ईभीकी ट्रेन्डसेटर
यमुना श्रेष्ठ साइमेक्स इन्कमा कर्मचारी थिइन् । कम्पनीले बीवाईडीका ब्याट्री तथा अन्य विद्युतीय उपकरण आयात गर्थ्यो । सन् २०१६ तिरबाट गाडी पनि आयात गर्न थालेको थियो । तर, व्यापार जमेको थिएन । कम्पनी घाटामा थियो । त्यसबेलाका लगानीकर्ताहरू भवन भट्ट र प्रसिद्धबहादुर पाँडेले सम्भवतः यो व्यवसायमा भविष्य देखेनन् र सेयर बेच्ने निर्णय गरे । ऋण–धन गरेर आफैं काम गर्ने कम्पनीको सेयर किनेकी यमुनाले बीवाईडीलाई नेपालको एक नम्बर अटो ब्रान्ड बनाइन् ।
०००
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकास्थित दाप्चा गाउँ, देशमा सडकको सञ्जाल बन्नुअघि काठमाडौं प्रवेश गर्ने एक प्रमुख नाका थियो । इतिहासदेखि नै व्यापारको चहलपहल हुन्थ्यो । दाप्चाको परम्परागत व्यापारिक परिवारमा जन्मेकी यमुना श्रेष्ठ त्यहीं हुर्किन् ।
लवरत्न श्रेष्ठ र गणेशमायाकी कान्छी छोरी उनले गाउँकै श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययन गरिन् । त्यसपछिको अध्ययनका लागि भन्दै काठमाडौं झरिन् । यो २०५७ सालको कुरा हो, जतिबेला तत्कालीन माओवादीको द्वन्द्व चलिरहेको थियो ।
गाउँमा चलेको द्वन्द्व र असुरक्षाका कारण त्यतिबेला राजधानी आउनु धेरैका लागि बाध्यता समेत थियो । यमुनाका दिदी तथा दाइहरू पहिलेदेखि नै काठमाडौंमा भएकाले उनलाई यहाँ आएर उच्च शिक्षा अध्ययन अगाडि बढाउन सहज भयो ।
प्लस टु पढ्दापढ्दै उनलाई जागिरको पनि हुट्हुटी चल्यो । काठमाडौंको तीनकुनेमा आफ्नै दाइ अनिल श्रेष्ठले सञ्चालन गर्ने बक्रतुन्ड सहकारी थियो, जहाँ दिदी पनि आवद्ध थिइन् । त्यही सहकारीबाट उनले काम थाल्ने निधो गरिन् । पढ्दै, काम गर्दा धेरै विषयबारे जान्ने मौका पाइन् ।
‘सहकारीबाट मेरो जागिरको यात्रा शुरु भयो, आफ्नो दिदीसँगै काम गर्न पाउँदा म खुसी पनि थिएँ’, उनले भनिन् । दाइ अनिलले अन्य बिजनेस पनि सम्हालेकाले सहकारीलाई दिदीबहिनीले नै सम्हाल्न थाले । सहकारीबाट यमुनाले आफ्नो जागिर यात्रा मात्रै थालिनन्, नवीकरणीय ऊर्जाबाट चल्ने सवारीबारे पनि अनुभव बटुलिन् ।

सहकारीले सफा टेम्पो र त्यसकै ब्याट्रीमा फाइनान्सिङ सुविधा दिन्थ्यो । ‘सन् २००५ तिर सहकारी मार्फत सफा टेम्पोमा लगानी गर्दथ्यौं, टेम्पोको टोर्जन ब्याट्री, चार्जिङ स्टेसनमा पनि लगानी हुन्थ्यो’, उनले भनिन् । त्यतिबेलै उनले विद्युतीय सवारीबारे धेरै विषय जान्ने मौका पाइन् । सफा टेम्पोलाई फाइनान्सिङ गर्ने संस्थाका रूपमा उनकै सहकारी चिनिन्थ्यो ।
काम र पढाइलाई निरन्तरता दिंदै गएकी उनी बीचमै अध्ययनका लागि सन् २००६ मा जापान पुगिन् । ‘म जापान जाने बेला नै मेरो दाइको सहकारी अरूलाई जिम्मा लगायौं, सहकारी सञ्चालन सहज पनि थिएन’, उनले भनिन् ।
जापानबाट फर्केपछि पनि उनले अर्को सहकारीमा प्रमुख कार्यकारीको रूपमा काम गरिन् । काम गर्ने सिलसिलामै उनको भेट पर्यटन व्यवसायी प्रसिद्धबहादुर पाण्डेसँग भयो । उनले पाण्डेको कम्पनीमा काम गर्न थालिन् । त्यसबेला पाण्डेले साइमेक्स इन्क पनि सञ्चालन गर्दै आएका थिए, जसले ब्याट्री, सोलार प्यानललगायत आयात गर्थ्यो । सडक लगायत पूर्वाधार जस्ता क्षेत्रमा सोलार लाइट हाल्ने काम गर्दथ्यो ।
कम्पनी घाटामा थियो, ऋण तिर्न नसकेर बैंकले प्रोभिजनिङ गर्नुपर्ने भइसकेको थियो । त्यसबेला भवन भट्टले आफ्नो ५० प्रतिशत सेयर बेच्न खोजेका थिए । यमुनालाई भने नेपालमा ईभीको बजार माैलाउने विश्वास कहीं न कहीं थियो । त्यही भएर उनले साे सेयर आफैं किन्ने निर्णय गरिन् ।
मुलुकमा लोडसेडिङको अवधि बढ्दो थियो । सन् २०१५ मा दैनिक १८ घण्टा लोडसेडिङ हुँदा साइमेक्सले ब्याट्री आयात गरी बिजनेसलाई बढाएको थियो । १० देखि १२.५ किलोवाट आवरको ब्याट्री कम्पनीले आयात गर्दथ्यो । श्रेष्ठले साइमेक्समा सीईओको जिम्मेवारी पाइन् ।
तर लगत्तै मुलुकमा लोडसेडिङ हट्यो, त्यसपछि ब्याट्री बिजनेस क्र्यास नै भयो । सन् २०१६ मा चीनको सांघाईमा सोलार एक्स्पो आयोजना गरिएको थियो, एक्स्पोमा भाग लिन साइमेक्सको तर्फबाट यमुना सांघाई पुगिन् । त्यतिबेला उनलाई बीवाईडीको हेडक्वार्टर जाने मौका मिल्यो, जहाँ सानादेखि ठूला विद्युतीय बस उनले देखिन् ।
ती विद्युतीय गाडी नेपालमा पनि सञ्चालन गर्ने चाहना उनमा थियो । उनले बीवाईडीसँगै नेपालमा गाडी भित्र्याउनेबारे कुरा गरेर आइन् । यता कम्पनीका सञ्चालकसँग कुरा गरिन् । त्यसबेला साइमेक्समा पाण्डेको ५०-५० प्रतिशतको साझेदारी थियो ।
२०१७ फेब्रुअरीमा बीवाईडीका १० वटा विद्युतीय सवारी (ई ६) र चार्जर भित्र्याएर साइमेक्सले सवारी साधनमा हात हाल्यो । ‘त्यतिबेला ६० हजार अमेरिकी डलर पर्ने गाडी नेपालमा ४८ हजार डलरमै ल्याउन साइमेक्स सफल भयो’ उनले भनिन्, ‘तर गाडी बिक्ने/नबिक्ने, नेपालको बाटोमा चल्ने/नचल्ने, ग्राहकले विश्वास गर्ने/नगर्ने द्विविधा थियो ।’

साइमेक्सले ल्याएकामध्ये ३ वटा गाडी तनहुँ हाइड्रोपावरले, २ वटा योजना आयोगले खरिद गरे भने बाँकी ५ वटा विभिन्न व्यवसायीले किने । त्यतिबेला साइमेक्सले १०–१० वटा गाडी (ई ६) तीन पटक ल्याएर बिक्री गरेको यमुना बताउँछिन् ।
पछि एडीबीको सहयोगमा लुम्बिनी–गौतमबुद्ध एयरपोर्टको लागि पाँच वटा बस, ११ वटा भ्यान र चार्जिङ स्टेशन तयार गर्नका लागि टेन्डर आह्वान भएको थियो । त्यतिबेला बीवाईडीले ५ वटा बस र भ्यान खरिदको लागि टेन्डर पायो । पर्यटन मन्त्रालय र बीवाईडी बीचको यो टेन्डरमा साइमेक्सले नै सहजीकरण गर्यो । बीवाईडी आफैंले ३ वटा गाडी थपेर लुम्बिनी–गौतमबुद्ध एयरपोर्टका लागि १४ वटा गाडी प्रदान गरेको थियो ।
तर कम्पनीको व्यापार राम्रो हुनसकेको थिएन । सर्वसाधारणमा ईभीप्रतिको विश्वास पनि बढ्न सकेको थिएन । कम्पनी निरन्तर घाटामा थियो । ठूलै ऋण पुगिसकेको थियो । सन् २०१९ तिर साइमेक्स इन्कबाट भवन भट्ट बाहिरिन चाहे ।
‘बैंकबाट लिएको केही ऋण प्रोभिजनमा गइसकेको थियो, यस्तो बेला अरू बैंकले पनि विद्युतीय गाडीमा लगानीका लागि विश्वास गर्दैनथे’ उनले भनिन्, ‘त्यसमाथि अस्थिर नीतिका कारण ईभीमा लाग्ने कर बढ्न थाल्दा समस्या थपिएकै थिए ।’
यस्तो बेलामा भट्टले आफ्नो ५० प्रतिशत सेयर बेच्न खोजेका थिए । यमुनालाई भने नेपालमा ईभीको बजार माैलाउने विश्वास कहीं न कहीं थियो । त्यही भएर उनले साे सेयर आफैं किन्ने निर्णय गरिन् । अब साइमेक्समा यमुनाको आधा र पाण्डेको आधा हिस्सा भयो ।
नोक्सानीमा रहेको, भविष्य नै अनिश्चित रहेको साइमेक्स इन्कमा आधा हिस्सा लगानी गरेर जोखिम मोल्ने हिम्मत कसरी आयो यमुनालाई ? ‘चीनको बीवाईडी कम्पनी भ्रमण गरेकाले मैले कम्पनीलाई राम्ररी बुझेकी थिएँ’ उनले भनिन्, ‘चीन जाँदा ईभीकै ठूला ठूला बस देखेकी थिएँ, त्यहाँका सडकमा पर्याप्त ईभी चलिरहेका थिए । यहाँ पनि ढिलो–चाँडो ईभीले नै बजार ओगट्छ भन्नेमा म विश्वस्त थिएँ ।’
बीवाईडीको विशाल फ्याक्ट्री, ठूला ठूला विद्युतीय सवारी साधनको उत्पादन देखेर नै आफूलाई हिम्मत आएको उनले बताइन् । सेन्जेनका सडकमा त्यतिबेला बीवाईडीले राम्रो पकड जमाइसकेको उनी स्मरण गर्छिन् ।
तर अटो क्षेत्रमा सफलता पाउनेमा अधिकांशले शंका गर्थे । ‘यो ठूला घरानाले गर्ने बिजनेस हो, अरू साधारण व्यक्तिले गर्न सक्दैनन् भन्थे, हौसला दिनेहरू धेरै थिएनन्’ उनले भनिन्, ‘त्यति मात्रै होइन, शुरुको अवस्थामा त बैंकले पनि हामीलाई विश्वास गर्दैनथे ।’
ठूला व्यावसायिक घरानाले पनि भ्रम फैलाएर आफ्नो विस्तारमा अवरोध सृजना गर्न खोजेको पनि उनी बताउँछिन् । ‘यिनीहरूको गाडी ल्याउने क्षमता छैन, अनुभव छैन, सर्भिसिङ दिन सक्दैनन्, विद्युतीय गाडीका पार्टपुर्जा उपलब्ध हुँदैन जस्ता भ्रम व्यापक फैलाइएको थियो’, यमुनाले भनिन् । तर यमुनालाई लाग्दथ्यो कि कुनै दिन बीवाईडीका विद्युतीय गाडीले अरू व्यावसायिक घरानालाई चुनौती दिनेछ ।

अनिश्चितता कायमै रहेकै बेला बीचमै अर्का लगानीकर्ता पाण्डे पनि बाहिरिन चाहे । पाण्डे र श्रेष्ठले सो सेयर खरिदका लागि ठूला कर्पोरेटहरूसँग सम्पर्क पनि गरे । तर, धेरैले रुचि देखाएनन् । त्यसले श्रेष्ठले यो कुरा आफ्ना दाइ अनिललाई सुनाइन् । पाण्डेको ५० प्रतिशत सेयर खरिद गर्न दाइ अनिल नै तयार भए । अब साइमेक्स इन्कमा यमुना र दाइको ५०–५० गरी शतप्रतिशत हिस्सा हुन पुग्यो ।
समयक्रमसँगै २०२१–२२ तिर बीवाईडीले न्यू ई ६ गाडी निकाल्यो । साइमेक्सले नमूनाका रूपमा त्यो गाडी भित्र्यायो । नमूनाका रूपमा देखाउनका लागि ल्याएको गाडी पनि राम्रै बिक्री भएको यमुना बताउँछिन् । ‘शुरुमा करिब ७० वटा यो गाडी हामीले बेच्न सक्यौं, यो गाडी बेचेपछि कम्पनीलाई बल्ल केही राहत मिल्यो’, उनले भनिन् । बीवाईडीसँग नेपालका तर्फबाट उनको सम्बन्ध र सम्पर्क बढ्दै गयो ।
२०२२ पछि बीवाईडीका अरू नयाँ नयाँ गाडी उत्पादन हुन थाले । त्यत्तिकैमा नेपालमा पनि साइमेक्सले २०२२ सेप्टेम्बरमा एट्टो- ३ गाडी लञ्च गर्यो । जसले नेपालमा पनि बजार लिन थाल्यो । ८६ लाख रुपैयाँ पर्ने यो गाडीले नेपालमा राम्रो बजार लियो । ‘त्यतिबेला ४० वटा गाडी बेच्यौं, गाडीहरू परिष्कृत हुँदै आउन थाले । सुपरियर आयो, एट्टो- ३ गाडी परिष्कृत भई ३०० किलोवाटमा आयो, डल्फिन आयो’, उनले भनिन् ।
सन् २०२३-२४ कम्पनीका लागि सुवर्ण वर्ष भएको उनी बताउँछिन् । त्यो वर्ष बीवाईडीले नेपालमा २२०० गाडी बेच्न सफल भयो ।
कम्पनीले विद्युतीय गाडीलाई परिष्कृत गर्दै नयाँ उत्पादन गर्दै जाँदा सँगसँगै वितरक साइमेक्सले पनि प्रगति गर्दै गयो । नेपालमा ईभीको एडप्टेसनको दर ह्वात्तै बढ्यो । कार तथा जीप जस्ता प्यासेन्जर भेइकलमा १०० गाडी बिक्दा ७५ वटाभन्दा बढी ईभी नै हुन्छन् । यतिबेला साइमेक्स इन्क नै नेपालमा सबैभन्दा धेरै सवारी आयात गर्नेमा एक नम्बरमा छ । वास्तवमा नेपालमा ईभीको इकोसिस्टम बनाउन बीवाईडीको ठूलो योगदान छ ।
२०२४-२५ यता पेट्रोलियम वा ईभी सबै सवारीसाधन आयातको आधारमा साइमेक्सले पहिलो स्थान ओगटिरहेको छ । पछिल्लो वर्ष २०२५ मा करिब ३५ सय सवारी बिक्री गरेको यमुना बताउँछिन् । ‘नेपालको सडकमा छिट्टै नै बीवाईडीको सवारी संख्या १० हजार पुग्दैछ’, उनले भनिन् ।
अहिले साइमेक्सको व्यापार पनि उच्च छ । २०२४ मा करिब १६ अर्बको कारोबार गरेको साइमेक्सले २०२५ मा करिब ११ अर्बको कारोबार गर्न सफल भएको छ । साइमेक्सको यही बढ्दो बिजनेस र पहिलो नम्बरमा उक्लिएसँगै अरू बिजनेस घरानाले समेत पार्टनरसिप गर्न खोजेको उनी बताउँछिन् ।
कुनै समय साइमेक्स इन्कलाई होच्याएर आफ्नो बिजनेस बढाउन खोज्नेहरू समेत अहिले आफूलाई पार्टनर बनाउन खोजेको नौलो अनुभव पनि उनले गरिन् । जोखिमका कारण धमाधम बिजनेस पार्टनरले कम्पनी छोड्दा पनि जोखिम मोलेर सम्हालेकी यमुनाले अन्ततः ठूलो सफलता पाएकी छन् । यो सफलता आफ्नो प्रयासले मात्रै नभई बीवाईडी र ग्राहकको विश्वास रहेको उनी बताउँछिन् ।
अहिले विश्वमै विद्युतीय सवारी साधन अवलम्बन गर्ने मुलुकमा नेपाल दोस्रो स्थानमा पुगेको छ । यो ऐतिहासिक सफलतामा साइमेक्सको योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यही साइमेक्सलाई यो स्थानमा ल्याउन यमुनाले ठूलो जोखिम मोलेकी छिन् । नेपालका लागि विद्युतीय सवारी साधन नै उपयुक्त रहेको यमुना बताउँछिन् ।

‘ईभीका लागि चाहिने ऊर्जा हामीसँग पर्याप्त छ, अर्कोतर्फ पेट्रोल र डिजल आयातमा ठूलो रकम बाहिरिने गरेको छ, नेपालको आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो भएकाले नेपालको व्यापार घाटा उच्च छ’, उनले भनिन् । यदि नेपालकै ऊर्जा प्रयोग गरी विद्युतीय सवारीलाई बढाउन सकेमा समग्र अर्थतन्त्र उकासिन मद्दत पुग्ने उनी बताउँछिन् ।
हाल हरेक किसिमका ग्राहकको चाहनाबमोजिम बीवाईडीले गाडी उत्पादन गरिरहेको छ । सस्तादेखि महँगा र स्तरीय सवारी साधन निर्माताका रूपमा बीवाईडीले संसार हल्लाइरहेको छ । हाल महँगोमध्येको डेन्जा डी–९ गाडी बिक्रीमा आइरहेको छ । डेन्जा वर्गकै बी (बाओ)–८ अत्यधिक सुविधायुक्त गाडीको मूल्य ३ करोडमाथि छ । अहिले नेपाली बजारमा बीवाईडीको २८ लाखदेखि ३ करोडमाथिसम्म गाडी रहेको यमुना बताउँछिन् ।
हाइब्रिड एसयूभी बाओ–८ लाई चाँडै नै नेपालमा औपचारिक लञ्च गर्ने योजना रहेको यमुना बताउँछिन् । ‘एउटै ब्रान्डको सस्तोदेखि महँगोसम्मका गाडी एकै छानामुनि पाइँदा ग्राहकलाई सहजता भएको छ, यसले गर्दा अहिले सबैको रोजाइमा बीवाईडी परिरहेको छ’, उनले भनिन् ।
साइमेक्स मात्रै होइन, विद्युतीय सवारीलाई संसारभर प्रवर्धन गर्दै एउटा नयाँ युग थाल्न बीवाईडीकै यात्रा कम चुनौतीपूर्ण रहेन । सन् १९९५ मा २० जनाबाट स्थापना भएको बीवाईडी आज विश्वकै सबैभन्दा ठूलो सवारी साधन निर्माता कम्पनी बन्न सफल भएको छ ।
आज प्रसिद्ध भएका ठूला कम्पनी धेरैको सुरुआती संघर्षपूर्ण नै छ । ‘कताकता बीवाईडी कम्पनीको सफलता र नेपालमा हामीले हासिल गरेका उपलब्धिको गोरेटो उस्तैउस्तै हुन् कि जस्तो लाग्छ’, यमुना भन्छिन् । सफलताका लागि लगन, मिहिनेत, इच्छाशक्ति र इमानदारी सधैं जरुरत रहने यमुना बताउँछिन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी