७ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।
२५औं सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आइतबार विज्ञप्ति जारी गर्दै केसीले तिहार र छठको सार्वजनिक बिदालाई ध्यानमा राखेर सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिन थप समय दिएको बताएका छन् ।
उनले अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नगरिए वा सहमतिविपरीतका गतिविधि भए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ ।
केसीका अनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राखेर गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि स्थगित भएको थियो ।
तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णय गरेको उनको आरोप छ । त्यसको विरोध तथा सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको माग गर्दै उनले २५औँ सत्याग्रहसहित नौदिने आन्दोलन गरेका थिए । उक्त आन्दोलन कात्तिक २१ गते शिक्षा मन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित भएको थियो ।
‘सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व हो,’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकारलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्ने छुट छैन ।’ उनले सरकारले विगतका सहमति कार्यान्वयन गरी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया 4