+

एनभीएलमा आज लिग चरणका अन्तिम तीन खेल हुँदै, कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?

२०८३ भदौ  २५ गते ९:१४ २०८३ भदौ २५ गते ९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगमा बिहीबार लिग चरणका अन्तिम तीन खेल हुँदै छन्, जसबाट शीर्ष स्थानमा रहने टोली सिधै फाइनल पुग्नेछ।
  • अन्नपूर्ण स्पाइकर किङ्स ९ अंकसहित शीर्षमा, कर्णाली शिवराज र काठमाडौं रेड्स ८-८ अंकसहित र सगरमाथा स्म्यासर्स ७ अंकसहित शीर्ष तीनको होडमा छन्।
  • अन्नपूर्णले सगरमाथालाई सोझो सेट वा ३-१ ले हराए सिधै फाइनल पुग्नेछ, तर सगरमाथा पराजित भए शीर्ष तीनको होडबाट बाहिरिनेछ।
  • कर्णालीले मधेश वारियर्ससँग जिते ११ अंक हुनेछ र काठमाडौं रेड्सले अन्तिम खेलअघि नै प्लेअफको समिकरणअनुसार फाइनल होड तय गर्न सक्नेछ।

२५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत बिहीबार लिग चरणका अन्तिम तीन खेल हुँदै छन् । ती खेलबाट शीर्ष स्थानमा रहेर सोझै फाइनल पुग्ने देखि फाइनल पुग्न प्लेअफ खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

लिगमा सहभागी ६ वटै टोलीले लिग चरणमा आफ्नो अन्तिम खेल एकै दिन खेल्दैछन् । लिगमा सहभागी ६ मध्ये शीर्ष टोली फाइनल होडमा कायम रहनेछन् भने पूछारको तीन टिम लिग चरणबाटै बाहिरिनेछन् ।

शीर्ष तीनको होडमा अहिले चार टोली छन्, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्स । सबैले ४ खेल खेलिसक्दा अन्नपूर्ण ९ अंकसहित शीर्ष स्थानमा छ भने कर्णाली र काठमाडौंको समान ८ अंक छ । सगरमाथाको ७ अंक छ ।

मधेश वारियर्स ४ अंकसहित पाँचौ र अंकविहीन खप्तड फाल्कन्स छैटौं स्थानमा छ । मधेश र खप्तडको शीर्ष तीनमा रहेर अगाडि बढ्ने सम्भावना सकिइसकेको छ ।

कसलाई कस्तो नतिजा चाहिन्छ ?

बिहीबार दिउँसो पहिलो खेल अन्नपूर्ण र सगरमाथाबीच दिउँसो १ बजे सुरु हुनेछ । शीर्ष स्थानमा रहेको अन्नपूर्ण फाइनल पुग्नका लागि बलियो दाबेदारको रुपमा छ ।

लगातार तीन खेल जितेर लयमा रहेको अन्नपूर्णले सगरमाथालाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरे सिधै फाइनल पुग्नेछ । यस्तोमा अन्य खेलको नतिजा कुर्नुपर्ने छैन ।

यदि सगरमाथाले जित हात पारेमा भने अन्नपूर्णले प्लेअफ खेल्नुपर्ने अवस्था हुनेछ ।

अन्नपूर्ण पराजित भएको खण्डमा अन्य खेलको नतिजामा पनि निर्भर हुनुपर्नेछ । यदि अन्नपूर्ण पाँच सेटमा पराजित भयो प्लेअफ प्रवेश गर्नेछ ।

सगरमाथाका लागि यो खेल गर वा मरको अवस्थामा छ । यदि सगरमाथा अन्नपूर्णसँग पराजित भएमा शीर्ष तीनको होडबाट बाहिरिनेछ ।

यस्तै दोस्रो खेल कर्णाली र मधेशबीच अपरान्ह ४ बजे सुरु हुनेछ । कर्णालीको लागि पनि यो खेल महत्वपूर्ण हुनेछ । पहिलो खेलको नतिजापछि कर्णालीलाई कस्तो नतिजा आवश्यक पर्छ थाहा हुनेछ ।

हाल ८ अंकसहित दोस्रो स्थानमा रहेको कर्णालीले जित हात पारेमा ११ अंक हुनेछ । मधेशको लागि भने यो खेलको नतिजाले खासै कुनै अर्थ राख्नेछैन । किनभने मधेशको शीर्ष तीनको सम्भावना सकिइसकेको छ ।

लिग चरणको अन्तिम खेल काठमाडौं र खप्तडबीच साँझ ७ बजे सुरु हुनेछ । यो खेलअघि नै सबै टिमले खेलिसक्ने भएकोले काठमाडौंका लागि कस्तो समिकरण बन्छ थाहा हुनेछ ।

यदि अन्नपूर्णले पहिलो खेलमा सगरमाथालाई पराजित गरेमा काठमाडौं आफ्नो खेल अघि नै प्लेअफमा पुग्नेछ र फाइनल प्रवेशका लागि प्लेअफ खेल्नुपर्नेछ ।

यदि पहिलो खेलमा अन्नपूर्ण र दोस्रो खेलमा कर्णाली पराजित भएमा भने काठमाडौं सामु अन्तिम खेल जित्दै फाइनल पुग्ने अवसर हुनेछ ।

एनभीएल नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय