+
+

के दाताले भनेजस्तै आर्थिक वृद्धिदर साढे १ प्रतिशतमै झर्दैछ ?

कोरोना असरबारे अध्ययन सुरु गरिएको छ : योजना आयोग

अच्युत पुरी अच्युत पुरी
२०७७ वैशाख ४ गते १३:५८

४ वैशाख, काठमाडौं । विश्व बैंकले यसैसाता कोरोनाले पार्ने प्रभावसम्बन्धी एक प्रतिवेदनमा नेपालको आर्थिक वृद्धि साढे १ प्रतिशतसम्म झर्ने प्रक्षेपण गरेको छ । मंगलबार अन्तराष्ट्रिय मुद्रा कोषको अर्को अनुमान आयो । जहाँ नेपाल आगिर्थक वृद्धिदर साढे दुई प्रतिशतमा झर्ने उल्लेख छ ।

केही दिन अगाडि एसियाली विकास बैंकले कोरोना प्रभावसम्बन्धी प्रारम्भिक अनुमान सार्वजनिक गरेको थियो । जसमा नेपालको आर्थिक वृद्धिदर साढे ४ प्रतिशतसम्म रहने अनुमान गरिएको थियो ।

सामान्यतः संसारभर यी तीन अन्तराष्ट्रिय वित्तीय निकायको तथ्यांकलाई आधिकारिक मानिन्छ । त्यसो भए नेपालमा दाताले भनेजस्तै अर्थतन्त्र नराम्रोसँग गिर्र्दैछ त ?

यस सम्बन्धमा राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण भने केही फरक छ ।

आयोग स्रोतका अनुसार नेपालको अनुमानमा कोरोनाको असर छिट्टै समाप्त भयो र आर्थिक गतिविधिहरु क्रमशः सूचारु हुन थाले भने अर्थतन्त्रमा अहिलेसम्मको असर कूल गाहस्र्थ उतपादनमा १.३४ प्रतिशतको मात्र रहने छ ।

अर्थातः सरकारले चालु आर्थिक वर्षको बजेटबाट आर्थिक वृद्धिको लक्ष्य साढे ८ प्रतिशत तोकेको थियो । अर्धवार्षिक समीक्षापछि यस्तो वृद्धिदर साढे ६ प्रतिशत कायम रहने अनुमान सरकारको थियो । यद्दपि यसलाई सार्वजनिक भने गरिएको थिएन । तर, कोरोना भाइरसका कारण शुरु भएको लडकडाउन, पर्यटक आगमनमा भएको कटौती र हवाई यात्रा ठप्प भएको एक महिनाको अवधिमा जीडीपीमा करीव १.३४ प्रतिशतसम्मको घाटा छ ।

कोरोनाको प्रभाव छिट्टै कम भएमा वा अति प्रभावित क्षेत्रलाई सील गरेर क्रमशः आर्थिक क्षेत्रहरु र गतिविधि खुला गर्दै गएमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ देखि साढे ५ प्रतिशतको बीचमै रहने अनुमान सरकारले गरेको हो । ‘दाताले भनेजस्तै नेपालको अवस्था भयाभह छैन’, आयोगका एक उच्च अधिकारीले भने, ‘हामीले जोखिमलाई निकै मिहिनताका साथ हेरेर त्यसको सम्बोधनमा लागिसकेका छौं ।’

खासगरी नेपालमा पर्यटन, होटेल रेष्टुरेन्टतर्फ डीजीपीमा हुने योगदानमा डेढ महिनाको घाटा भइसकेको छ । विकास निर्माणको काम रोकिएकाले औद्योगिक उत्पादनमा कमी आएको छ ।

तर, कृषि, व्यापार, विद्यूत, खानेपानीजस्ता क्षेत्रमा ठूलो प्रभाव नपरेका कारण जीडीपीमा तत्काल खाडल नपर्ने अनुमान सरकारको छ ।

कोरोना असरबारे अध्ययन शुरु

सरकारले राष्ट्रिय योजना आयोगलाई कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसबाट माथि आउन के गर्न सकिन्छ भन्नेबारे अध्ययनको जिम्मा योजना आयोगलाई दिएको छ । आयोगका सदस्य डा. रामकुमार फुँयालका अनुसार कोरोनाबाट अतिप्रभावित क्षेत्रलाई तत्काल राहत, कोरोनापछि अर्थतन्त्रलाई चलायमान बनाउने, कोरोनाको क्षति परिपूर्ति गर्दै सरकारले लिएका दीर्घकालीन लक्ष्य कसरी पूरा गर्ने भन्ने सम्बन्धमा आयोगले अध्ययन गर्नेछ ।

यसका लागि विभाग र क्षेत्रहरुबाट तथ्य–तथ्यांक संकलनको काम शुरु भएको उनले जानकारी दिए । ‘सरकारले आपतकालस्न अवस्थामा गर्नुपर्ने रेस्क्यूदेखि दीर्घकालीन योजनामा रहेर हामी काम गर्छौं’, उनले भने, ‘त्यसमा आयोगले विभिन्न क्षेत्रबाट अध्ययन थालिसकेको छ ।’

यसअघि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले अर्थतन्त्रमा कोरोना प्रभावबारे अध्ययन गर्ने जिम्मेवारी आयोगलाई तोकेको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?