Comments Add Comment

यू–१९ एसिया कप : ब‌ंगलादेशसँग हारेपछि नेपाल बाहिरियो

श्रील‌ंका र बंगलादेश सेमिफाइनल प्रवेश

२२ भदौ, काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको  छ । आइतबार ब‌ंगलादेशविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको  छ ।

नेपाल रहेको समूह बी बाट आयोजक राष्ट्र श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा श्रीलंकाले यूएई र बंगलादेशले नेपाललाई पराजित गरेसँगै समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

नेपालले आफ्नो दोस्रो खेलमा बंगालदेशसँग ६ विकेटको हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिदा यूएई पनि श्रीलंकासँग ५२ रनले पराजित हुदै यू–१९ एसिया कपबाट बाहिरिएको छ ।

२६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

बंगलादेशको जितमा अकबर अलीले उत्कृष्ट ब्याटिङ गर्दै ९८ रनमा अविजित रहे । त्यस्तै, टवहिद हरिदोयले ६०, महमुदुल हसन जोयले ४०, शामिम हुसेनले अविजित रहँदै ४२ रन जोडे ।

१९ रन हुँदा दुई विकेट गुमाएको बंगलादेशले सम्हालिएर खेल्दै जित हात पार्‍यो । सुरुवातमै विकेट लिएको नेपालले त्यसपछि भनेर राम्रो खेल्न सकेन । नेपालका लागि कमलसिंह ऐरीले २, हरिबहादुर चौहान र राशिद खानले समान १–१ विकेट लिए ।

यसअघि श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट मान्यताप्राप्त देशविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो । पवनले ८१ र सन्दीपले ५६ रन जोडे ।

सुरुवातमा पवनले ऋत गौतमसँग पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे ।  ऋत ३२ रनमा आउट भए ।  त्यसपछि आएका आसिफ शेख ३ रनमै आउट भए । सम्हालिएर ब्याटिङ गरेका पवनले कुशल मल्लसँग ३९ रन र कप्तान रोहितकुमार पौडेलसँग १४ रनको साझेदारी गरे । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरे ।

पाँचौं विकेट गुम्दासम्म नेपालको स्कोर १७१ रन थियो र १० ओभरमात्र बाँकी थियो । त्यतिबेला सन्दीप जोरा र भीम सार्कीलेे ७१ रनको साझेदारी गरे  । सन्दीपले ३७ बलमा ५६ रन जोडे भने भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो ।

बंगलादेशका लागि शाहिन आलम र ताजिम हसन सकिबले समान २–२ विकेट लिए । त्यस्तै, मृत्युन्जय चौधरी, रकिबुल हसन, मिन्हाजुर रहमान र टोवहिद हरिदोयले समान १–१ विकेट लिए ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, समूह ‘ए’ भने सेमिफाइनल पुग्ने टिमको छिनोफानो यसअघि नै लागेको हो । तर समूह विजेताको टुंगो भने लागेको छैन । समूह ‘ए’ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्दा पाकिस्तान र कुवेत भने बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment