Comments Add Comment

क्वारेन्टाइनमा यसरी बित्दैछ पल शाहको दैनिकी

घरमा ढुक्कसाथ बस्ने फुर्सद सायदै मिल्थ्यो, अभिनेता पल शाहलाई । कहिले छायांकन, कहिले डबिङ, कहिले इभेन्ट, कहिले अन्र्तवार्ता । बेफुर्सदिला थिए ।

उनको यो गतिशिल दैनिकी अहिले एकाएक फेरिएको छ । उनी बडो आरमसाथ दिनहरु बिताउँदैछन् । न छायांकनको धपेडी, न भेटघाट । दिनहुँको धपेडीबीच ज्यानलाई विश्राम दिन पाएका छन् ।

सामान्य दिन हुँदो हो त उनी चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त हुने थिए । तर, लकडाउनको कारण सबै काम प्रभावित भएपछि पल पनि घर फर्किएर विश्राम गरिरहेका छन् ।

यद्यपि एक दिन होइन, दुई दिन होइन, हप्तौंसम्म विश्राम लिइरहँदा उनमा छटपटी हुँदो हो । अक्सर हिँडडुल गरिरहने मान्छेलाई घरभित्र समेटिनुपर्दा बेचैन हुँदो हो । तर, पल रहेछन् आनन्दका । लकडाउनको कारण घरभित्रै थुनिए पनि उनलाई दिन कटाउन त्यती गाह्रो छैन । कहिले परिवारसँग रमाएर त कहिले फिल्म हेरेर फुर्सदका फाइदा उठाइरहेका छन् ।

पल भन्छन्, ‘अहिले काम गर्ने अवस्था छैन । घरभित्रै बस्नु परेको छ । यो बाध्यत्मक स्थितीलाई मैले सहज रुपमै स्विकार गरेको छु । जसरी हुन्छ, आफ्नो दिनहरुलाई सकारात्मक र रचनात्मक बनाउने प्रयास गरिरहेको छु ।’

यद्यपि उनलाई आफ्नो कामको भने चिन्ता छ । उनी अभिनित ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनको संघारमा थियो । सुदर्शन थापा निर्देशित यो चलचित्र एक हिसाबले प्रतिक्षित पनि थियो । त्यससँगै उनी दीपेन्द्र लामाको फिल्म ‘२ नम्बरी’मा काम गर्दै थिए ।

यतिबेला धमाधम काम भइदिएको भए उक्त फिल्मको काम अन्तिम चरणमा पुगिसक्ने उनको अनुमान छ । ‘काम गरिरहने मान्छेलाई कामकै बढी याद हुने रहेछ’ पल भन्छन् । तर, समय र परिस्थितीलाई स्विकार गर्दै त्यही अनुरुप आफुलाई सहज बनाउनुपर्ने उनको धारणा छ ।

पल आफ्नो स्वस्थ्यलाई लिएर निकै सचेत छन् । सुरुका दिनमा व्यायमको लागि अल्छि गरेपनि अहिले भने दैनिक व्यायम गरिरहेका हुन्छन् ।

‘अहिलेको समय स्वस्थ्यलाई किनै ख्याल गर्नुपर्ने समय हो’, पलले भने, ‘त्यसैले म हरेक दिन बिहान १ घण्टा वर्कआउट गर्छु । बेलुका पनि १५ मिनेट मेडिटेसनको लागि समय छुट्याएको छु ।’

त्यसो त पल मिलनसार र मनकारी अभिनेतामा पनि गनिन्छन् । कोरोनाको कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाइरहेका चलचित्रकर्मीलाई निकै समस्या परेको बखत पलले ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका थिए ।

पल मिलेसम्म सामाजिक कार्यमा जुटिरहेका हुन्छन् । पल कहिले आश्रममा पुगेर खाना खाइरहेका हुन्छन् भने कहिले भोकै परेका सडक जनावरलाई खाना खुवाइरेहका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment