Comments Add Comment
प्रदीप ज्ञवालीको नजरमा नेकपा बैठकका ४ उपलब्धि :

‘बडो तनाव भएको थियो, अब कोरोनाविरुद्ध केन्द्रित हुने वातावरण बन्यो’

सरकारको ध्यान अब मुख्य मिसनमा केन्द्रित हुन्छ : ज्ञवाली

२२ वैशाख, काठमाडौं । नेकपाभित्रको अन्तरविरोध चुलिँदै जाँदा त्यसलाई साम्य पार्न दौडधूप गर्ने नेताहरूमध्ये परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि एक हुन् । पार्टीभित्र एकता र समझदारी कायम गराउनका लागि संस्थापन पक्षका तर्फबाट मन्त्री ज्ञवाली र मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताले माधव नेपाल पक्षसँग छलफल गरेका थिए ।

शनिबार साँझ सम्पन्न सचिवालयको बैठकपछि पार्टीभित्रको सघन विवाद मत्थर भएको छ । सो बैठकको उपलब्धिबारे प्रचण्ड र माधव नेपालपक्षले आफ्नै ढंगले संश्लेषण गरिरहेका छन् ।

यसै सन्दर्भमा हामीले अध्यक्ष केपी ओलीनिकटका वैचारिक नेताका रुपमा परिचित मन्त्री ज्ञवालीलाई सोध्यौँ– तपाईंको विश्लेषणमा चाहिँ सचिवालय बैठकका उपलब्धि के–के हुन् ?

मन्त्री ज्ञवालीले पार्टी एकता मजबुत भएको, नेताहरुको व्यवस्थापन भएको, सरकारको निरन्तरता पुनःपुष्टि भएको र अब सरकारलाई  कोरोनाविरुद्धको मिसनमा केन्द्रित हुन वातावरण बनेको विश्लेषण गरे ।

ज्ञवालीले देखेका चार उपलब्धि

‘सबैभन्दा ठूलो कुरा त पार्टी नयाँ ढंगले एकताबद्ध भएको छ,’ मन्त्री ज्ञवालीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘बीचमा आशंकाहरू यति गहिरो भएका थिए कि असमझदारी मात्र होइन, विभाजनकै तहमा पुग्ने हो कि भन्ने आशंकासमेत प्रकट भएको अवस्था थियो ।’

नेताहरूको व्यवस्थापन पनि समस्या नै हो । धेरैजसो सिनियर र समकालीन नेताहरू भएको ठाउँमा संगठनात्मक या वैचारिक कुराले मात्रै पनि हुँदोरहेनछ

तर, अब पार्टी एकता मजबुद बनेको सन्देश दिन सचिवालय बैठक सफल भएको मन्त्री ज्ञवालीको दाबी छ । उनी भन्छन्, ‘अब नयाँ समझदारीका साथ पार्टी अगाडि बढ्ने अत्यन्त ठूलो कुरा हो । सर्वाधिक महत्वको उपलब्धि यही भयो ।’

केपी ओलीको नेतृत्वमा यही सरकारले निरन्तरता पाउने निर्णय गत मंसिरमै भइसके तापनि शनिबारको बैठकले त्यसलाई थप पुष्टि गरेको मन्त्री ज्ञवालीको विश्लेषण छ ।

अध्यादेश प्रकरणपछि नेकपामा चुलिएको विवादसँगै प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने माग पार्टीभित्र मुखरित भएको थियो । कतिपय नेताहरूले अब ओलीबाट सरकार र पार्टी दुवै चल्न नसक्ने निष्कर्ष निकालेका थिए ।

तर, शनिबारको बैठकपछि प्रधानमन्त्री ओलीको दुवै पद सुरक्षित बनेका छन् । उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलले बलियो साथ दिएपछि प्रधानमन्त्रीको पक्षमा सचिवालयभित्र बहुमत जुट्यो र प्रचण्ड-माधव पक्ष अल्पमतमा पर्‍यो ।

बैठकको उपलब्धिबारे व्याख्या गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यसले सरकारको स्थिरता र निरन्तरतालाई पनि पुनर्पुष्टि गरेको छ । निर्णय त गत मंसिरमै भइसकेको थियो, बीचका अन्योलहरूलाई चिरेर फेरि त्यसलाई निरन्तरता दिने कुरा भएको छ ।’

पार्टीभित्र संगठनात्मक र वैचारिक कुरा मात्र मिलेर पुग्दोरहेनछ भन्दै मन्त्री ज्ञवालीले नेताहरूको उचित व्यवस्थापन पनि जरुरी रहेको अनुभव सुनाए ।

शनिबारको सचिवालयले त्यसमा पनि एक हदसम्म उपलब्धि हासिल गरेको उनले संश्लेषण गरे । ‘नेताहरूको व्यवस्थापन पनि समस्या नै हो हाम्रोजस्तो पार्टीमा । धेरैजसो सिनियर र समकालीन नेताहरू भएको ठाउँमा संगठनात्मक या वैचारिक कुराले मात्रै पनि हुँदोरहेनछ’ मन्त्री ज्ञवालीले भने, ‘नेताहरूको उचित व्यवस्थापन पनि एउटा कुरा रहेछ, त्यसलाई पनि एक हदसम्म यो बैठकले सम्बोधन गरेको छ ।’

ज्ञवालीको यो संकेत प्रचण्डको कार्यकारी भूमिका र वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णयतर्फ लक्षित देखिन्छ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई समकक्षमा राखेका थिए भने वामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याउने निर्णय भएको थियो ।

मन्त्री ज्ञवालीका अनुसार नेताहरूले आत्मालोचना गर्नु सचिवालय बैठकको चौथो उपलब्धि हो । पार्टीभित्र आलोचना-आत्मालोचनाको संस्कार हराउँदै गएको अवस्थामा त्यो पुनःजागृत भएको नेकपा स्थायी कमिटी सदस्य ज्ञवालीको विश्लेषण छ ।

‘नेताहरूले आ-आफ्नो तर्फबाट रहन गएका कमीहरूलाई गम्भीरतापूर्वक आत्मसाथ गर्नुभएको छ’ ज्ञवालीले भने, ‘यसले कम्युनिस्ट पार्टीमा हुने गरेको तर बीचमा लामो समय ओझेलमा परेर मान्छेले बिर्सिसकेको जस्तो भएको आलोचना-आत्मालोचनाको पद्धतिलाई पुनर्जीवित गरेको म ठान्छु  ।’

‘अब मुख्य मिसनमा ध्यान केन्द्रित हुन्छ’

पार्टीभित्र एकताको भाव सञ्चार भएको र सरकारको स्थिरता पनि पुनःपुष्टि भएकाले अब सरकारको ध्यान कोरोनाको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने मन्त्री ज्ञवालीले बताए ।

उनले भने, ‘अब हामीलाई एकाग्र भएर कोरोनाविरुद्ध लड्न र त्यसका पछाडि हुने आर्थिक क्षतिको परिपूरणका लागि फोकस केन्द्रित गर्न सजिलो भएको छ ।’

यो पनि पढ्नुहोस मलेसियामा पनि आममाफी, परराष्ट्रमन्त्री भन्छन्– खाडीबाट ३५ हजार नेपाली फर्किंदा ठूलो चुनौती हुन्छ

विगत दुई साताको तनावलाई सम्झिँदै मन्त्री ज्ञवालीले अनलाइनखबरसँग भने, ‘वास्तवमा गएको १०/१५ दिन हामीलाई ध्यान विकेन्द्रित भएर बडो तनाव भएको थियो । कोरोनाको चुनौती यस्तो छ, हामी आन्तरिकरुपमा लडिरहेको कुरालाई कसैले पनि उचित ठहर्‍याउन सकिँदैन’थ्यो । अबचाहिँ हामी मुख्य मिसनमा केन्द्रित भएर लाग्ने वातावरण बनेको छ ।’

यो पनि पढ्नुहोस कोटेश्वर भेलाको निष्कर्ष : प्रचण्ड-माधव एकै ठाउँ, बामदेव एक्लिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment