Comments Add Comment

कोटेश्वर भेलाको निष्कर्ष : प्रचण्ड-माधव एकै ठाउँ, बामदेव एक्लिए

पूर्वमाओवादीको संश्लेषण : सचिवालयमा ५ उपलब्धि पाइयो

Photo Credit : फाइल फोटो

२१ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । फर्किएपछि कोटेश्वरस्थित निवासमा केही स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूको अनौपचारिक भेलामा उनी सहभागी भए ।

स्थायी र केन्द्रीय कमिटीका आफू निकट करिब ४० नेता सहभागी भएको अनौपचारिक भेलामा अधिकांशको साझा चासो थियो । शनिबारको सचिवालय बैठकमा प्रचण्डले ओलीसँग चोचोमोचो मिलाएकै हुन् ? के अब प्रचण्डसँग दुरी बढेको हो ?

नेताहरूको जिज्ञासा सुनिसकेपछि वरिष्ठ नेता नेपालले नआत्तिन आग्रह गरे । नेताहरूलाई नेपालले प्रचण्ड र आफ्नोबीचमा दुरी नबढेको पनि स्पष्ट पारे ।

पहिले पनि अध्यक्ष ओलीले सरकार चलाउने र कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको काममा ध्यान दिने निर्णय भइसकेको हुनाले दुई नेताबीच त्यस्तो छलफल हुनु नौलो नभएको नेता नेपालले भेलामा बताएका छन् । तर, अब विधि र पद्धतिअनुसार पार्टी अगाडि बढ्छ कि बढ्दैन, व्यवहारमा हेर्नुपर्ने नेता नेपालको भनाइ थियो ।

भेलामा सहभागी नेताहरूले नेपाललाई तेस्रो वरीयताको अध्यक्ष पद अस्वीकार गरेर उच्च नैतिकता देखाएको भन्दै धन्यवादसमेत दिए । पार्टीभित्र केही नेताहरूको उतार-चढाव देखेर आफूलाई आश्चर्य लागेको नेता नेपालले सुनाएका थिए ।

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट तत्काल हटाउनुपर्छ भन्नेहरू नै रातारात अर्को कित्तामा उभिएर ओलीको बचाउमा लागेको देख्दा अचम्म लाग्ने गरेकोभन्दै नेता नेपालले बामदेव गौतमप्रति कटाक्ष गरे ।

आफूले प्रधानमन्त्री ओलीको राजीनामा मागेको नभई पार्टीको सबै तहमा ‘एक व्यक्ति, एक पद’ को अडान राख्दै आएको र त्यो अडान अहिलेसम्म कायमै रहेको नेपालले बताएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

खुमलटारबाट फर्किएका नेता नेपालले प्रचण्डसँग आफ्नो दुरी नबढेको स्पष्ट पार्दै यसमा आश्वस्त हुन र नआत्तिन आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो । छलफलमा सहभागी एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘नेता नेपालले बाहिर आए जस्तो केही होइन, सबै ठिक छ भन्नुभएको छ ।’

अहिले पनि सचिवालयमा रहेका चार नेता -प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ एकठाउँमा रहेको भन्दै उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको अप्ठ्यारो हल नभइसकेको बताए । उनले भने, ‘सचिवालय बैठक बोलाइएको छ, त्यहाँ हामी आफ्नो कुरा प्रष्टसँग राख्छौं ।’

यद्यपि कोटेश्वर भेलामा सहभागी माधव नेपाल पक्षका केही नेताहरूले भने अध्यक्ष प्रचण्ड अब केपी ओलीतिरै मिल्न गएका हुन् कि भन्ने आशंका प्रकट गरेका थिए ।

४० मिनेटको त्यो कानेखुसी

माधव नेपाल पक्षलाई प्रचण्डमाथि शंका बढाउने विषय थियो- शनिबार सचिवालयको बैठक बस्नुअघि ओली र प्रचण्डबीच भएको करिब ४० मिनेटको कानेखुसी । दुई नेताबीचको त्यो गोप्य भेटमा के भएको थियो भन्ने माधव नेपालले प्रचण्डसँग सोध्न नपाउँदै सचिवालय बैठक सुरु भएको थियो ।

आइतबार खुमलटारमा भएको भेटमा नेपालले प्रचण्डलाई सोधे, त्यो भेटमा के-के भयो ?

सूत्रका अनुसार दुई अध्यक्षबीचको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिन्छु, कार्यकारी अधिकारको परिभाषासहित भूमिका दिन्छु भनेका थिए । सबै काम परिभाषित गरेर गरौँ, मलाई प्रधानमन्त्री राम्रोसँग चलाउन दिनोस् भनेर ओलीले प्रचण्डलाई ‘कन्भिन्स’ गरेका थिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आपसी सल्लाहमा पार्टी चलाउने र माधव कमरेडलाई पनि साथमै लिएर अगाडि बढ्ने बताएको प्रचण्डले नेपाललाई सुनाए ।

बालुवाटारको ओली-प्रचण्ड भेटपछि प्रचण्डमाथि केही आशंका उब्जिएको भए पनि आइतबार खुमलटारमा भएको भेटपछि प्रचण्ड-माधव दुवै नेताहरूबीच समझदारी र विश्वास बढेको माधव नेपाल पक्षका नेताहरूको दाबी छ ।

बामदेव टाढिए

प्रचण्ड-माधव समूहबाट उपाध्यक्ष बामदेव गौतम भने टाढिएका छन् । गौतमलाई विश्वास गर्न नसकिने निष्कर्षमा प्रचण्ड र माधव नेपाल दुवै नेताहरू पुगेका छन् ।
गौतमले यताका कुरा केपी ओलीलाई सुनाउने र उताका कुरा यता लगाउने दोहोरो भूमिका खेलेको नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए । उनले भने, ‘अब बामदेवलाई कसैले विश्वास गर्दैन ।’

पछिल्लो समय प्रचण्ड-माधव समूहमा लागेर आफूलाई भाबी प्रधानमन्त्रीका रुपमा राष्ट्रियसभामा सिफारिस गराउन सफल बनेका नेता गौतमलाई महासचिव विष्णु पौडेलले ओलीको खेमामा फर्काएको नेपाल पक्षका नेताहरूको निष्कर्ष छ ।

स्रोतले भन्यो, ‘तत्कालीन एमालेमा झलनाथ खनालको साथ छाडेर ओली पक्षमा लैजाने पनि विष्णु पौडेल नै हुन् । अहिले पनि उनैले गौतमलाई ओलीसँग नजिक बनाउन सफल भए । सचिवलायमा बहुमत पुर्‍याएर प्रधानमन्त्रीमाथिको संकट उनले टारिदिए ।’

महासचिव पौडेलले अब पाँच वर्ष केपी ओली नै प्रधानमन्त्री बन्ने सार्वजनिकरुपमै बताइसकेका छन् । यो अवस्थामा बामदेवको प्रधानमन्त्री बन्ने धोको पूरा नहुने नेपाल पक्षको दाबी छ । एक नेताले दावाका साथ भने, ‘हेर्नुहोला, उहाँ प्रतिनिधिसभाको सदस्य बन्नुहुन्न, राष्ट्रियसभामा पनि जानुहुन्न । हदै भए श्रीमतीलाई मन्त्रीसम्म बनाइदेलान् ।’

बामदेवको भूमिकाप्रति आक्रोश पोख्दै नेपाल पक्षका नेताले थपे, ‘बामदेव गौतमले माधव नेपालसँग प्रचण्डलाई फुटाउनका निम्ति झोसपोल गरे । अन्ततः उनी केपी ओलीतर्फबाट पनि भकुण्डो बने, यताको पनि विश्वास गुमाए ।’

खुमलटारको संश्लेषण : सचिवालयमा पाँच उपलब्धि !

कोटेश्वरमा माधव नेपाल पक्षको भेला चलिरहँदा पूर्वमाओवादी खेमाका केही नेताहरू प्रचण्ड निवास खुमलटार पुगेका थिए । खुमलटारमा नेताहरूले सचिवालय बैठकबाट के-के उपलब्धि भए भन्नेबारे संश्लेषण गरेको स्रोतले बतायो ।

पूर्वमाओवादी खेमाका एक नेताले अनलाइनखबरसँग भने, ‘नेकपा सचिवालयमा आंशिक उपलब्धि भएको हाम्रो निष्कर्ष छ ।’

पूर्वमाओवादी नेताले सुनाएका ती ‘पाँच उपलब्धि’ यस्ता छन्-

एक – हामीले अध्यादेश फिर्ता हुनुपर्छ भनेका थियौँ, फिर्ता भयो ।

दुई – स्थायी कमिटीको बैठक माग गरिएको थियो, वैशाख २५ मा बैठक हुने भयो ।

तीन – बालुवाटारमै हस्ताक्षर अभियान चलाएर पार्टी फुटाउन खोजिराखेका थिए, हामीले पार्टी एकता जोगाउनुपर्छ भनेका थियौँ, त्यो अपिल सफल भयो ।

चार – प्रधानमन्त्रीले इतिहासमै अहिलेसम्म आत्मालोचना गरेको रेकर्ड रहेनछ । उनले सर्लक्कै मेरो गल्ती भयो, कमजोरी भयो भनेर आत्मालोचना गरे ।

पाँच – प्रधानमन्त्रीबाट कमसेकम सल्लाहले काम गर्छु, मिलेर जाऔं भन्नेसम्म चाहिँ भएको छ। यी सकारात्मक उपलब्धि हुन् । अब अरू विषयहरू त स्थायी कमिटीमा आउलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment