Comments Add Comment

देशका अधिकांश स्थानमा झरी, मौसमविद् भन्छन्– पर्सिसम्म यस्तै हुन्छ

२२ वैशाख, काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ । निरन्तर झरीका कारण नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोसमेत गएको छ ।

साउने झरीको झल्को दिनेगरी परिरहेको यो पानी कहिले रोकिएला ? मौसमविद भन्छन्– पर्सिसम्म यस्तै हो ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘आज र भोलि अलि सक्रिय हुन्छ, भोलिको तुलनामा पर्सि अलि कम हुन्छ ।’ आज र भोलि घाम नलाग्ने र पर्सि अपराह्नबाट मौसममा तुलनात्मक रुपमा सुधार आउने उनको भनाइ छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका अधिकांश भागमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको तथा प्रदेश ५ मा ५६ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेकाले सतर्क रहन पनि विभागले अनुरोध गरेको छ । यो प्रणाली पूर्वतर्फ सरिरहेको छ ।

नेपालमा यस्तो झरीको अवस्था कहिलेसम्म जारी रहन्छ भन्ने यकिनका साथ भन्न मौसमविद्ले सकिरहेका छैनन् । किनभने नेपालमा तीन दिनभन्दा बढीको मौसम पूर्वानुमान गरिँदैन ।

मौसमविद् नगरकोटीले पर्सि अपराह्नसम्म पानी पर्ने र त्यसपछि केही कम हुने बताइन् । यसबीचमा पानी पर्ने र रोकिने क्रम जारी रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment