४ भदौ, स्याङ्जा । स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारीमार्फत बिक्री भएको दूधको परिमाणका आधारमा किसानलाई अनुदान दिएको हो ।
कार्यालयका अनुसार भीरकोट नगरपालिका–१ स्थित भीरकोट दुग्ध उत्पादक सहकारीमार्फत संकलन भएको एक लाख २६ हजार २९ लिटर दूधका लागि ६ लाख ३० हजार १४५ रुपैयाँ अनुदान दिइएको छ ।
त्यस्तै, चापाकोट नगरपालिका–५ क्वामीस्थित रत्नपुर साना किसान सहकारीमार्फत संकलन भएको ७० हजार ८१७ लिटर दूधका लागि पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ ।
कार्यालयले सार्वजनिक गरेको सूचनाका आधारमा छनोट भएका सहकारीमा आबद्ध किसानले गाई तथा भैँसीपालनबाट उत्पादन गरेको दूधमा अनुदान दिइएको कार्यालय प्रमुख डा. रूपेश श्रेष्ठले बताए । उनका अनुसार सहकारीका दूध संकलन केन्द्रमार्फत बिक्री भएको दूधको परिमाणलाई आधार बनाएर अनुदान वितरण गरिएको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदानसहित पशुपालन तथा उत्पादन प्रवर्द्धनका विभिन्न कार्यक्रमअन्तर्गत कुल एक करोड २८ लाख ६७ हजार २०० रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ ।
खोरदेखि बाख्रापालनसम्म अनुदान
वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत नयाँ खोर, तारबार, टाट्नो, बोका तथा यान्त्रीकरणका लागि विभिन्न समूह तथा सहकारीलाई अनुदान दिइएको छ ।
कार्यालयका अनुसार कालीगण्डकी गाउँपालिका–१ र २ मा रहेको कालीगण्डकी कृषि उद्यमी महिला सहकारी संस्थालाई ८ लाख ४६ हजार ७३९ रुपैयाँ, भीरकोट नगरपालिका–२ को बलामडाँडा शान्ति कृषि तथा पशुपन्छी पालन कृषक समूहलाई ८ लाख ११ हजार ३४ रुपैयाँ, भीरकोट–३ को बानेथोक देउराली बाख्रापालन समूहलाई ८ लाख ८८ हजार ९२४ रुपैयाँ र फेदीखोला गाउँपालिका–४ को छेलो हाल्ने महिला कृषक समूहलाई ८ लाख ४२ हजार २३१ रुपैयाँ अनुदान दिइएको छ ।
यस्तै, कालीगण्डकी करिडोरकेन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत गोठ तथा भकारो सुधारका लागि पकवादी कृषि सहकारी संस्थालाई १७ लाख ४० हजार ७३० रुपैयाँ र आमा बहुउद्देश्यीय सहकारी संस्थालाई १७ लाख ६२ हजार ४४१ रुपैयाँ अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
व्यावसायिक ब्लक विकास कार्यक्रमअन्तर्गत हरिनास गाउँपालिका–४, ५, ६ र ७ का लागि सूर्यमुखी बाख्रापालन तथा कृषि समूहलाई २७ लाख ८७ हजार ३०२ रुपैयाँ अनुदान दिइएको छ ।
कार्यालयले पशुपालन तथा कृषि क्षेत्रमा विभिन्न शीर्षकमा अनुदान दिँदै आएपनि उत्पादन र वास्तविक आवश्यकताका आधारमा अनुदान वितरण, सहज तथा सहुलियतपूर्ण कृषि ऋण र उत्पादित वस्तुको बजार सुनिश्चितता अहिलेको मुख्य आवश्यकता रहेको जनाएको छ ।
प्रतिक्रिया 4