुलुकहरुले दोहोरो अंकको आर्थिक वृद्धि गरिदिएर अलि हाम्रो बानी बिगारेका छन् ।

एक दशकसम्म दोहोरो अंकको आर्थिक वृद्धि गर्नु भनेको चमत्कार हो र त्यो सधै हुंँदैन । उच्च आर्थिक वृद्धि निश्चित समयसम्म मात्रै हुन्छ । जब सामान्य अविकसित अवस्थाबाट विकसित हुँदै मध्यस्तरीय आय हुने मुलुकमा पुग्छ । त्यसपछि त्यो आयको ट्र्यापमा आफै पर्छ । त्यो अवस्थामा मुलुकमा खटेर १२/१४ घण्टा काम गर्ने शैली हटेर जान्छ । मानिसहरु थोरै ज्यालामा काम गर्नै चाहँदैनन् । अनि, त्यो मुलुकको प्रतिस्पर्धात्मक क्षमता घट्छ । निर्यातमा आधारित मुलुकहरुको निर्यात भने जति नहुने बित्तिकै आर्थिक वृद्धि भने जस्तो हुँदैन ।

अहिले व्यापारमा देखिएको विश्वव्यापी तनाबले निर्यातलाई ध्यान दिएका मुलुकहरुमा समस्या परेको छ । यो बिस्तारै हल हुने विषय हो । विश्व आर्थिक र ब्यापारीक रुपमा खुलापनबाट पछाडि फर्कन सक्दैन । हाम्रो जस्तो सानो देशमा पनि हुने त्यही हो । आर्थिक वृद्धि त भयो तर यसले रोजगारी सृजना गरेन भने हुन्छ के ? नेपालीले चिन्ता गर्नुपर्ने कुरा चैँ यो हो । वार्षिक रुपमा हामीलाई ५ लाख रोजगारी चाहिएको छ, के हाम्रो आर्थिक वृद्धिले यसलाई सघायो ? हामीले सृजना गरेको रोजगारीको अवसर साँच्चै हाम्रै लागि भयो त ? कि हाम्रो रोजगारी अरु कसैका लागि अवसर बनेको छ ? यतातर्फ चिन्तन गरेको मैले देखिनँ ।

अहिले हामीले स्थायी लेखा नम्बरको व्यवस्था अनिवार्य गरेपछि हाम्रो रोजगारी कस्का लागि अवसर बनेको रहेछ भन्ने खुल्न थालेको छ । अहिले हरेक दिन व्यवसायीहरु म कहाँ आउँछन् र भन्छन् मेरा श्रमिकहरु त भारतीय छन् मलाई अप्ठ्यारो पर्यो । कतिपय व्यवसायीहरुले त आफ्ना श्रमिकको नागरिकता नभएकाले उनीहरु कुन देशका हुन् भन्ने समेत पत्ता नलागेको गुनासो गरेका छन् । यसको मतलब कुराहरु त अब उदाङ्गिदै गरेका छन् । हामीले हाम्रो लागि सृजना गरेको रोजगारी अरुका लागि अवसर बनेको छ । हामीले सृजना गरेको रोजगारीबारे हाम्रो जनतालाई किन थाहा भएन वा त्यो रोजगारी हामी नेपालीको रोजाइको थिएन वा भएन मनन् गर्नु जरुरी छ ।

देशको आर्थिक वृद्धि त भयो, तर कसको कारणले ? कुनै एक उद्योगले धेरै नाफा कमाएर वा कुनै खास व्यवसाय बढेर हो कि ? वित्तीय क्षेत्र मात्रै बढेर हो कि ? या कृषि वा व्यापारको मात्रै कारण हो कि ? भन्ने कुरामा पनि गहन छलफल हुन जरुरी छ । गत वर्षको आर्थिक वृद्धि सबै क्षेत्रगत रुपमा सन्तुलित र उत्साहजनक छ । कृषि वृद्धि ५ प्रतिशतभन्दा माथि, अरु केही क्षेत्रको वृद्धि ८ प्रतिशत भन्दामाथि र समग्रमा आर्थिक वृद्धि ७.१ । कुनै यस्तो क्षेत्र छैन जसले कम योगदान गरेको होस् । सबै क्षेत्रको आर्थिक वृद्धि सन्तुलित छ ।

आर्थिक वृद्धि त भयो तर आर्थिक क्रियाकलाप काठमाडौं लगायतका शहर अथवा तराइ केन्द्रित मात्रै पो भयो कि भन्ने प्रश्न पनि होला । म दावा गर्छु, सातै वटा प्रदेशको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा छ । यो आफैमा एउटा क्षेत्रीय र भौगोलिक सन्तुलनको राम्रो उदाहरण हो । यसले के देखाउँछ भने संघीयता कार्यान्वयनको चरणमा आर्थिक गतिविधि कान्छो स्थानीय तहसम्म पुग्यो । तलैदेखि आर्थिक वृद्धिको जग बलियो देखिन थाल्यो । सबै क्षेत्रहरु सन्तुलित रुपमा विकास हुँदैछन् भन्ने यो उदाहरण हो । आर्थिक विश्लेषणका पाटोहरु अब संघीय तहबाटै हुनु पर्छ ।

अहिले ७६१ स्थानीय सरकारका छन् । उनीहरुका आ–आफ्नै खर्च प्रणाली, राजश्वहरु छन् । त्यसको बाँडफाँड हुन्छ, एक–अर्का सरकारलाई सघाउने र समन्वयका कुराहरु पनि छन् । यो विषयमा आर्थिक पत्रकारको कलम चल्नु पर्छ । वित्तिय बजारलाई स्थानीय तहमा पु¥याउने क्रममा वित्तिय प्रणालीको सबै भन्दा ठूलो क्षेत्र बैकिङ दुई वर्षअघि र अहिलै धेरै बिस्तार भएको छ । दुई वर्षमा बैंकका शाखाहरु ५० प्रतिशतले बढेका छन् । तीन–चार वर्षको हिसाव गर्ने हो भने त्यो संख्यालाई दोब्बर नै मान्नु पर्छ ।

हामी सरकारमा आएकै डेढ वर्षको अवधिमा ६ हजारबाट साढे ८ हजार संख्या पुगेको छ । मेरो जीवनकालमा वीमाको दायरामा ५ प्रतिशतभन्दा धेरै मान्छे आए भन्ने मैले सुनेकै थिइन । म अर्थमन्त्री नभएकै अवस्थामा वीमाको दायरामा १० प्रतिशत मानिसहरु आए भन्ने सुन्दा म खुसी भएको थिएँ । अघिल्लो वर्षको अन्तसम्म म सुन्दै थिएँ, वीमाको दायरामा १९ प्रतिशत भन्दा धेरै मानिसहरु आए । अब तथ्याङ्कले भन्दैछ वीमाको दायरा २५ प्रतिशत पुग्दैछ ।

साढे तीन सय हाराहारीबाट बैंक–वित्तको दायरा साढे सात सय पुग्न थाल्यो । बैंकहरुको नाफा बढ्दैछ, यतिका धेरै विमा कम्पनीहरु एकैपटक आउँदा पनि सञ्चालन वर्ष नै नफामा गएका छन् । उद्योगहरुको क्षमता विस्तार भएको छ । औद्योगिक क्षेत्रको आर्थिक गतिविधि पनि विस्तार भएको छ । सेवा क्षेत्रका अरु व्यवसाय पनि विस्तार भएका छन् । तर, तीनको कारोबार हुने सेयर बजारमा चै प्रशस्त गुनासो सुन्न परिरहेको छ ।

सेयर बजारमा करका विषय होलान् भन्ने पनि सुनियो, तरलताको विषय होलान् भन्ने पनि सुनियो तर मैले बुझ्दै गएँ । भ्याटको कुरा अर्थमन्त्री नहुँदै अर्थमन्त्रालयसँग समन्वय गरेर समाधान गरिदिएँ । पूँजीगत लाभकरको विषयमा केही अन्योल देखिएका छन्, त्यो समाधान उन्मुख छ । नेप्से र धितोपत्र बोर्डलाई मेरो आग्रह छ तपाईंहरु नियमक निकाय हो, जिम्मेवार भएर काम गर्नुस् । काम गर्न नसकेको भनेर नियमकको पनि नियमक बन्न अर्थमन्त्रालयलाई नदिनुस् ।

हस्तक्षेप गर्नुपर्ने अवस्था नआओस् । अंग्रेजीमा एउटा उखान छ, यु क्यान टेक द हर्स टु दी वाटर बट यु क्यान नट मेक इट ड्रिङ्क । अर्थात् घोडालाई पानीमा लग्दिने काम गरेका छौं । पानी पिउने–नपिउने घोडा जान्दछ । मलाई लाग्छ घोडा सक्षम छ र तिर्खाएको पनि छ । पानी खान्छ ।

तपाईहरुलाई सेयर बजार खस्किन्छ कि भन्ने चिन्ता छ तर अर्थमन्त्रीलाई आर्थिक वृद्धि थप माथि उठाउन सकिन्न कि भन्ने चिन्ता छ । अलि ठूलो चिन्ता बोकेर हिँड्नुपर्छ अर्थमन्त्रीले । समग्र अर्थतन्त्रको विकास गर्ने जिम्मेवारी भएको मानिसले अरु सबै यसैका अंग हुन् भन्ने राम्ररी बुझेको छ । साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न हामीले कति प्रतिशत लगानी गर्नुपर्छ, त्यसको अनुमान हामीले गरिसकेका छौं । त्यो लगानीको लागि सरकारले कति पूँजीगत खर्च गर्नु पर्छ ? हामीले बजेटमा पनि भनेका छौ त्यसै अनुसारको राजश्व उठाउने र खर्च गर्ने भन्नेमा हामी स्पष्ट छौं । सँगसँगै नीजि क्षेत्रको लगानी पनि अपरिहार्य छ ।

६–७ खर्ब रुपैयाँ बैकिङ्ग प्रणालीबाट वित्तीय प्रणालीकै लगानीमा जानुपर्ने हुन्छ । त्यसमा ३० प्रतिशत इक्वीटीको अनुपात हो भने पूँजी बजारबाट पैसा उठाउनै प¥यो । पूँजी बजारलाई हामीले हाम्रो लगानीको आवश्यकता पूरा गर्न र ऋणको बजारले पुरा गर्न नसक्ने र त्यसलाई पूरा गर्न ईक्वीटी मार्केटमा अघि बढाउन पनि धितोपत्र बजारको भूमिका महत्वपूर्ण छ । त्यो भनिरहँदा व्यवसायीहरुले, लगानीकर्ताले मलाई पूँजी पुगेन, बजारबाट सेयर निष्कासन गर्दा सेयर बिकेन भने त्यो त राम्रो कुरा भएन । सेयर बजारको विश्वास बढाई राख्न पनि अर्थतन्त्रलाई उँभो लगाई रहनु जरुरी छ । तर, बजार बढाउने–घटाउने खेल खेल्नुहुन्छ भने आगोसँग नखेल्नुस् भन्ने मेरो भनाइ हो, यसले खेल्नेलाई पनि जलाउन सक्छ ।

बजेट भाषण पछाडि सम्भवत म साढे दुई महिना धेरै बोलिन । अनि चामल त कता हो कता, पिठो बेच्नेले हैरान गरे । बेच्दा बेच्दै यस्तो गरे कि यो चामल व्यपारी त कामै नलाग्ने हो भन्ने अवस्था बन्यो । कसैले गालैमा चड्कन हान्यो भने सहिरहने हो कि फर्काउने हो ? सहनेको पनि हद हुँदो रैछ । महात्मा गान्धीले त एक तर्फको गालामा थप्पड हान्दा अर्को गाला थाप्नु हुन्थ्यो । हामीले त सकेनौं अब । दुई चार चड्कन हानिसक्नु भो । हामी चड्कन फर्काउँदैनौ तर हाम्रो कुरा पहिला सुन्नुस् । हाम्रो कुरा बुझेर मात्रै तपाईहरु चड्कन हान्नुस् । नत्र तपाईले हानेको चड्कनले तपाईलाई नै पिडा बोध होला । गल्ती गरेँ भन्ने महशुस होला । त्यो पीडा बोधले तपाइँको करिअर बिग्रेला भन्ने हाम्रो सोच हो ।

मेरो भनाइ के हो भने छलफल गरौं, कहाँनेर बिग्रीएको छ अर्थतन्त्र ? म पनि व्यवसायिक करिअरबाट आएको मान्छे हुँ । पद अस्थायी हुन्छ । म सत्यको जीत हुन्छ भन्ने कुरामा विश्वास गर्छु । हाम्रो चामललाई कनिका न भन्दिनुस, चामल कहाँ टुक्रिएको छ, त्यो भन्नुस् । मक्किएको छ नभन्नुस्, जे देख्नु भएको छ त्यहि भन्नुस् ।

हामीले गत वर्षलाई समृद्धिको आधार वर्ष भन्यौं । यससपालीलाई विकास वर्ष भनेका छौं । हाम्रो मात्रै प्रयासले त्यो उद्देश्य पूरा हुँदैन । निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नु पर्नेछ । विदेशी लगानी पनि भित्र्याउनु पर्नेछ । त्यसको वातावरण बनाउने चाहीँ तपाई पत्रकारहरुले हो । त्यसका लागि सकारात्मक भूमिका खेलिदिनुस् । सरकारले गरेको राम्रो काम बताइदिने र नराम्रो काम गरेको छ भने झक्झकाइदिने कामलाई निरन्तरता दिनुस् ।

हामीले गरेका सुधारका प्रयासहरुले राम्रो नतिजा दिनेवाला छ । म आजै यो वर्ष यस्तो यस्तो हुनेछ भन्दिन त्यो ज्योतिषि जस्तो हुन्छ । तर हरेक ढंगले गत वर्ष भन्दा यो वर्ष राम्रो हुनेछ । सरकारी खर्च र निजी क्षेत्र तथा वैदेशिक लगानीकै सन्दर्भमा पनि राम्रो हुनेछ ।

यहाँ कसै–कसैले पिठो बेच्ने प्रयास गरिरहेका छन् । दाताहरुले पत्याएनन्, वैदेशिक सहायता आएन, विदेशी लगानी कम भयो भनेर । गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षमा ५५ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आएको रहेछ । गत वर्ष ५७.५ अर्बको प्रतिवद्धता आएको देखियो । हामीले स्वीकृत गरेको लगानीलाई रकममै परिवर्तन गरेर ल्याउन भने सकेका छैनौं ।

लगानीको प्रतिवद्धता, सम्झौता र लगानी भित्रिने कुरा फरक–फरक चरण हुन् । कहिले वन, कहिले जमिन, कहिले के समस्याका कारण अलि ढिलो हुने गरेको छ । त्यसलाई सुल्झाउन एकद्धार प्रणाली पनि कार्यान्वयनमा ल्याएका छौं । कानुनहरु पनि संसोधन गरिसकेका छौं । अब विदेशी लगानी पनि बढ्छ ।

दाताहरुले दिन्छु भन्ने रकमको हिस्सा पनि बढिरहेकै छ । १३ खर्ब रुपैंयाँ दाताहरुले दिन्छु भनेका छन् । तर, हामी जम्मा २ खर्ब खर्च गरेर बसिरहेका छौं । यति धेरै श्रोत छ तर सरकारले खर्च गर्न सकेन । यसपाली हामीलाई खर्च नगर्ने छुट छैन । बजेटमै सहयोग गर्ने क्रम पनि बढिरहेकै छन् । सरकारको वित्तीय अनुशासन प्रतिको विश्वसनीयता हो । तर, पनि दाताले पत्याएनन् भन्न पनि भ्याउँछन् मान्छेहरु । त्यसकारण पनि म पिठो बेच्नुपर्ने रहेछ भनिरहेको छु र सार्वजनिक कार्यक्रमहरुको उपयोग गरिरहेको छु ।

कुन मुलुकमा लगानीको वातावरण कस्तो छ भनेर हेर्दा कानुनदेखि नियमन, सुशासन, प्रशासकीय व्यवस्था, गोदाम घर, कुरियर, यातायात सेवासम्म जोडिन्छन् । यसमा ५ नम्बर ल्याउने देशलाई राम्रो मानिने रहेछ । हाम्रो देशले २.५ अंक ल्याएको रहेछ । आगमी वर्ष हामीले ३ अंक ल्याउने लक्ष्य बनाएका छौं ।

डुइङ बिजनेशमा पनि त्यही नै हो । कतिपय अवस्थामा देशकैबारेमा पनि गलत तथ्य रिपोर्टिङ भैरहेको पायौं । नेपाल सरकारले दिएको तथ्यांक गलत छ भनेर लबिङ भैरहेको छ । आफ्नै देश र अर्थतन्त्रबारे गलत ब्रिफिङ भैरहेको छ । अजम्बरीको बुटी लिएर को नै आएको छ र लाइफ ज्याकेट नै लगाएको रहेछ भने सँगै डुबाउने हो अब । देशकै विरुद्ध लबिङ नगर्नुस्, देशको साख गिराउने काम नगर्नुस् । हामी एउटै डुंगाका यात्री हौं । सरकार आईरहन्छ, गैरहन्छ । अर्थतन्त्र एउटै हो, त्यसलाई डुबाउने काम नगरौं ।

(नेपाल आर्थिक पत्रकार  संघ (नाफिज) को वार्षिक साधारणसभामा आइतबार अर्थमन्त्री डा. खतिवडाले दिएको अभिव्यक्तिको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment