Comments Add Comment

मौजिनलाई पछ्याउँदा नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित

२१ वैशाख, नेपालगञ्ज । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ ।

मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षको व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन्, र हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे । उनी मस्जिदमा मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) थिए ।

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित ७५
निको भएको१६
मृत्यु
अपडेटः २०७७ वैशाख २१। स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउ-जाउ गरिरहने उनी पछिल्लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।

चैत १० गते विहान १० बजेबाट नेपालका सबै अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द भयो । तर भारतबाट मानिसहरु आउने क्रम रोकिएन । बाँकेको जमुनाह नाकामा पनि ५/६ सय जम्मा भएका थिए । उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज नगरपालिकाले उद्दार गरेर महेन्द्र बहुमुखी क्याम्पसमा राखेको थियो । तर त्यहाँ बस्ने खाने राम्रो  व्यवस्था नभएको भन्दै आधाभन्दा धेरै भागे ।

त्यही समूहमा उनी भएको पाइएको छ । यद्यपि उनलाई कहाँबाट कसरी कोरोना संक्रमण भयो भन्ने पत्ता लागेको छैन ।

तर संक्रमण पुष्टि भएकाले कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो ।

आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार  कोभिड संक्रमण पुष्टि भएकामध्ये ८ पुरुष र ७ महिला छन् । उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । उनीहरू सबै शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय मौजिनको सम्पर्कमा आएकाहरु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिएका छन् ।

थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । साथै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment