कुसल परेरा
श्रीलंका, विकेट किपर
श्रीलंका, विकेट किपर श्रीलंकाका ३६ वर्षीय कुसल परेरा बायाँहाते आक्रामक ब्याटर तथा विकेटकिपर हुन्। ब्याटिङ शैली र आक्रामक प्रहारका कारण उनी आफ्ना आदर्श तथा श्रीलंकाका महान् खेलाडी सनथ जयसूर्याको प्रतिबिम्बका रूपमा हेरिन्छन्।
कोल्ट्स क्रिकेट क्लबबाट घरेलु क्रिकेट सुरु गरेका उनले प्रथम श्रेणी क्रिकेटमा २७५ बलमा ३३६ रनको दोहोरो शतक बनाउँदै आफ्नो असाधारण क्षमताको परिचय दिएका थिए।
सन् २०१२ मा टोलीमा प्रवेश गरेका परेराले पाकिस्तानविरुद्ध मात्र १७ बलमा अर्धशतक प्रहार गर्दै सनथ जयसूर्याकै नाममा रहेको श्रीलंकाको फास्टेस्ट अर्धशतकको कीर्तिमान बराबरी गरेका थिए।
सन् २०१५ मा भारतविरुद्धको टेस्ट डेब्यूमै दुवै इनिङ्समा अर्धशतक बनाउने उनी दोस्रो श्रीलंकाली खेलाडी बनेका थिए। सन् २०१५ को अन्त्यतिर डोपिङसम्बन्धी गलत परीक्षणका कारण ५ महिना निलम्बनमा परे पनि कानुनी र प्राविधिक लडाइँ जितेर उनी कतारको प्रयोगशालाको त्रुटिपूर्ण रिपोर्ट रद्द गराउँदै निर्दोष साबित भई टोलीमा फर्किएका थिए।
आक्रामक ब्याटिङका पर्याय परेराले २२ टेस्टमा १ हजार १७७ रन (जसमा अविजित १५३ रनको ऐतिहासिक इनिङ्स समावेश छ) र ११६ एकदिवसीयमा ६ शतक र १७ अर्धशतकसहित ३ हजार २३७ रन बनाएका छन्।
त्यस्तै, ९५ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ शतक र १६ अर्धशतकसहित २ हजार ३३५ रन जोडेका छन्। समग्र टी–२० क्रिकेटमा २३८ खेल खेल्दै ५ हजार ४२८ रन बनाएका परेरा विकेटकिपिङ र विष्फोटक ब्याटिङ दुवैमा उत्तिकै प्रभावशाली छन्।
Read Fullप्लेयर्स टु वाच



















